मंगलबार, फागुन १५, २०८०

आत्महत्यामा पुरुष बढी किन मर्छन् ?

हेलेन सुमाकर २०८० मंसिर १४ गते ११:४५

६ वर्षअघि मेरो भाइले आत्महत्या ग-यो। त्यो बेला उसको उमेर २८ वर्षको मात्र थियो।

धेरैले आत्महत्या भन्नेबित्तिकै विरलै घट्ने घटना भन्ने सोच्छन् तर त्यस्तो बिल्कुलै होइन। विश्व स्वास्थ्य संगठनको अनुमान अनुसार २०१६ मा आत्महत्याबाट मर्नेहरुको संख्या ७ लाख ९३ हजार थियो र यसमा अधिकांश पुरुष थिए। बेलायतमा सोही वर्ष पुरुष आत्महत्या दर १९८१ देखि यता सबैभन्दा कम रह्यो। प्रति एक लाख जनसंख्यामा १५.५ मृत्यु। यसका बाबजुद पनि ४५ वर्षभन्दा पहिले नै मृत्यु हुने सबैभन्दा ठूलो कारण आत्महत्या बनिरहेको पाइएको थियो।

बेलायती महिलामा आत्महत्याबाट हुने मृत्युको दर पुरुषभन्दा एक तिहाईले कम छ । प्रति लाख जनसंख्यामा ४.९ मृत्यु।

अस्ट्रेलियामा महिलाहरुको तुलनामा पुरुषको आत्महत्याबाट मृत्यु हुनेको संख्या तीन गुणा बढी छ। अमेरिकामा ३.५ गुणा बढी अनि रुस र अर्जेनिटनामा ४ गुणा बढी।

विश्व स्वास्थ्य संगठनको आँकडाअनुसार करिब ४० प्रतिशत देशमा पुरुषहरुको आत्महत्या गर्ने दर प्रति एक लाख जनसंख्यामा १५ भन्दा बढी छ। १.५ प्रतिशत देशमा मात्र महिलाको आत्महत्या गर्ने दर पुरुषभन्दा बढी छ।

यस्तो असमानता किन?
अमेरिकन फाउन्डेसन फर सुसाइड प्रिभेन्सनमा शोध उपाध्यक्ष तथा मनोवैज्ञानिक जिल हार्केवी–फ्राइडम्यान भन्छिन्, ‘हामीले शोध गर्दै जाँदा महिलाको तुलनामा पुरुषको आत्महत्या दर बढी पाउन थालेपछि यो असमानताबारे प्रस्ट हुन थाल्यौँ।’

जिलको यो संस्थाले आत्महत्याबाट प्रभावित हुने मानिसहरुलाई सहयोग गरिरहेको छ। आत्महत्या एउटा संवेदनशील र जटिल मुद्दा बन्न थालेको छ। यसका कयौँ कारण हुनसक्छन्। मृत्युपछि भने आत्महत्याको वास्तविक कारण केहो भन्नेबारे पत्ता लगाउन लगभग असम्भव नै हुने गरेको छ।

अवसाद बढी, आत्महत्या कम
जति बढी मानसिक स्वास्थ्यका बारेमा जागरुकता बढिरहेको छ, यसबाट सम्भावित कारणहरुका बारेमा मानिसको बुझाइ पनि बढ्न थालेको छ। तर लैंगिक विभेद अझै पनि कायम नै छ। भन्नुको अर्थ, स्त्री या पुरुषमध्ये महिलामा अवसादको दर पुरुषभन्दा बढी नै देखिन्छ। बढी अवसाद महिलालाई भए पनि आत्महत्या दर पुरुषको बढी किन छ त? उदाहरणका लागि, अमेरिकामा वयस्क महिलाले पुरुषभन्दा १.२ गुणा बढी पटक आत्महत्याको प्रयास गर्ने गरेका छन्।
आत्महत्या गर्ने पुरुषहरुको तरिका बढी उग्र हुन्छ। उनीहरुलाई कसैले बचाउने प्रयास गर्नुअघि नै उनीहरुको ज्यान जाने खतरा बढी हुन्छ।

