शनिबार, जेठ ४, २०८२

साइकलमा महिला

सुनिल उलक २०८० पुष २२ गते ९:१२

सन १८१८ मा साइकलको पहिलो स्वरुप आए पनि पूर्णरुपको सुरक्षित साइकल बन्न भने करिव ७२ वर्ष लाग्यो । सुरक्षित साइकल नहुँदा सम्म महिलाहरुले साइकल चलाउन नै खोजेनन् । सन १८९० को दशकमा बल्ल महिलाहरुले पनि साइकल चलाउन थालेका थिए । यसरी यूरोप र अमेरिकी सडकमा महिलाहरुले साइकल कुदाउने आम रुपमा देखिन थाल्यो । तर महिलाले पनि साइकलमा पृथ्वीलाई नै एक चक्कर लगाउने कार्य भने सन १८९४ मा भयो ।

अमेरिका बसोबास गर्ने ल्याटिभियन महिला एनी लंडनडेरी नाम गरेकी एक महिलाले ख्यालठट्टामा नै बाजीको लोभमा साइकलमा विश्व भ्रमण गरेका थिए । सन १८९४ को जुन २७ अर्थात वि.सं. १९५१ असार १४ गते दिनको ११ बजे बोस्टनको बेकन हिलबाट साइकलमा विश्वयात्रामा निस्केका थिए । सिकागोमा उनलाई स्टर्लिङ साइकल वर्क्सले उनलाई नयाँ साइकल दिदै उनको यात्राको खर्चको जिम्मेवारी लिएका थिए । सिकागोबाट भने उनको यात्रा निश्चित रुपमा कसैको लागि भएको थियो । न्यूयोर्कबाट पेरिस तथा योकोहामाबाट सानफ्रान्सिस्कोसम्म भने पानीजहाजमा यात्रा गरेका थिए । अन्तत उनले तय गरिएको मिति एक वर्ष भन्दा १४ दिन अगाडि सिकागो पुगेर १० हजार डलर पुरस्कार पाएका थिए ।

यसरी एक ल्याटिभियन अमेरिकी महिलाले साइकलमा विश्व भ्रमण गरिसक्दा पनि भारत तथा नेपालमा भने साइकल नै देखेका थिएनन् । सन १९१० मा भारतमा साइकलको प्रवेश पछि नेपालमा पनि साइकलको आगमन भयो । तर यो केवल धनाध्य र राणा शासकहरु बिच सिमित थियो । यस्तैमा प्रथम विश्व युद्धले संसारलाई नै आघात पुर्याइरहदा अन्य बिकास निर्माण तथा आविष्कारका कुरा सबै हराए । सबैलाई युद्धबाट कसरी जोगिने भन्नेमा नै तल्लिन हुन थाले ।

प्रथम विश्व युद्धको समय भएका नयाँ आविष्कारहरु युद्धसंग सम्बन्धित थिए । हतियार, गोला, बारुद तथा युद्धक विमानको साथ सम्झन लायक केही अन्य आविष्कार पनि भएका थिए । ब्लड बैंक र रक्त संकलनका कुरा त्यहि बेला शुरु भएको हो । घाइतेको रगत बग्ने कृया रोक्न बनाइएको प्याडबाट नै अहिलेको महिलाहरुको लागि महत्वपूर्ण स्यानिटरी प्याडको आविष्कार भएको थियो । क्रोमियम भन्ने धातुलाई पगालिएको फलाममा मिसाएर बलियो धातु स्टीलको आविष्कार पनि भएको थियो । सैनिकहरुको पोशाकमा सुरक्षित साथ उनिहरुको पैसा राख्न सहज बनाउन जिप (चेन)को आविष्कार भएको थियो । साथै हातमा लगाउन मिल्ने हाते घडीको आविष्कार पनि भएको थियो ।

युद्धको समाप्ति पछि नेपालको आर्थिक रुपले भने केही सबल भएको थियो । युद्धले बिसौ हजार नेपालीको मृत्यु भएको थियो । जसमा कतिपय नेपाली अज्ञात थिए । जसका परिवारको कुनै नाम ठेगाना नै भेटिएन । अंग्रेज सरकारले ति अज्ञात नेपालीहरुको मृत्यु बापत प्राप्त हुने रकमहरुलाई वार्षिक दश लाख रुपैया नेपाललाई सहयोग गर्ने बाचा गर्यो । जुन रकमले चन्द्रशम्शेरले त्रीचन्द्र अस्पताल (सैनिक अस्पताल), रोपवे तथा रेलवे जस्ता बिकासका कामहरु गरेका थिए । युद्धको समाप्ति पछि फर्केका नेपाली जवानहरुले करिव १५ करोड नेपाली रुपैया बराबरको कम्पनी भारु भित्राए । जसले गर्दा आम नेपालीमा पनि आर्थिक कारोवारको शुरुवात भयो । साधारण नेपालीले पनि आफ्ना आबश्यकताका सामग्री किन्न सक्ने हैसियत बनाए । साइकल पनि राणा परिवार र उच्च सभ्रान्त परिवारबाट आम नेपालीसम्म पुग्यो ।

यसरी आम नेपालीहरुले पनि साइकल चढ्न थालेको देखे पछि वि.सं. १९८१ तिर काठमाडौं कमलाक्षीका ब्यापारी अष्टनारायणले साइकलको पसल नै खोले । नेपालमा पहिलो महिला साइकल चालकको रुपमा यिन अष्टनारायणका छोरी सरोजिनी मानन्धरको नाम आउँछ । खुला बिचारधारा भएको परिवारमा वि.सं. १९९४ मा जन्मेका सरोजिनीलाई उनका बाबु अष्टनारायणले नेपालमा नै पहिलो पटक वि.सं. २००२ सालमा खुलेको छात्र तथा छात्रा एकसाथ पढ्ने शान्ति निकुञ्ज स्कूलमा भर्ना गरिदिएका थिए । जुन स्कूल स्थापना गर्न अष्टनारायणले पनि सहयोग गरेका थिए ।

छोरा र छोरीमा भेदभाव नराख्ने अष्टनारायणले छोरीलाई पनि छोरा सरह नै स्कूल पठाएका थिए । यसरी पढाइमा परिवारका साथ पाएका सरोजिनीले साइकल चलाउन पनि छुट पाए । देशमा प्रजातन्त्रको प्राप्तिको समय उनले सडकमा साइकल कुडाउन थालिसकेका थिए । सामाजिक कार्यमा लागेका सरोजिनी कांग्रेसी नेता गणेशमानसिंहका पत्नी मंगलासिंह द्वारा स्थापित नेपाल महिला संघको सक्रिय कार्यकर्ता पनि थिइन् । १६ सालतिर डिल्लीबजारको कन्या स्कूल (हालको पद्म कन्या)मा पढाउन थाल्दा पनि उनि साइकलमा नै कलेजे पढाउन पुग्दथे । बिबाहले पनि उनको साइकल यात्रा रोकिएन ।

हुन त सरोजिनीको नाम पहिलो महिला साइकल चालकको रुपमा आउने गरिए पनि राम्ररी इतिहासलाई केलाएर हेर्ने हो भने युवराज्ञी इन्द्र राज्य लक्ष्मीका तथा बडामहारानी रत्नका बहिनी किशोरी राज्य लक्ष्मीले बागदरवार भित्र तथा सेरोफेरोमा वि.सं.१९९९ तिर नै साइकल दौडाउन थालिसकेका थिए । जुद्धशम्शेरका नातिनी तथा हरिशम्शेरका छोरी किशोरी राज्य लक्ष्मीको प्रसंग केही कम नै उल्लेख हुने गर्दछ ।

वि.सं. १९८७ मा जन्मिएका किशोरी राज्य लक्ष्मीले केवल १२ वर्षको उमेरमा नै बागदरवारको कम्पाउण्ड भित्र साइकल कुडाउन थालिसकेका थिए । वि.सं. २००७ सालमा मोहन बिक्रम शाहसंग विवाह हुनु अगाडिसम्म उनले साइकल चलाएर काठमाडौका मुख्य ठाउँहरु पुग्ने गरेका थिए । उनकै नातिनी सुप्रिया शाहको चर्चा केही समय अगाडि निकै चल्ने गरेको थियो । युवराज दिपेन्द्रको प्रेमिकाको सूचीमा सबैभन्दा पहिलो नाम नै सुप्रिया शाहको थियो । दुबैका हजुरआमाहरु राजी भए पनि यो विवाह हुन सकेन । कुमारी नै बसिरहेकी सुप्रियाले केही महिना अगाडि मात्र ५० वर्षको उमेरमा विवाह गरेका थिए ।

बि.सं. २०३० सम्म आइपुग्दा साइकल चलाउने महिलाहरुको संख्या मनग्गे बढि सकेको थियो । तर पनि साइकल महिलाहरुको दैनिकी भने बन्न सकेको थिएन । विवाह पछि नयाँ घरमा सासुससुराबाट साइकल चलाउन बन्देज लगाउने तथा साइकलमा बजारमा जाँदा समेत छरछिमेकीहरुले समेत गलत नियतले हेर्ने समस्या ३० को दशक सम्म साइकल चलाउने हरेक महिलाहरुले झेलेको समस्या थियो । ३० कै दशक तिरबाट भने तराई तिर महिलाहरुले साइकललाई दैनिकी कामकाजको लागि पनि उपयोग गर्न थालिसकेका थिए ।

