कार्यालय भवन उद्घाटन गर्न प्रधानमन्त्री जाने भएपछि सुनापति गाउँपालिकामा बिदा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जाने भएपछि रामेछापको सुनापति गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ।
प्रधानमन्त्री प्रचण्ड बिहीबार (पुस १९) गते गाउँपालिकाको कार्यालय भवन उद्घाटन गर्न जाँदैछन्।
प्रधानमन्त्री आउने भएपछि त्यस दिने पालिकाअन्तर्गतका सबै सरकारी कार्यालय, सामुदायिक विद्यालयहरू बन्द गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष ठूलोकान्छा तामाङले जानकारी दिए।
‘बिहीबार नवनिर्मित कार्यालय भवन उद्घाटन गर्न प्रधानमन्त्रीज्यूलाई आमन्त्रण गरेका छौं। नयाँ कार्यालय भवन उद्घाटन गर्ने हुँदा त्यहाँको काम प्रभावित हुने भइहाल्यो। त्यसैले बिदा दिने र त्यसको सट्टा अर्को दिन कार्यालय खोल्ने भएका छौं,’ अध्यक्ष तामाङले भने।
अध्यक्ष तामाङले बिहीबार कार्यालयको सेवा मात्र बन्द हुने नभई स्कुलको पठनपाठन पनि नहुने बताए।
‘स्कुल पनि बन्द गर्न भनेका छौं। यसको सट्टा हामी अर्को सार्वजनिक बिदाका दिन कार्यालय खोल्नेछौं,’ उनले भने।

प्रतिक्रिया