आत्महत्याका साधनहरुसम्मको पहुँच पनि एउटा ठूलो कारण हो। उदाहरणका लागि, अमेरिकामा हरेक १०मध्ये ६ बन्दुकका मालिक पुरुष नै हुन्छन्। आधाभन्दा बढी आत्महत्या तिनै बन्दुकको प्रयोगले हुने गरेको छ।

पुरुषले यस्ता तरिकाहरु चयन गर्छन् ताकि उनीहरुले आफ्नो काम पूरा गर्न सकून्। उनीहरु बढी पक्का इरादाले यस्तो काम गर्ने गरेको देखिन्छ।

आफैँलाई नोक्सान पु-याउने अभिप्रायले घाइते भएर अस्पताल पुगेका चार हजारभन्दा बढीमाथि गरिएको अध्ययनले के पत्ता लागेको छ भने पुरुषहरुमा महिलामा भन्दा बढी आत्महत्याको इच्छा प्रवल थियो।

यस्तोमा प्रश्न के उठ्छ भने पुरुष जाति आत्महत्या किन गरिरहेका छन् र यसलाई रोक्न के गर्न सकिन्छ?

कारण के हुन सक्छ ?
भन्नलाई त सजिलो छ, महिलाहरु आफ्ना कुरा पतरपतर गरिरहन्छन् अनि पुरुषहरु आफूमा भएको पीडा लुकाउँछन्।
संसारका अधिकांश समुदायमा पुरुषहरुलाई तिमी बलियो छौ, आफूलाई कहिल्यै समस्यामा परेको नसम्झनू भन्दै पढाइन्छ/सिकाइन्छ।

अस्ट्रेलियामा २४ सै घण्टा आत्महत्या रोक्ने च्यारिटी ‘लाइफलाइन’ चल्छ। यसका पूर्व कार्यकारी निर्देशक कोलमेन ओ’ड्रिसोल भन्छन्, ‘हामी केटा मान्छेलाई बच्चैमा रुनु हुँदैन भनेर सिकाउँछौँ। केटा मान्छे भएर आफ्ना भावना र रुञ्चे कुरा अरुलाई सुनाउनु हुँदैन। यसले मानिसलाई कमजोर बनाउँछ भनी सिकाउँछौँ।’

क्यानडास्थित सेन्टर फर सुसाइड प्रिभेन्सनकी कार्यकारी निर्देशक मारा गु्रनो भन्छिन्, ‘आमा र छोराभन्दा आमा–छोरीको कुरा बढीजसो मिल्छ। उनीहरु एकअर्कालाई आफ्ना कुरा सेयर गर्छन्। यसरी आफ्ना भावना एकअर्कालाई सुनाउँदा एकअर्कालाई बढी चिनेको अनुभूत गर्छन्।’

यस्तो कुरा छोरा मान्छेमा कमै हुन्छ। यस्तो अवस्थामा छोराहरुले असुरक्षित महसुस गर्छन्। चिकित्सकहरुसँग पनि उनीहरु स्त्रीको तुलनामा कम नै भावना अभिव्यक्त गर्ने गर्छन्। खुलस्त कुरा नबताउने समस्या प्रायः केटाहरुकै हुन्छ।

बेलायतको एउटा मेडिकल जर्नलले गरेको अध्ययनले के देखाएको छ भने सामान्य प्राथमिक चिकित्सा परामर्श लिन महिलाभन्दा पुरुष ३२ प्रतिशतले पछि पर्ने गर्छन्। भनाइको अर्थ उनीहरु आफूलाई समस्या प-यो भने के गर्ने, कहाँ जाने, कसरी सहयोग लिने भन्ने कुरामा उनीहरु असफल हुने गरेका छन्।

यस्तो अवस्थामा अवसादको समस्या लिएर चिकित्सककहाँ जाँदा पनि पुरुषहरु महिलाभन्दा आठ प्रतिशतले पछि पर्ने गरेका छन्।

