आर्थिक अभावमा सञ्चालन हुँदै बौद्धिक अपाङ्गता स्रोत कक्षा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनीस्थित शिवशङ्कर माध्यमिक विद्यालयमा सञ्चालन हुँदै आएको बौद्धिक अपाङ्गता स्रोत कक्षा आर्थिक अभावमा सञ्चालन हुँदै आएको छ ।
छुट्टै कक्षाकोठा नहुँदा बौद्धिक अपाङ्गता भएका बाललिकालाई छात्राबासको बरण्डामा राखेर पढाउनुपर्ने अवस्था छ । राष्ट्रपति शैक्षिक कार्यक्रममार्फत आव २०७९/८० मा निर्माण भएको दुईकोठे भवनमा बालबालिकालाई बस्न छात्राबासको व्यवस्था गरिएको छ । भवन अपाङ्गमैत्री नहुँदा बालबालिकालाई समस्या रहेको छ । छात्राबास रहेको भवनको वरिपरि घेरबार नहुँदा विद्यार्थी बाहिर भाग्ने डरसमेत उत्तिकै रहेको विद्यालयका स्रोत शिक्षक बलदेव भट्टले बताए ।
‘बाहिरका अपरिचित व्यक्ति पनि भित्र प्रवेश गर्न सक्छन्’, उनले भने, ‘विद्यार्थी बाहिर गएर हराउने सम्भावना पनि छ, नगर प्रमुख अनुगमनमा पुगेका बेला छात्राबाससँगै घेरबारको समस्या राखेका हौँ, अश्वासन त दिएका थिए, अहिलेसम्म पूरा गर्ने सुसारसम्म गरिएको छैन ।’ विद्यालयको मुख्य द्धार बजेट अभावका कारण विद्यालयले निर्माण गर्न सकेको छैन ।
विद्यालयसँग छात्राबासका रुपमा प्रयोग भइरहेको भवन परम्परागत शैलीमा निर्माण भएको हुँदा छात्रछात्रालाई बस्न निकै अप्ठ्यारो रहेको छ । कक्षामा सात छात्र र पाँच छात्रा गरी १२ बौद्धिक अपाङ्गता भएका विद्यार्थी अध्ययनरत रहेका छन् ।
‘पर्याप्त बस्ने व्यवस्था नहुँदा बौद्धिक अपाङ्गता भएका बढी विद्यार्थी भर्ना लिन सकेका छैनौँ’, विद्यालयका प्रधानाध्यापक विष्णुदत्त जोशीले भने, ‘धेरै ठाउँबाट बालबालिका भर्नाका लागि अभिभावक पुगेका थिए, छात्राबासमा राख्ने ठाउँ नहुँदा फिर्ता गर्नुपरेको छ ।’
छात्राबासमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका, लालझाडी गाउँपालिका, कृष्णपुर नगरपालिका र बझाङ तथा बैतडीलगायत क्षेत्रका बौद्धिक अपाङ्गता भएका छात्रछात्रा पढ्दै आएका छन् । बौद्धिक अपाङ्गता भएका छात्रछात्राको पठनपाठन, सरसफाइ र रेखदेखका लागि एक स्रोत शिक्षक, एक सहयोगीको व्यवस्था गरिएको छ ।
विद्यालयमा आवासीयरुपमा पढ्दै आएका बौद्धिक अपाङ्गता भएका छात्रछात्रालाई जनही मासिकरुपमा चार हजारका दरले १० महिनासम्मका लागि रकम प्रदान हुने गरेको छ । सोमध्ये बौद्धिक अपाङ्गता विद्यार्थीलाई मासिकरुपमा खर्चबापत रु पाँच सय उपलब्ध गराउनुपर्छ ।
तीन हजार पाँच सय रकमले छात्राबासमा बस्दै आएका बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई खाना, लत्ताकपडा, स्टेशनरी, ओढ्ने बिछ्याउने कपडा, साबुन, सोडा लगायतको व्यवस्था मिलाउनुपर्छ ।

प्रतिक्रिया