सोमबार, फागुन २१, २०८०

रिक्सा चालकको दुख : न स्वास्थ्यले साथ दियो न त आम्दानीले

नेपालखोज २०८० मंसिर १४ गते १५:१८

मानिसका सङ्घर्ष गर्ने तरिकाहरू अनेक हुन्छन् । सफल भए सफलताको कथा नभए असफलताको दुखेसो । जो कोही पनि यसका भागिदार हुन्छन् नै । कुनै काम विशेषले होस् या मनोरञ्जनका लागि एक स्थानबाट अर्को स्थानसम्म पुग्न अहिले कुनै न कुनै साधनको आवश्यकता अपरिहार्य नै बनेको छ ।

छोटो दुरीको यात्राका लागि अहिले किसिम किसिमका सवारी साधनहरू पाइन्छ । काठमाडौँका पुराना पुस्ताका मानिसहरूका लागि अहिलेका नयाँ साधनहरू भने अनौठो नै बनेको छ । केही वर्ष पहिला पर्यटक तथा स्थानीय ओसारपसारको मुख्य साधन भनेको रिक्सा नै हुने गर्दथ्यो । काठमाडौँ उपत्यकामा मुख्य सावरीको रूपमा चल्ने परम्परागत रिक्सा अहिले पातलिँदै गएको छ ।

केही स्वदेशी तथा विदेशीहरू नेपालका विभिन्न मठमन्दिरको दर्शन वा अवलोकनका क्रममा सवारीसाधन भन्दा रिक्सामा घुम्न रुचाउँछन् । तर दिनको चर्को घाम होस, वर्षायामको झरी यात्रुहरूको गन्तव्य सम्म पुराउनका लागि हर बखत तयार रहने रिक्सा चालकको जीवन भने त्यति सहज ढङ्गले नचलेको उनीहरूकै गुनासोबाट प्रस्ट हुन्छ । उनीहरूको आ–आफ्नै कथा र व्यथा हुने गर्दछन् ।

केही वर्ष पहिले रिक्सा चढ्नेहरू प्रशस्त हुन्थे । त्यो समयमा रिक्सा चलाउनेहरूले राम्रै आम्दानी गरेका थिए । पछिल्लो समय सवारीसाधनहरूको सङ्ख्या बढ्दै गएपछि रिक्साको कमाइ लगभग शून्य जस्तै भएको रिक्सा चालकहरूको गुनासो छ ।

वसन्तपुरमा सधैँ मानिसहरूको चहलपहल र भीड हुन्छ । त्यसमाथि त्यहाँ आउने साना गाडी र मोटरसाइकलको चापले रिक्सा गुड्ने ठाउँ नै हुँदैन । अझ ट्राफिक प्रहरीको अत्याचार सहनै नसक्ने रिक्सा चालकले दुखेसो पोख्ने गरेका छन् ।

लामो समय देखि उपत्यकामा रिक्सा चलाउँदै आउनुभएका स्याङ्जाका पीताम्बर यादव भन्नुहुन्छ– ‘ट्राफिकहरूले त रिक्सा चलाउनै दिँदैनन्, हेप्ने, अभद्र व्यवहार गर्ने यस्ता दुख हैरानी त दिनहुँ भोग्नु परेको छ । मुख्य सडकमा निस्क्यौँ भने त पेसिन्जरहरु नै ओरालिदिन्छन् ।’ ट्राफिकको व्यवहारले गर्दा पनि रिक्सा चलाउन कठिन बन्दै गएको चालकहरूको गुनासो छ ।

काभ्रे जिल्लामा जन्मेर जीवनको ऊर्जाशील समय उपत्यकामा रिक्सा चलाएरै बिताउनुभएको मङ्गल तामाङ हुनुहुन्छ । उमेरले उहाँ ७१ वर्षको भएँ । वसन्तपुर क्षेत्रमा रिक्सा चलाउँदै आएको ५३ वर्ष भयो । पारिवारिक स्थिति कमजोर भएका कारण बुवा आमाले शिक्षामा लगानी गर्न सक्नु भएन । सोही कारण आफूले गाउँ छोड्नु परेको तामाङले सुनाउनुभयो ।