सहयोग माग्नुस्
फ्राइडम्यान भन्छिन्, ‘मानसिक स्वास्थ्यका लागि पुरुषहरुले निकै कम सहयोग माग्ने गरेका छन्। यसको अर्थ उनीहरुमा समस्या नै हुँदैनन् भन्ने होइन तर उनीहरुको तनावले नै आत्महत्या गर्न बाध्य पारिरहेको बुझिरहेका छैनन्।’

कसैले आफ्नो मानसिक स्थितिका कारण आफैँलाई संकटमा पारिरहेको बुझ्न सक्तैनन् भने कहाँबाट कसरी सहयोग लिने भन्ने पनि थाहा पाउन सक्तैनन्। त्यसैले पनि आत्महत्या गर्ने मध्येमा कमैले र खासगरी एक तिहाई मात्रले समयमै मनोचिकित्सा पाइरहेका हुन्छन्।

कतिपय पुरुषले भने चिकित्सकीय सहयोग लिनुको साटो आफैँ जान्ने भएर उपचार गर्न थाल्छन्।

फ्राइडम्यान भन्छिन्, ‘पुरुषमा मादक पदार्थ र रक्सी सेवन गर्ने प्रवृत्ति बढी हुन्छ। यसले उनीहरुको संकटलाई अझ बढाउँछ। यसले उनीहरुमा आत्महत्याको सम्भावना अझै बढाउँछ।’

महिलाको तुलनामा पुरुषहरुको रक्सी निर्भरता दुई गुणा हुन्छ। रक्सी सेवनले अवसाद र आवेगको व्यवहार बढाउँछ र यिनले उनीहरुमा आत्महत्याको जोखिम अझ बढाउँछ।

आर्थिक समस्या र जागिर
आत्महत्याको जोखिमको कारक परिवार वा कामकाज पनि जोडिएको हुनसक्ने अध्ययनले देखाएको छ। उदाहरणका लागि, आर्थिक मन्दीमा बेरोजगारी बढ्छ र बेरोजगारी लम्बिँदा आत्महत्याको दर बढ्ने खतरा रहन्छ। प्रायः मन्दीपछिको डेढ–दुई वर्षपछि आत्महत्याको प्रतिशत बढ्ने गरेको अध्ययनले देखाएको छ।

सन् २०१५ मा भएको एउटा अध्ययनले बेरोजगारी दर एक प्रतिशतले बढ्दा ०.७९ प्रतिशतले आत्महत्या बढेको थियो।
पैसाको तनाव वा जागिर खोज्ने संकटका कारण मानिसको मानसिक स्वास्थ्य बिग्रन पुग्छ। यसका साथै सामाजिक दबाब र पहिचानको संकट पनि आत्महत्या बढाउने तत्त्वका रुपमा रहेको अध्ययनले देखाएको छ।

पुरुष आत्महत्या रोक्न समर्पित बेलायती च्यारिटी संस्था ‘क्याम्पेन अगेन्स्ट लिभिङ मिजरेब्ली’ (काम)की प्रमुख कार्यकारी सिमोन गनिङ भन्छिन्, ‘हामी साथीसंगी वा आफन्तको तुलनामा आफूलाई आर्थिक रुपमा सफल हुनका लागि पूरा जीवन संघर्ष गर्छौं। आर्थिक मन्दीजस्तो आफ्नो नियन्त्रणमा नहुने आकस्मिक कारणहरुले जीवन तहसनहस बनाइदिन्छ।’

अमेरिकामा स्वास्थ्य बिमा रोजगारीसँग जोडिएको हुन्छ। यदि कोही अवसाद या मादक पदार्थ सेवनबाट छुटकारा चाहन्छ र यसको उपचार चलिरहेको छ भने यस्तो अवस्थामा उसको जागिर चट् भयो भने उपचारबाट वञ्चित हुन जान्छ। किनभने जागिर र उपचार एकअर्कामा निर्भर हुन्छन्।

