शनिबार, जेठ ४, २०८२

सत्र हजार परिवारलाई सुधारिएको चुलो वितरण

नेपालखोज २०८० पुष १५ गते १५:३१

झापा । वातावरण संरक्षण केन्द्र (इपिसी) नेपालले यहाँ दाउरा बालिरहेका १७ हजार परिवारलाई सुधारिएको फलामे चुलो र चार सय ५० विद्युतीय(इन्डक्सन)चुलो वितरण गरेको छ ।

इपिसीका निर्देशक सन्दीप मेहताका अनुसार विपन्न तथा श्रमिक परिवारलाई दाउराको विकल्पका रुपमा प्रयोग गर्न सहज होस् र पर्यावरण जोगाउन सहयोग पुगोस् भन्ने उद्देश्यले चुलो वितरण गरिएको हो ।

उनले मेचीनगर, हल्दीबारी, बुद्धशान्तिलगायतका छ पालिकामा सुधारिएको फलामे चुलो वितरण गरिसकेको बताए । खुला बजारमा पाँच हजार मूल्यपर्ने सुधारिएको फलामे चुलो विपन्न तथा श्रमिक परिवारलाई ढुवानी खर्चबापत दुई सय मात्र लिएर वितरण गरिरहेको उनले जानकारी दिए ।

विद्युत् र दाउरा दुवै प्रयोग हुने सुधारिएको चुलो सिङ्गापुरको ‘भिएनभी एडभाइजरी’ नामक दातृसंस्थाको सहयोगमा वितरण गरिएको हो । हाल झापा, उदयपुर, धनुषा, सिरहा, सप्तरीलगायतका जिल्लामा यो परियोजना सञ्चालन भइरहेको छ ।

वातावरण प्रदूषण न्यूनीकरणमा यो प्रविधिको चुलोले सघाउ पुर्याउने इपिसीले जनाएको छ । सुरुमा चिया मजदुरलाई मात्र लक्षित गरेर वितरण गरिएको सुधारिएको चुलो पछिल्लो समय पालिकाको समन्वयमा अन्य समुदायका विपन्न परिवारलाई समेत वितरण गरिएको छ ।

दातृ संस्था इपिसीले चुलोको पाँच वर्षको ग्यारेन्टी दिएको र बिजुलीबाट चल्ने पङ्खा तथा एडप्टर बिग्रिए फेरिदिने उनले बताए । उनले बिग्रिएको सामग्री मर्मत गर्नसक्ने गरी स्थानीय क्षेत्रकै केही व्यक्तिलाई तालिमसमेत दिइएको बताए ।

मेचीनगरका वडा नं १, २, ४, ५, ७, ८, ९ र १५ मा चुुलो वितरण भइसकेको छ भने पहिलो चरणमा निम्नवर्गीय परिवारलाई सुधारिएको चुलो वितरण गर्ने र दोस्रो चरणमा मध्यम वर्गका उपभोक्ताका लागि इन्डक्सन चुलो वितरण गरिरहेको उनले जानकारी दिए ।

उनका अनुसार नगरको सञ्जीवनी महिला विकास संस्था, दुर्गेश्वरी बचत तथा ऋण सहकारी संस्थाको समन्वयमा चार सय ५० इन्डक्सन चुलो वितरण गरिएको छ । उनले बजार मूल्यअनुसार १० हजार पर्ने चुलो, कराइ, कुकर, लाइट, टिओटी डिभाइसका लागि उपभोक्ताले दुई हजार मात्र संस्थालाई बुझाउनुपर्ने बताए ।

चुलो प्रयोग नभएको पाइएमा फिर्ता लगिने र अर्को विपन्न परिवारमा दिइने इपिसीको कार्यक्रम रहेको छ । चुलो प्रयोग भएको वा नभएको थाहा पाउन इन्डक्सन चुलोमा डिभाइस जडान गरिएको छ । आर्थिक सङ्कटबाट गुज्रिरहेका बेला खाना पकाउन विदेशबाट आयात हुँदै आएको एलपी ग्यासको प्रयोग न्यूनीकरणमा समेत यसबाट मद्दत पुग्ने संस्थाको उद्देश्य रहेको उनले बताए ।

उनले कोशी, मधेस र बागमती प्रदेशमा मात्र पहिलो चरणमा दुई हजार चुलो परीक्षणका लागि वितरण गर्ने योजना रहेको बताए । त्यसमध्ये कोशीमा चार सय ५०, मधेसमा एक हजार एक सय र बागमतीमा तीन सय ५० चुलो वितरण गरिएको निर्देशक मेहताको भनाइ छ ।

प्रतिक्रिया