मंगलबार, वैशाख २५, २०८१

लघुवित्त वित्तीय संस्थाहरुमा कर्जा पुनरतालिकीकरण गर्नै समय थप

नेपालखोज २०८० पुष ९ गते १२:३२

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुमा कर्जा पुनरतालिकीकरण गर्नै समय थप भएको छ । नेपाल राष्ट्र बैंकले आईतबार लघुवित्त संस्थाहरुको नाउँमा परिपत्र जारी गर्दै यस्तो व्यवस्था कार्यान्यनमा ल्याउन निर्दैशन दिएको हो ।

निर्दैशन अनुसार लघुवित्त संस्थाले परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणीहरुलाई कर्जा चुक्ता गर्न परेको कठिनाईलाई दृष्टिगत गरी आवश्यकता र औचित्यको आधारमा देहायका शर्तहरुको अधीनमा रही एक पटकको लागि कर्जाको पुनरतालिकीकरण र-वा पुनरसंरचना गर्न सक्नेछन् ।

यस्तो पुनरतालिकीकरण र-वा पुनरसंरचना २०८० चैत मसान्तसम्म निवेदन लिई २०८१ वैशाख मसान्तभित्र गरिसक्नु पर्नेछ । २०८० असार मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएको कर्जालाई मात्र कर्जा भुक्तानी अवधि बढीमा एक वर्ष थप हुने गरी पुनरतालिकीकरण र-वा पुनरसंरचना गर्न सकिनेछ । उपर्युक्त बमोजिम पुनरतालिकीकरण र-वा पुनरसंरचना गरिएका कर्जाहरुलाई पाँच प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ ।

राष्ट्र बैंकका अनुसारकर्जा पुनरतालिकीकरण र-वा पुनरसंरचना गर्नुपर्ने स्पष्ट आधारहरु प्रत्येक कर्जा फाइलमा संलग्न हुनुपर्नेछ । कर्जा पुनरतालिकीकरण र-वा पुनरसंरचना गर्दाको दिनसम्म असुल हुन बाँकी ब्याजको कम्तीमा पाँच प्रतिशत ब्याज रकम असुल उपर भएको हुनुपर्नेछ । कर्जा पुनरतालिकीकरण र-वा पुनरसंरचना गर्दा असुल हुन बाँकी ब्याजलाई पुँजीकरण गरी आम्दानी जनाउन पाइने छैन । उक्त रकमलाई छुट्टै खातामा लेखांकन गरी ब्याज असुल भएपश्चात् मात्र आम्दानीका रुपमा देखाउन सकिनेछ ।

राष्ट्र बैंकका अनुसार पुनरतालिकीकरण र-वा पुनरसंरचना गरेवापत ऋणीबाट कुनै पनि प्रकारको शुल्क-हर्जाना लिन पाइने छैन । पुनरतालिकीकरण र-वा पुनरसंरचना गरिएका कर्जाको किस्ता लगातार ६ महिनासम्म नियमित भए पश्चात् मात्र त्यस्ता कर्जालाई असल कर्जामा वर्गीकरण गर्न तथा कर्जा नोक्सानी व्यवस्थामा समायोजन गर्न पाइने छ ।

पुनरतालिकीकरण र-वा पुनरसंरचना पश्चात् कर्जा नोक्सानी व्यवस्थाबाट फिर्ता हुने अवस्था आएमा फिर्ता गरिए बराबरको रकम सञ्चित मुनाफा खाता खर्च गरी छुट्टै खातामा लेखांकन गर्नुपर्नेछ । यसरी लेखांकन गरिएको रकमबाट लाभांश तथा कर्मचारी बोनस वितरण गर्न पाइने छैन । पुनरतालिकीकरण र-वा पुनरसंरचना गरिएको कर्जा असल बर्गमा बर्गीकरण भएपश्चात् मात्र उपरोक्त खातामा लेखांकन गरिएको रकम सञ्चित मुनाफा हिसाबमा समायोजन गर्न सकिनेछ ।

राष्ट्र बैंकका अनुसार परिपत्र जारी हुनुअघि भने वित्तीय संस्थाले उक्त संस्थाका ऋणीहरुलाई कर्जा चुक्ता गर्न परेको कठिनाईलाई दृष्टिगत गरी आवश्यकता र औचित्यको आधारमा देहायका शर्तहरुको अधीनमा रही एक पटकको लागि कर्जाको पुनरतालिकीकरण र-वा पुनरसंरचना गर्न सक्नेछन् र यस्तो पुनरतालिकीकरण र-वा पुनरसंरचना २०८० असार मसान्तभित्र तोकिएको थियो ।

प्रतिक्रिया