एक्लोपनको पनि जोखिम हुन्छ। यो जीवनको हरेक क्षेत्रमा प्रकट हुनसक्छ।

ग्रुनो भन्छिन्, ‘अत्यन्त सफल मानिसले जब करियरलाई अन्य कुराभन्दा बढी नै महत्त्व दिन्छन्, उनीहरुले पिरामिडको शीर्ष स्थानमा एक्लो महसुस गर्न थाल्छन्।’

त्यसो त आत्महत्याको कारणमा एक्लोपन मात्रै कारक नहुने कतिपय शोधले देखाएको छ।

फ्राइडम्यान भन्छिन्, ‘देश आर्थिक संकट रहेका बेला लाखौँ मानिसको जागिर जान्छ। यस्तोमा कसैले न कसैले सम्बन्ध बिगार्छन् पनि तर यस्तोमा आत्महत्या गर्ने निकै कम हुन्छन्।’

सम्भावित समाधान
आत्महत्या जस्तो जटिल समस्याको कुनै सिधा समाधान भने छैन। यसका लागि कतिपय गैरनाफामूलक संस्थाले कयौँ कार्यक्रम र नीतिहरु बनाइरहेका छन्। उदाहरणका लागि, अस्ट्रेलियामा मानसिक स्वास्थ्य र आत्महत्या रोकथाम समूहले सांस्कृतिक प्रतिमान बदल्ने प्रयास गरिरहेका छन्।

यसको सुरुवात स्वरुप उनीहरुले हरेक वर्ष ‘आर यु ओके दिवस’ मनाइरहेका छन्। यस दिवसमा सर्वसाधारणलाई आफ्नो जीवनको सबैभन्दा कठिन अवस्थाका बारेमा एकअर्कासँग समस्याका बारेमा कुराकानी गर्न प्रेरित गरिरहेका छन्।

फुटबल खेल हेरिरहेका बेला या बाइकमा चढिरहेका बेला चुपचाप र धुम्म परेर बस्नेहरुलाई बोल्नका लागि प्रेरित गर्नका लागि ‘सोल्जर टु सोल्जर प्रिन्सिपल’ (काँधमा काँध सिद्धान्त) सुरु गरिएको छ।

यस्तै ‘मेट्स इन कन्स्ट्रक्सन’ नाममा निर्माण व्यवसायका मजदुरहरुबीच जागरुकता बढाउन कार्यक्रम सञ्चालन गरिरहेको छ। यस्ता कार्यक्रमले समस्या समाधान गर्न भूमिका खेल्न सक्छ।

ओड्रिसोल भन्छन्, ‘प्रायः धुम्म परेर बस्ने पुरुषहरुलाई आफूलाई पीडा दिइरहेको भावना अभिव्यक्त गर्नका लागि तयार गर्नुपर्छ। आफ्ना दुःख र पीडा अभिव्यक्त गर्नु कुनै कमजोरी नभई त्यो शक्ति हो भन्ने पनि बुझाउन आवश्यक छ।’

यसका लागि प्रविधिले पनि नयाँ विकल्प दिइरहेको छ। हरेक व्यक्तिले आफ्ना सारा बोझ अरुलाई दिन चाहँदैन । हेल्पलाइनमा पनि ती बोझ खन्याउन चाहँदैन।

यस्तोमा च्याटबोट्स जस्तो आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम मेधा) ले असुरक्षित व्यक्तिलाई सम्वाद गर्न र सहयोग लिन प्रेरित गर्न सक्छ।

सहयोगका हात
अर्को एउटा रणनीति के पनि छ भने, आत्महत्या गर्ने मानिसहरुका आत्मीयजनमा पर्ने प्रभावमा ध्यान केन्द्रित गर्ने।

