बिहीबार, वैशाख २७, २०८१

पशु विज्ञानमा विद्यार्थीको आकर्षण

नेपालखोज २०८० फागुन २ गते १३:१९

गलकोट (बागलुङ) । कुनै समय विद्यार्थी भरिभराउ हुने बागलुङ सदरमुकाम नजिकै रहेको धौलागिरि वीरेन्द्र माध्यामिक विद्यालय एक दशकअघि विद्यार्थी अभावमा बन्द हुने अवस्थामा पुगेको थियो । निजी विद्यालयप्रतिको बढ्दो आकर्षणका कारण उक्त विद्यार्थी सङ्ख्या घटेपछि विद्यालयमा विसं २०७३ देखि प्राविधिक धारतर्फको अध्यापन सुरु गरियो ।

प्राविधि धारतर्फ अध्यापन गराउन थालेपछि विद्यार्थीको सङ्ख्या पुनः उकालो लाग्न थालेको विद्यालय प्रशासनले जनाएको छ । अहिले टाढा–टाढाबाट पशु विज्ञान अध्ययनका लागि पढ्न आउनेको स्ङ्ख्यामा वृद्धि भएको विद्यालयका पशु विज्ञान संयोजक डा आशिष सापकोटाले बताए । उनका अनुसार सामुदायिक विद्यालयमा सञ्चालित पशु विज्ञानको पढाइप्रति विद्यार्थीको आकर्षण बढ्नुका साथै निम्न वर्गीय परिवारबाट पनि प्राविधि शिक्षा अध्ययन गर्नेको सङ्ख्यामा वृद्धि भएको छ ।

विपन्न परिवारका छोराछोरीले प्राविधिक धारमा निःशुल्क अध्ययन गर्न पाउने भएपछि छिमेकी जिल्ला म्याग्दीसहित जिल्लाका दुर्गम पालिकाबाटसमेत विद्यार्थी आउन थालेका सापकोटाको भनाइ थियो । विसं २०७३ मा जिल्लामा पहिलो पटक प्राविधिक धारतर्फ पशु विज्ञानमा कक्षा ९ देखि १२ सम्म धौलागिरि वीरेन्द्र माविले अध्यापन थालेपछि अन्य सङ्कायमा पनि विद्यार्थी बढ्न थालेका उनले बताए ।

पहिलो वर्ष १६ जना विद्यार्थीबाट पशु विज्ञानको अध्यापन सुरु गरिएकामा हाल ७४ जना विद्यार्थीले अध्ययन गरिरहेका संयोजक सापकोटाले जानकारी दिए । ‘सबै परिवारका छोराछोरीले प्राविधिक विषय पढ्न सक्दैथ्ये । सरकारले सरकारी विद्यालयमा पशु विज्ञान अध्यापन गराउन थालेपछि जिल्लामा पहिलो पटक यहीँ विद्यालयले अनुमति पाएको थियो’, उनले भने, ‘यहाँ म्याग्दीसहित जिल्लाका दुर्गम पालिकाका विद्यार्थी पनि आउने गरेका छन् । अङ्ग्रेजी माध्यममा पढाइ हुनथालेपछि निजी विद्यालय छोडेर यहाँ आउने सङ्ख्यामा वृद्धि भएको छ ।’

विद्यार्थी अभावमा झण्डै बन्द हुने अवस्थामा पुगेको विद्यालयमा कक्षा १ देखि १२ सम्म तीन सय ५० विद्यार्थी अध्ययन गर्दै आएका छन् ।

म्याग्दीमा पशु विज्ञानको पढाइ नहुने भन्दै आफूले उक्त विषय अध्ययन गर्न चाहेकाले बागलुङमा आएर पढ्न थालेको म्याग्दीको भकिम्ली निवासी कक्षा १२ मा अध्ययनरत सनम सुनारले बताए । ‘पशु विज्ञानमा राम्रो सम्भावना देखेर म्याग्दीबाट अध्ययन गर्नका लागि यहाँका आएको थिएँ’, उनले भने, ‘प्राविधिक धारतर्फ रोजगारीको सुनिश्चितताका साथै स्वदेशमै सम्भावना हुन्छन् ।’

प्रतिक्रिया