तामाङले आफ्नो विगत सम्झँदै भन्नुभयो – ‘हाम्रो परिवारमा त खान पनि पुग्दैन थियो । बा आमाले पढाउन सक्ने सम्भावना पनि थिएन । आफूले केही गर्न सकिएला कि भनेर १८ वर्षको उमेरमा काठमाडौँ आएर कामको खोजी गर्दा रिक्सा चलाउने पेसा नै उत्तम लाग्यो । दुख सुख रिक्सा चलाएर यात्रुलाई गन्तव्यसम्म पुराउने काम गर्ने निर्णय लिए ।

सुरुसुरुमा यो पेसा गर्न अप्ठ्यारो लाग्यो । कसैले देख्छ कि, केही भन्छ की भन्ने लाग्थ्यो । अप्ठ्यारो र लाज मान्नु भनेको भोको पर्नु हो भन्ने बुझेपछि निरन्तर काममा लागेको मङ्गलले बताउनुभयो । सुरु सुरुमा तामाङलाई बाटोको समस्याले केही समय पिरोल्यो । समय बित्दै जाँदा उनको दैनिकीमा सुधार आएको अनुभव तामाङसँग छ ।

बाटोको समस्या केही हदसम्म समाधान भए पनि भाषाको समस्याले सताउन थाल्यो । विदेशलाई नेपाली भाषा बोल्न आउँदैन आफू अङ्ग्रेजी पिटिक्कै बोल्न जान्दिन । भाषाको समस्याको कारण आएका ग्राहकहरू पनि अरूले नै खोसिदिन्थे । नपढ्दा पनि घाटा हुने रहेछ भन्ने अनुभूति बल्ल थाहा भएको तामाङ बताउनुहुन्छ ।

जति नै समस्या भए पनि उहाँले हार भने मान्नुभएन । बिस्तारै अरूले बोलेको सुनेर र फाट्टफुट्ट रिक्सा चढेका विदेशीसँग कुराकारी गर्दा गर्दै साधारण बोल्न सक्ने भएको उहाँले मङ्गलले सुनाउनुभयो । त्यसपछि उहाँको आयआर्जनमा सुधार आयो ।

एक जना नेपाली बोक्दा १० देखि २० रुपैयाँ कमाई हुन्थ्यो । विदेशी बोक्दा भने खुसी भएर ५० रुपैयाँ दिन्थे । काम गर्न त सुरुवाती समयमा नै सजिलो अहिले भने त्यति काम पनि पाइँदैन । मुहारमा अँध्यारो पार्दै तामाङले दुख बिसाउनुभयो । गरिबलाई दैवले पनि ठग्दो रहेछ, तामाङ भन्नुहुन्छ । जन्म जातै मेरो दाहिने खुट्टा सानो थियो । त्यही भएर हिँड्न पनि कठिन हुन्छ ।  सायद धेरै धुवाँ धुलोमा बसेर पनि होला अहिले शरीर दुख्ने, टाउको दुख्ने बढी हुन थालेको छ ।

रिक्सा चलाएरै परिवारको जिम्मेवारी पुरा गर्नुभएका तामाङलाई आफ्नो छोरीको भविष्यको भने ठुलो चिन्ता छ । छोरीलाई राम्रो विद्यालय त पढाउन सकिएन तर सकभर बाँच्ने आधारसम्म बनाउन सकेको छु’ यति भन्दै मङ्गलले आँसु खसाले । छोरीको भविष्यको चिन्ताले मलाई छटपटी हुन्छ । देशमा केही गरौँ भन्दा रोजगारीको अभाव छ । विदेश पठाउन रिक्सा चलाएको पैसाले पुग्दैन । दैनिकी पाँच सय देखि एक हजारसम्म कमाइ गर्न सकिने मङ्गल बताउनुहुन्छ । अझै पनि शरीरले धान्न सके पाँच वर्ष यहीँ पेसामा बिताउने उहाँको अठोट छ ।

