शनिबार, वैशाख २२, २०८१

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

नेपालखोज २०८० मंसिर १७ गते ११:००

काठमाडौं । बाराको जितपुरसिमरा उपमहानगरपालिका–९ छातापिपरा चोकमा वीरगंजबाट जितपुरतर्फ जाँदै गरेको ना.७ ख ८२४१ नम्बरको टिपरले ना.३२ प २७८१ नम्बरको मोटरसाइकललाई दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक विश्रामपुर गाउँपालिका–५ बस्ने २७ वर्षीय श्रीराम प्रसाद गुप्ताको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको परवानीपुरस्थित एलएस न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–४ सानो महुबारीमा लु.१ क १७१८ नम्बरको सिद्दार्थ प्रतिभा ईङलिस हाई स्कुल सूर्यपुराको बस र लु.३७ प ८४८२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक सोही नगरपालिका सानो महुबारी बस्ने २३ वर्षीय ईसाद महमद र मोटरसाइकलमा सवार १७ वर्षीया रूबिना खातुनको घटनास्थलमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार १ जनाको उपचारको लागि मेडिकल कलेज भैरहवा पठाइएको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी रूपन्देहीको रोहिणी गाउँपालिका–४ छिपागढस्थित सडकमा भैरहवाबाट परासीतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–००१ ख २०३७ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूषको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

काभ्रेको धुलिखेल नगरपालिका–११ पात्लेखेतस्थित सडकमा भकुन्डेबेशीबाट काठमाडौंतर्फ जाँदै गरेको प्र १–०१–००१ च ८५९२ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५० वर्षीय यमुना प्रसाद धितालको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गोरखाको सहिदलखन गाउँपालिका–३ सिलिङस्थित सडकमा सिलिङबाट मझुवादेउरालीतर्फ जाँदै गरेको ध.१ त १२५ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार गण्डकी गाउँपालिका–३ बस्ने २९ वर्षीय पदम बहादुर थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सप्तरीको सुरूङगा नगरपालिका–४ कदमाह चोकमा म.प्र.–०१–००१ ख ०३६७ नम्बरको ट्रकले अनटेष्ट लेखिएको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका–५ कुशाह बस्ने ३० वर्षीय मो.हारुनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया