आइतबार, जेठ ६, २०८१

कथा त्रिभुवन विश्वविद्यालयको

सुनिल उलक २०८० पुष ३ गते ११:३८

त्रिभुवन विश्वविद्यालयको ४९औ दीक्षान्त समारोह भव्यताका साथ सम्पन्न भएको छ । दशरथ रङ्गशालामा भएको यस कार्यक्रममा राष्ट्रपति र प्रधानमन्त्रीको आगमनले काठमाडौं उपत्यकाको ट्राफिक अस्तव्यस्त भयो । ग्रेसलिष्टमा परेका ७४,७४९ विद्यार्थी मध्य केवल १२,४१५ जना विद्यार्थीले मात्रै निवेदन दिएका थिए ।

दीक्षान्त समारोहमा यति धेरै संख्यामा एकैपटक दीक्षित भएको शायद विश्वमा नै धेरै होला । तर यो आकंडाका लागि मात्रै गर्व गर्ने तथ्यांक हो । वास्तवमा नेपालको शिक्षा प्रणाली नै गर्व गर्न लायक छैन । यहाँ टोपी लगाएका कतिपय शायद जापान वा कोरिया जानका लागि भाषा सिक्दै होलान । केही समयमा यी प्रमाणपत्र दराजको एक कुनामा राखेर पासपोर्ट बोेक्दै बिदेशिने छ । कतिपय यीनै प्रमाणपत्र बोकेर बिदेशीने छन् ।

हुन त त्रिभुवन विश्वविद्यालयको स्थापना २०१६ असार १२ गते मात्रै भएको थियो । र पढाइ भने असारको ३० बाट मात्रै सुचारु हुन सक्यो । तर नेपालमा विश्वविद्यालय स्थापनाको तैयारी राणा अन्तिम प्रधानमन्त्री मोहन शम्शेरको समयमा २००५ सालमा विश्वविद्यालय योजना सभा गठनबाट भएको थियो । तर अचानक राजनैतिक परिवर्तनले गर्दा केही समय सुस्तायो । २०१० सालमा आइपुग्दा नेपाल शिक्षा योजना आयोगको गठनले फेरी विश्वविद्यालय खोल्ने योजनाले पाइला अगाडि बढ्यो ।

२०१३ सालमा पहिलो पञ्चवर्षिय योजनाको आरम्भ र अमेरिकी सहयोग नियोग यूएसओएमको नेपाल आगमनले अझ मूर्त रुप दिनमा केही भूमिका खेल्यो । यसै बिच २०१२ चैत १९ गते विश्वविद्यालय आयोगको स्थापना भयो । जसमा अध्यक्षका रुपमा जेठी मुमा बडामहारानी कान्ती राज्य लक्ष्मी तथा उपाध्यक्षका रुपमा इश्वरी राज्यलक्ष्मी रहनु भएको थियो ।

साथै सदस्य सचिवका रुपमा भने डा. पराशर नारायण सुवालको नियुक्ति गरिएको थियो । यसरी पूर्व राजा त्रिभुवनका दुइ रानीको सहभागिता तथा अमेरिकी सहयोग निगमको सक्रियतामा अमेरिकी उच्च शिक्षा परियोजनाको सहयोगले विश्वविद्यालय खोल्ने योजनाले गतिशिलता लियो । अन्तत २०१५ असार ११ गते त्रिभुवन विश्वविद्यालयको जग राखियो ।

त्यतिबेला उपलब्ध गराइएको जमिन दुइ मुमा बडामहारानीका तर्फबाट दान गरिएको भनिएको छ । तर यी जग्गाहरु कतिपय गुठीका थिए । साथै मुमा बडामहारानीहरुको अग्रसरतामा राजा महेन्द्र खुशी थिएनन् भन्ने पनि गरिन्छ । विश्वविद्यालय स्थापनाका लागि राजा महेन्द्र एकातर्फ र अर्को तर्फ राजा त्रिभुवनका दुइ रानीहरु रहेका थिए ।

६४ वर्षको त्रिभुवन विश्वविद्यालयको इतिहासमा ४९ पटक दीक्षान्त समारोह भएको थियो । पहिलो दीक्षान्त समारोह २०१७ चैत ९ गते भएको थियो । राजा महेन्द्र कुलपतिका रुपमा सहभागी थिए भने मुख्य अतिथिका रुपमा भारतबाट सिडी देशमुख आएका थिए । यहाँ राखिएको तस्विर त्यहि पहिलो दीक्षान्त समारोहमा राजा महेन्द्रबाट सम्बोधन गर्दं गर्दाको हो ।

प्रतिक्रिया