बजारमा दुध दही बिक्री गर्न तथा नजिकै वनमा घाँस दाउरा बटुल्न पनि साइकलको उपयोग हुन थाल्यो । जसले गर्दा विवाह गर्दा दाइजोको रुपमा साइकल दिने शुरुवात पनि भयो । पहाडी भूभागमा साइकल चलाउन केही कठिनाइ हुने हुँदा महिलाहरु अति आबश्यक समय साइकल कुदाउथे तर तराइको समथरमा भने दैनिकी नै बनेको थियो । बिहानै दुध दही बिक्रीको लागि होस वा कार्यालय समयमा बिद्यालय जान तथा कार्यालय जान होस साइकलको उपयोग महिलाबाट पनि हुन थाल्यो ।

यसरी नै साइकलको उपयोगबाट साहसी कार्य गर्न एक बालिकामा डेढ वर्ष अगाडि १३ वर्षकी ज्योतीकुमारीको चर्चा विश्वभर फैलिएको थियो । कोरोनाको कारण विश्वको अधिकांश भाग ठप्प हुँदा भारतमा पनि पूर्णरुपमा यातायात तथा दैनिक जीवन बन्द भएको थियो । घर भित्र थुनिन बाध्य त्यस दुखद समयमा उपचार नपाएका घाइते बाबुलाई भारतीय राजधानी दिल्ली नजिकै गुरुग्रामबाट १२०० किमी लामो यात्रा ८ दिन लगाएर साइकलमा आफ्नो गाउँ दरभंगासम्म लिएर आएका थिए ।

यो यस्तो विवश नारीको अदम्य साहसको कथा हो । जसले गुरुग्राममा बसेर न त उनले बाबुको आबश्यक उपचार गर्न सक्थे न त दैनिक भोजनको ब्यबस्था नै गर्न सक्थे । समाजमा फैलाइएको अनावश्यक त्रासले एक अर्कोमा सहयोगको भावना पनि त्यस समय मरिसकेको थियो । सबैमा केवल आफू कसरी बाँच्न सकिन्छ भन्ने एउटै ध्याउनामा आफ्नो परिवार भन्दा बाहिरका लागि घरको ढोका नै बन्द गरिएको थियो । यो जायज थियो या थिएन भविष्यमा यसको निर्क्योल होला तर अहिले यस विषयमा बिरोध जनाउनेहरुलाई गलत सावित गर्नेहरुको नै बाहुल्य छ ।

खैर उनले साहसका साथ बाबुलाई गाउँ लिएर जाने अठोट गरिन । कोरोना राहत बापत बाबुको नाममा प्राप्त एक हजार रुपैयाबाट साइकल किन्ने सोचिन् । बल्लबल्ल भेटिएको साइकलको मुल्य पनि रु १२०० थियो । तर उनले साइकल बिक्री गर्नेसंग अनुनय विनय गरेर रु ७०० पछि दिने गरि मनाए । बाकी रु ५०० बाटोमा घर पुग्ने खर्चको रुपमा राखिन । अन्तत मोटाघाटा बाबुलाई पछाडि राखेर १३ वर्षकी दुब्लीपातली बालिकाले साइकल कुडाउन थालिन् । उनको यो साहसी यात्राको चर्चा भारत मात्र होइन विश्वभर फैलिएको थियो ।

अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसमा समेत चर्चा हुन पुगेको यो माया र प्रेमको यात्राको कथाको प्रशंसा तत्कालिन राष्ट्रपति ट्रम्पकी छोरीले समेत ट्वीटमा गरेकी थिइन् । एक गरिव महिलाको विवशताले चालिएको साहसी कदम थियो । यो सच्चा बाबु प्रति छोरीको माया थियो । धनिहरुको माझ उनलाई एक मुट्ठी चामल पाउने आशा समेत नरहे पछि बाध्य भएर गाउँ सम्मको लामो यात्रामा निस्केकी थिइन् । यदि गुरुग्राममा नै बसेकी भए भोकले बाबु गुमाउने थिइन् भने आफ्नो जीवनको पनि कुनै ग्यारेन्टी हुदैनथ्यो ।

तस्विरमा नेपालकी पहिलो महिला साइकल चालक किशोरी राणाको साथ अर्को तस्विरमा रहेकी महिला देव कुमारी सर्लाहीकी सामाजिक कार्यकर्ता हुन् । उनलाई साइकलवाली भनेर चिनिन्छ । लैङ्गीक हिंसा विरुद्ध सामाजिक चेतना फैलाउदै उनि साइकलमा गाउँ गाउँ डुल्छिन् । उनले पनि निकै सम्मान पाइसकेकी छिन् । यसरी साइकलका कारण आफ्नो पहिचान र प्रतिष्ठा बढाउने खोज्दै जाने हो भने धेरै महिलाहरु भेटिन सकिन्छ ।

प्रतिक्रिया