शनिबार, जेठ ४, २०८२

‘वन सहारा, वन्यजन्तु मानिसका साथी’

नेपालखोज २०८० पुष २१ गते ११:१०

चैनपुर (बझाङ) । शनिबार बिदाको दिनको मौका पारेर राप्तीपीडित सामुदायिक वन उपभोक्ता समितिले दाउराका लागि वन खुला गरेको थियो । बिहानै पाका उमेरका धनबहादुर चलाउनेसहित स्थानीयहरू दाउरा ल्याउन जङ्गल गए ।

बाटोमा बाघबाट सतर्क रहन धनबहादुर सबैलाई सल्लाह दिँदै हुनुहुन्थ्यो । वन पुगेपछि सबै जना वरपर आ–आफ्नो दाउरा भारी बनाउन लागे । अरूलाई सतर्क रहन सल्लाह दिने धनबहादुरलाई खोल्सामा लुकेको बाघले झम्टियो । गाउँलेहरू चिच्याउँदै रित्तै घर फर्किए । यो घटना करिब दुई वर्षअघि राप्तीसोनारी गाउँपालिका–६ डाँडाटेपरी बाँकेको हो । वन–वन्यजन्तुबारे अनुभवी धनबहादुरसँग जङ्गल जाँदा डर नहुने भन्दै सँगै गएका महिलाले फर्किएर प्रहरीलाई खबर गरे ।

सुरक्षाकर्मीसहित स्थानीयले जङ्गलमा खोजतलास गर्दा दुई घण्टापछि धनबहादुरको आधा शव फेला पर्यो । ‘धेरै पटक वन एक्लै पनि जानुहुन्थ्यो’, राप्तीपीडित सामुदायिक वन उपभोक्ता समितिकी उपाध्यक्षसमेत रहेकी छिमेकी गङ्गाकुमारी चन्दले भने, ‘वन जाँदा हामी सबैले उनकै भरोसा गथ्र्यौं । गत वर्ष दुःखद् घटना भयो ।’

शनिबार समितिले दाउराका लागि खुला गरे पनि साताअघि नै बाघको पाइला देखेकाले कसैलाई जङ्गल नजानु भनेको वनरक्षक अजोध्याप्रसाद थारू सम्झनुहुन्छ । ‘त्यो दिन बिहानै वनमा बाघको पाइला देखेको थिएँ । कसैलाई वन नजानु भनेर म अर्कोतिर गएँ । उता गाउँलेहरू सबै जङ्गल पसेछन् । पछि त्यस्तो घटना सुनियो’, थारूले भने ।

राप्तीसोनारीमा धनबहादुरको मात्रै होइन । त्यो समयको आसपास एउटै बाघले पाँच जनाको सिकार ग¥यो । घाँस, दाउरा काट्न वन गएकी राप्तीसोनारी–४ की लीला विष्ट, वडा नम्बर ६ कै चाँदनी थारु, वडा नम्बर ७ झगडियाका वकिल गद्दीसहित एक भारतीय नागरिकको ज्यान लिएको थियो ।

शनिबारकै दिन वन खुलाउने हुँदा चौकीदारले सतर्क रहन सबै समुदायमा माइकिङ गर्दा पनि घटना दोहोरिएको स्थानीय कृष्णबहादुर चौधरी बताए । चौधरीका अनुसार २९ वर्षीया चाँदनी थारुको पनि शनिबारकै दिन सदाबहार सामुदायिक वनभित्र दाउरा काट्दा बाघले आक्रमण गरेको थियो । जलहन सामुदायिक वनको ‘तीनपाने’ भन्ने ठाउँमा लीला विष्टले बाघको सिकार हुनुपरेको उनले सुनाए । करिब पाँच किलोमिटर टाढा पर्ने सामुदायिक वनबाट बाघ आएर डाँडाटेपरीमा पशु चौपायाको समेत सिकार गर्ने गरेको चौधरीले बताए ।

नरभक्षी बाघ नियन्त्रणमा लिन वन कार्यालयलाई भने दुई साता नै लागेको थियो । राप्ती सव–डिभिजन वन कार्यालय मेहनामपुरका वनरक्षक खडकपाली धितालले भने, ‘बाघ नियन्त्रणका लागि चितवनबाट टिम आएको थियो । जिल्ला वनको टिम, सुरक्षाकर्मीसहित स्थानीयहरू मिलेर खोज्दा कतै भेटिएन ।’

प्रतिक्रिया