शुक्रबार, असार २०, २०८२

माघ ३ गते

सुनिल उलक २०८० माघ ३ गते १९:३६

माघ १ गतेलाई माघे संक्रान्तीको रुपमा सबैले याद गर्दछन् । माघ २ लाई १९९० को भूकम्पको कारणले वर्षेनी मनाइने भूकम्प सुरक्षा दिवसको रुपमा याद गर्दछन् । तर माघ ३ लाई खासै चिन्दैनन् । शायद अर्को अर्थमा भनौ भने चिन्न पनि खोज्दैनन् । किनकी कुनैबेलाको आततायी समुह आज सत्ताको सहयात्री तथा खिचातानीमा सहभागी हुदै मुख्य राजनैतिक वृत्तमा केन्द्रित रहेको छ ।

माओवादी द्वन्दको चरमोत्कर्षको समय २०५८ सालको माघ ३ मा मुक्तिनाथ सरको हत्या भएको थियो । मुक्तिनाथ सरको गल्ती के थियो स्पष्ट थिएन । तर आरोप अनुसार भनिने हो भने उनले शिक्षकको तलवबाट २५ प्रतिशत माओवादीलाई चन्दा दिन अस्विकार गरेका थिए । साथै तीन वर्ष अगाडी माओवादी कार्यकर्ता एकबहादुर सुनारलाई सुराकी लगाएर हत्या गर्न सघाएका थिए भनियो ।

२२ वर्ष भयो मुक्तिनाथ सरको हत्या भएको । लमजुङ, दुराडाँडा स्थित पाणिनी संस्कृत विद्यालयमा माघ २ गते प्रधानाध्यापकको रुपमा नियुक्ति पाएका मुक्तिनाथ सरलाई भोलिपल्ट माघ ३ गते दिउसो १ बजे कक्षा १० लाई विज्ञान विषय पढाइरहदा ‘सर दुई मिनेट काम छ’ भनेर नम्र झै देखिए पनि कक्षाबाट भने घोक्राउदै घिच्याउँदै माओवादी कार्यकर्ताहरुले सम्पूर्ण बिद्यार्थी र गाँउले सामुबाट अलि डाँडामा लगेर जकेटको बाहुलाले रुखमा हात बाँधे साथै गलबन्दीले घाँटीमा कसेर बाँधे पछि टाउकोमा गोली ठोके । अझै मृत्यु नभएको आशंकामा छुरा पेटमा रोपेर गाँउलेलाई लाश नछुन धम्की दिदै हिँडे ।

एउटा निर्दोष शिक्षकको हत्याबाट युद्ध सफल भयो या भएन त थाहा भएन । तर साधारण निहत्था ब्यक्ति हिंसाको आरोपबाट भने मुक्त रहन सकेन । खोजी पत्रकार श्रीभक्त खनालले सो सम्बन्धी समाचार हिमाल पाक्षिकको लागी त्यति बेला तैयार पारेका थिए । यो घटनाको समय अमेरिकी बिदेश मन्त्री कोलिन पावेल नेपाल भ्रमणमा थिए । जसले घटना छिट्टै अन्तराष्ट्रियकरण भयो । तर नेपालको स्वार्थमा डुबेका राजनीतिकर्मीहरुले यसका दोषीलाई कारवाही गर्न कति पनि चासो देखाएनन् ।

रुखमा बाँधिएको अवस्थाको तस्विर कुनै अज्ञात ब्यक्तिले खिचेका हुन् । माओवादी कार्यकर्ताको त्रासले नाम उल्लेख गर्न चाहेनन् । मैले भने यो तस्विर त्यतिबेला घटनास्थल पुगेर शिर्ष समाचार बनाउने भाइ श्रीभक्त खनालबाट नै प्राप्त गरेको हुँ । दोश्रो तस्विर भने पारिवारिक श्रोतबाट प्राप्त भएको हो ।

प्रतिक्रिया