त्यस्तै अर्का रिक्सा चालक हुनुहुन्छ रामेछापका शरणबहादुर थापामगर । ५६ वर्षीय थापामगर विगत ३९ वर्ष देखि रिक्सा चलाउने पेसामा आबद्ध हुनुहुन्छ । १७ वर्षको उमेर देखि वसन्तपुर क्षेत्रमा सो पेसामा लागेका थापामगर भन्नुहुन्छ ‘ यो रिक्सा भाडाको हो नि, १५० रुपैयाँ दैनिक रिक्सा साहुलाई बुझाउनु पर्छ । कमाइ होस् या नहोस् ।’

दैनिक रूपमा करिब एक हजार कमाई हुन्छ । सधैँ उत्तिकै कमाई भने हुँदैन  । महँगीले पिरोल्ने उहाँको भनाइ छ ।

दुई छोरा र दुई छोरीलाई यही रिक्सा चलाएरै पढाउन सफल भएको छु । थापामगरले रिक्सा चलाउने क्रममा नै प्यारालाइसिस रोगको सिकार भएको बताउनुभयो । रिक्सा चलाउँदै थिएँ । एक्कासि मुटु चसक्क भयो अलिक समयपछि त हातखुट्टा नै चल्न छोडेर जमिनमा बजारिन पुगेछु । धन्न चिने जानेका आफन्तले अस्पताल समयमै पुराइदिए र यत्तिको भए । लामो श्वास फेर्दै मगरले विगत सुनाउनुभयो ।

प्यारालाइसिसले चार वर्षसम्म हातखुट्टा चलेन । सो समय निकै पीडा भयो । जीवन त्यागेको भए सजिलो हुन्थ्यो । आफ्ना शरीरको अङ्गहरू अरूले चलाइदिने, खुवाइदिने, दिशा पीसाब छोरा छोरीले गराउनु पर्दा निकै कष्ट हुने रहेछ ।’

औषधीको सहायताले कम भएपछि हिँड्न डुल्न सक्ने भएपछि शरणबहादुर पुनः रिक्सा चलाउन थाल्नु भएछ । ग्राहक लिएर जाँदै गर्दा मगर पुनः दोस्रो पटक प्यारालाइसिसको सिकार बन्नुभयो । शरीरको दाहीने भाग हलचल गर्न नसकिने अवस्थामा पुगेर पूर्ण जमिनमा पछारिएपछि बेहोस भएछु । होसमा आउँदा अस्पतालको बेडमा रहेछु । मगरले दुखेसो पोख्नुभयो ।

दुई पटक प्यारालाइसिसका सिकार हुनुभएका थापामगरलाई पुनः रिक्सा चलाउन आउनुभएको भन्दै प्रश्न गरेपछि मगरले मलिन हुँदै भन्नुभयो – ‘आफूले गर्न सकुन्जेल मात्रै सबै आफ्ना हुने रहेछन् । पापी पेट पाल्न पर्‍यो काम गर्नै पर्‍यो । यी सबै त्यसैको लागि गर्दैछु ।

बिरामी भएको शरीर बोकेर यात्रुलाई गन्तव्यसम्म पुराउने काम भने थापामगरका लागि त्यति सजिलो भने छैन । पूर्ण सोही रोगले नसताउला भने भन्न सकिन्न । मगरलाई सो कुराको डर पनि छ । हात मुख जोड्नका लागि दुख गरिरहेका शरणबहादुर भन्नुहुन्छ– ‘नेपाली पुराना साधनहरूबाट विदेशीहरूलाई मोहित बनाएर कमाई गर्न सके राम्रो आम्दानी हुन्छ । सरकारले यस्ता पुराना सामाग्रीहरूको संरक्षण र प्रवर्द्धन गर्न सके केही हदसम्म रोजगारी सिर्जना हुन्थ्यो भने कतिपयले आफ्नो जीवन गुजारा गर्न सक्ने थिए ।  –INS

प्रतिक्रिया