नौ दिनदेखि फसेका ४१ पुरुषका लागि भारतीय उद्धारकर्मीले नयाँ सुरुङ खन्ने

देहरादुन । भारतीय उद्धारकर्मीहरूले नौ दिनदेखि सुरुङमा फसेका ४१ मानिसलाई निकाल्नका लागि सङ्घर्ष गरिरहेका छन् । पछिल्लो प्रयास असफल भएपछि उनीहरूले नयाँ सुरुङ खन्ने प्रयास गरिरहेका छन् ।
सुरुङको एक भाग भत्किएपछि एक्सक्याभेटरहरूले गत कात्तिक २६ गतेदेखि उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरुङबाट माटो, कङ्क्रिट र भग्नावेशष निकालिरहेका छन् ।
निरन्तर खसेको भग्नावशेषका साथै महत्त्वपूर्ण भारी ड्रिलिङ मेसिन बारम्बार बिग्रँदा वायुसेनाले नयाँ उपकरणमा दुई पटक एयरलिफ्ट गर्नुपर्दा उद्धार प्रयास सुस्त भएको छ ।
इन्जिनियहरूले भग्नावशेषबाट करिब ९० सेन्टिमिटर (करिब तीन फिट) चौडाइ भएको स्टिलको पाइप तेर्सोरूपमा लैजाने प्रयास गरिरहेका छन् । उक्त चौडाइको पाइपबाट फसेका कामदारलाई बाहिर निकाल्न सहज हुनेछ तर अधिकारीहरूका अनुसार भग्नावशेषका बीच कर्कश आवाजले ‘आतङ्कको स्थिति’ उत्पन्न भएपछि शुक्रबार राति ड्रिलिङ बन्द गरिएको थियो । उद्धारकर्मीको टोलीले अहिले माथिबाट समेत पूरै नयाँ सुरुङ खन्ने विचार गरिरहेको छ ।
उत्तराखण्डको ठूलो भाग पहिरोको जोखिममा रहेको भन्दै विज्ञहरूले उक्त राज्यमा व्यापक निर्माणको असरका बारेमा चेतावनी दिएका छन् ।
प्रतिक्रिया