शनिबार, असार २१, २०८२

लमजुङमा मह उत्पादन बढ्यो

नेपालखोज २०८० माघ १३ गते ११:५९

लमजुङ । लमजुङमा गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष एक सय ११ दशमलव तीन टनले मह उत्पादन बढेको हो ।

कृषि ज्ञान केन्द्र कार्यालय लमजुङका सूचना अधिकारी विजयी पौडेलका अनुसार यस वर्ष १३ हजार आठ सय ५० मौरीका घारबाट सो परिमाणमा मह उत्पादन भएको हो ।

गत वर्ष १० हजार २५ मौरीका घारबाट ३२ टन मात्र मह उत्पादन भएको थियो । यस वर्ष प्रतिकिलो मह रु नौ सयदेखि रु एक हजारसम्ममा बिक्री भएको छ ।

मह बिक्रीबाट रु नौ करोडभन्दा बढी आम्दानी गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । विसं २०७८ मा ११ हजार पाँच सय मौरीका घारबाट ३० टन मह उत्पादन भएको थियो ।

त्यस्तै २०७७ सालमा ११ हजार सयवटा मौरीका घारबाट ३८ टन मह उत्पादन भएको थियो । विसं २०७६ मा नौ हजार पाँच सय मौरी घारबाट ३४ टन तथा २०७५ सालमा पाँच हजार नौ सय मौरीका घारबाट ३२ टन मह उत्पादन भएको केन्द्रले जनाएको छ ।

जिल्लामा उत्पादित मह काठमाडौँ, पोखरा, चितवनलगायत र जिल्लाभित्रकै सहरबजारमा खपत हुँदै आएको छ । जिल्लाका कृषकले आधुनिक मौरी घार र आधुनिक प्रविधिको प्रयोगबाट मह उत्पादन गर्न थालेका छन् ।

नेपाल मौरीपालक महासङ्घ जिल्ला शाखा लमजुङको अनुसार जिल्लाको सबैभन्दा बढी उत्पादन हुने सुन्दरबजार नगरपालिका, बेँसीसहर नगरपालिका र मस्र्याङ्दी गाउँपालिका छन् । शाखामा जिल्लाका तीन सय ८२ जनाभन्दा बढी मौरीपालक किसान आबद्ध छन् । रासस

प्रतिक्रिया