‘क्याम्पेन अगेन्स्ट लिभिङ मिजरेब्ली’ (काम)को ‘अभियान प्रोजेक्ट ८४’ मा आत्महत्याबाट उत्पन्न हुने बर्बादीमा जोड दिइन्छ। यो अभियानको नाम नै ८४ किन राखियो भने बेलायतमा प्रायः हरेक साता ८४ जनाले आत्महत्या गर्छन्।
कामका प्रमुख कार्यकारी गनिङ भन्छन्, ‘यसले केही मानिसलाई रोक्न भूमिका खेल्छ । बाँच्नुले सधैँ एउटा विकल्प दिने गर्छ।’ अन्य समाधानहरुमा आत्महत्यालाई बढीभन्दा बढी गाह्रो बनाउनु पनि हो।

बेलायतको ब्रिस्टल नदीमा क्लिफ्टन सस्पेन्सन पुलमा ठूलो पर्खाल लगाइदिएपछि यहाँबाट नदीमा हाम्फालेर मर्नेहरुको संख्या आधाले घटेको छ।

ओ’ड्रिसोलको भनाइमा सडक दुर्घटना रोक्नका लागि जति उपाय लगाइन्छ, त्यति उपाय आत्महत्या रोक्नका लागि गरिँदैन, जबकि सडक दुर्घटनाभन्दा आत्महत्याका कारण मानिसको बढी ज्यान गइरहेको छ।

सरकारको ध्यान कहाँ छ?
अस्ट्रेलियामा २०१५ मा प्रतिलाख जनसंख्यामा १२.६ मानिसले आत्महत्यामा ज्यान गुमाएका थिए जबकि एक दशकमा सडक दुर्घटनामा मर्नेको सबैभन्दा बढी दर प्रति लाख जनसंख्यामा ४.७ प्रतिशत थियो। हुन त यसमा अझै बढी शोध आवश्यक छ तर पनि दुर्घटनाभन्दा आत्महत्या हिजोआज विकराल हुँदै गइरहेको सत्य हो।

फ्राइडम्यान भन्छिन्, ‘पुरुष र महिलाहरुको जैवीय संरचना, हार्मोन र दिमागको काम गर्ने तरिका फरक छ तर अध्ययन गर्दा भने तिनीहरुको अध्ययन एक साथ गरिन्छ।’

उनलाई लाग्छ– पुरुष र महिलाको अध्ययन बेग्लाबेग्लै गरिनुपर्छ। यसो गर्दा आत्महत्या दर कम हुनसक्छ।

त्यसो त परिवर्तन पनि केही भइरहेको छ। पहिला आत्महत्या रोक्न सकिँदैन भनेर बहस गरिन्थ्यो। हिजोआज आत्महत्या रोक्नका लागि सरकारी तवरमा नै विभिन्न कार्यक्रमको आवश्यकता महसुस गर्न थालिएको छ।

गएको वर्ष बेलायतमा मानसिक स्वास्थ्य दिवसको अवसर पारेर बेलायती सरकारले आत्महत्या रोकथामका लागि एउटा बेग्लै मन्त्रालय बनाउने घोषणा गरेको थियो।

सही तरिकाले कार्यक्रम अघि बढे बेलायतमा आत्महत्याका बारेमा राष्ट्रिय रणनीति लागू हुनेछ र यसले आत्महत्या दर घट्नेछ। गु्रनोको धारणामा पनि अवस्था पहिलेभन्दा सुध्रिएको छ, ‘हिजोआज हामी कम्तीमा आत्महत्याका बारेमा खुलेर बहस गर्न थालेका छौँ। मानिसहरु अझै पनि आत्महत्याको कुरा गर्नेबित्तिकै बिच्किन्छन् तर कम्तीमा कुराकानी गर्न तयार हुन थालेका छन्।’

यस किसिमको सकारात्मक प्रभावका कारण नै बेलायतमा आत्महत्याको दर घट्न थालेको केहीको भनाइ छ। त्यसो त यसलाई पनि पर्याप्त ठानिएको छैन। आत्महत्या चाहे पुरुषले गरोस् या महिलाले उनीहरुको अनमोल जीवन त खेर जान्छ नै। त्यसैले पुरुषको आत्महत्यामाथि मात्र चर्चा गर्नु अलि अन्याय हुन जान्छ कि!

बिबिसी फ्युचर

प्रतिक्रिया