सामसुङका प्रमुखलाई शेयरसँग सम्बन्धित मुद्दामा सफाइ

सियोल । दक्षिण कोरियाको एक अदालतले सामसुङ इलेक्ट्रोनिक्सका प्रमुख ली जे–योङलाई निर्माण तथा इन्जिनियरिङ कम्पनी सामसुङ सी एण्ड टी र चेइल इन्डस्ट्रिजबीच सन् २०१५ को विवादास्पद कम्पनी एकीकरण हुँदा गरिएको शेयरसँग सम्बन्धित विभिन्न अपराधबाट सोमबार सफाइ दिएको छ ।
योनहाप समाचार एजेन्सीका अनुसार अदालतले आलोचकहरूले खराब नियतले सामसुङको तेस्रो पुस्तामा लीलाई स्थापित गर्ने उद्देश्यबाट गरिएको भनी दावी गरेको एकीकरण (मर्जर) को माध्यमबाट ‘शेयरधारक’हरूलाई हानि पु¥याउने मनसायलाई मान्यता नदिएको ठहर गरेको छ ।
योनहाप समाचार एजेन्सीका अनुसार अदालतको फैसलामा ‘लीको नियन्त्रणलाई बलियो बनाउनु र उनको उत्तराधिकार सुनिश्चित गर्नु मर्जरको एकमात्र उद्देश्य नभएको’ ठहर गरिएको छ ।
सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टको फैसलाले सन् २०१५ मा निर्माण तथा इन्जिनियरिङ कम्पनी सामसङ सी एण्ड टी र चेइल इन्डस्ट्रिजबीच भएको मर्जरमा शेयर मूल्यमा धाँधली, विश्वासघात र लेखासम्बन्धी भ्रष्टाचारलगायत विभिन्न आरोपबाट लीलाई सफाइ दिएको हो ।
‘आजको फैसलाले एकीकरणका क्रममा कम्पनीहरूको शेयर विभाजन वैध थियो भन्ने ठहर गरेको छ । हामी अदालतको विवेकपूर्ण निर्णयका लागि हार्दिक धन्यवाद दिन्छौं,’ लीका वकिलद्वारा जारी संक्षिप्त वक्तव्यमा भनिएको छ ।
आलोचकहरूले सन् २०१५ को अधिग्रहणले जानीजानी निर्माण फर्मको शेयर मूल्यलाई कम मूल्याङ्कन गरेको यसको शेयरधारकहरूलाई अनुचित रूपमा प्रभावित पारेको दावी गरेका थिए ।








प्रतिक्रिया