अधिकार खोस्ने षड्यन्त्र भइरहेको छ, सबै दल एकजुट होऔँ : प्रधानमन्त्री दाहाल

दमौली(तनहुँ) । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले जनप्रतिनिधिमा आएको अधिकार खोस्ने षड्यन्त्र भइरहेको बताएका छन् ।
नेकपा (माओवादी) केन्द्र तनहुँले आज आँबुखैरेनीमा आयोजना गरेको भेटघाट कार्यक्रममा उनले विभिन्नरूपमा हुने षड्यन्त्रविरुद्ध सबै दल एकजुट हुनुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री दाहालले भने, ‘संविधानविरुद्ध षड्यन्त्र भइरहेको छ । एकथरी तत्व कुनै न कुनैरूपले देशमा अराजकता सिर्जना गर्ने अभियानमा लागिरहेका छन् । प्रतिगमनका निम्ति मलजल गरिरहेका छन् ।’
परिवर्तनको रक्षाका निम्ति र देशको सुरक्षाका निम्ति सरकार दृढ रहेको बताउँदै प्रधानमन्त्री दाहालले गठबन्धनमाथि खतरा नरहेको दाबी गरे । सामन्तको हातमा सत्ता लैजाने दुस्साहस गरिएको उनको भनाइ थियो ।
पार्टीले जनताका घरघरमा पुग्ने कार्यक्रमसहित रुपान्तरण अभियान अगाडि बढाएको भन्दै प्रधानमन्त्री दाहालले भने, ‘गण्डकी प्रदेशमा यो अभियान ठिक ढङ्गले अगाडि बढेको छ । अभियानलाई एक महिना विस्तार गरिएको छ ।’
प्रधानमन्त्री दाहालले पार्टी पुनःनिर्माणको विशेष अभियानमा रहेको बताउँदै देशैभरि जनतासँग माओवादी अभियानले जनतामाझ माओवादी र देशका लागि औपचारिक अभियानमात्र नरहेको र रणनीतिक अभियानको हिस्सा रहेको बताए ।
प्रतिक्रिया