मंगलबार, वैशाख २५, २०८१

ओझेलमा पर्दै ‘प्रत्यक्ष लोक दोहोरी’

नेपालखोज २०८० माघ २९ गते १०:३८

म्याग्दी (बेनी) । म्याग्दीकी अग्रज कलाकार धनकुमारी थापालाई आजभोलिका मेला, महोत्सव खल्लो लाग्छ । परम्परागत रुपमा लाग्ने मेलाको मुख्य आकर्षण ‘प्रत्यक्ष लोक दोहोरी’ प्रतिपस्र्धा हुने भए पनि आजभोलिका मेला, महोत्सवको रौनकता रेकर्ड भएका गीत सङ्गीतमा सीमित हुन थालेको उनको भनाइ छ ।

म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङसँगै राष्ट्रियस्तरका लोक दोहोरीमा समेत थुप्रै पटक पुरस्कार हात पार्न सफल भएकी ६४ वर्षीया थापाले रेकर्ड भएका सङ्गीतमा गीत गाउने र रेकर्ड गरिएका सङ्गीतको ट्र्याकमा गीत गाउने प्रचलनले नेपाली मौलिक संस्कृतिको रुपमा रहेको प्रतियोगितात्मक प्रत्यक्ष लोक दोहोरी गीत ओझेलमा परेको बताइन्।

उनले चाडपर्वलाई लक्षित गरेर आयोजना हुने मेला, महोत्सवमा परम्परागत लोक दोहोरीको रौनक हराएर जान थालेको गुनासो गरे । उनले भनिन् ‘परम्परागत रुपमा मेला पर्वका सांस्कृतिक कार्यक्रममा प्रत्यक्ष लोकदोहोरी पहिलो प्राथमिकतामा पर्ने गथ्र्यो । लोक दोहोरीलाई धेरैले रुचाउने गर्थे । ‘ दोहोरी गाउने कलाकारले मेला पर्वबाटै आफ्नो प्रतिभा प्रस्फुटन र पहिचान गर्ने अवसर पाउने गरेकोमा पछिल्लो समय लोक दोहोरी गाउने र वाद्यवाधन बजाउने सीप हराउँदै गएको अग्रज गायिका थापा बताइन् ।

‘मैले गाउँमा आमाहरुले रोधी गाउँदा गीत गाउन थालेको थिएँ, १५ वर्षको उमेरमा नै तत्कालीन अञ्चलस्तरीय प्रतियोगितामा प्रथम भएको थिएँ, पछि नेपालगञ्जमा भएको राष्ट्रिय प्रतियोगितामा पनि हाम्रो टिम प्रथम भयो, धौलागिरि क्षेत्रका मेलामा थुप्रै पटक पुरस्कार जितेका थियौँ, तर आजभोलि मेला महोत्सवमा स्थानीयस्तरका दोहोरी प्रतियोगिता निकै कम मात्रामा भएको देखिन्छ’, उनले भनिन् । बेनीको माघेसङ्क्रान्ति मेला, गलेश्वरको सतबिज छर्ने मेला, बरङ्जाको धुलेमेला, राखुभगवतीको बडादसैँ मेला र बागलुङको चैतेदसैँमा लोक दोहोरी गीत सुन्न भीड नै लाग्ने गरेको उनको भनाइ थियो ।

प्रत्यक्ष दोहोरीमा माया प्रेम, सदभाव, नाता सम्वन्ध, घरदेखि अन्यका कथा सुनेर मनोरञ्जन लिन टाढा टाढाबाट आएका सर्वसाधारणले दोहोरीका सवाल–जवाफ र घोचपेचलाई छलफल र बहसको विषयसमेत बनाउने गरेको उनले स्मरण गर्नुहुन्छ । तत्कालीन समयमा रेडियो नेपालमा समेत स्वर परीक्षणमा उर्तिण भएकी गायिका थापाले सालैजो, अबिजाले मायाँ, साइलो भाकालगायतका आधा दर्जन बढी म्याग्दी जिल्लालाई चिनाउने गीतसमेत रेकर्ड गरी बाहिर ल्याएका छन् । विसं २०४० को दशकमा म्याग्दीमा थापासँगै कृष्ण पौडेल, बीरबहादुर कार्की, नरबहादुर बिसीलगायतका कलाकारहरु गण्डकी क्षेत्रमै लोकदोहोरी गाउने चर्चित कलाकारको रुपमा परिचित हुनुहुन्थ्यो । बेनी–६ का अग्रज लोक दोहोरी कलाकार कृष्ण पौडेलले प्रत्येक्ष दोहोरी गाउने संस्कृति गाउँबाट लोप हुँदै गएको बताए ।

‘म शिक्षणको क्रममा घर छाडेर अर्मन पुगेपछि दोहोरी गाउन सिकेको हुँ, त्यहाँ टोल टोलमा रोदी बस्ने चलन थियो, रेडियोमा बज्ने गीत सुनेर रोधिमा गाउँदागाउँदै गीतबाट जवाफ फर्काउन सक्ने क्षमता विकास भएको थियो, स्थानीय, अञ्चलस्तर हुँदै राष्ट्रियस्तरका प्रतियोगितामा पनि हामीले धेरै पुरस्कार जितेका थियौँ’, उनले भने ।

प्रतिक्रिया