आइतबार, जेठ ६, २०८१

नेपालमा मानवीय सहयोग जारी रहन्छ , विपद् पीडितलाई नगदै सहयोग : आइएफआरसी

नेपालखोज २०८० फागुन ३ गते ९:२५

काठमाडौं । बझाङको छबिसपाथिभेरा गाउँपालिका–१ स्थित लक्ष्मी गिरीको गत असोज महिनामा आएको अकल्पनीय भूकम्पले घर ढाल्यो । जीवनको ओत लाग्ने सहारालाई कसरी उठाउने र छ सन्तानलाई कसरी हुर्काउने भन्ने चिन्ताले लक्ष्मीकी श्रीमान्को निधन भयो ।

उनले भने, ‘भूकम्पले घर ढाल्यो । छ छोरीको भविष्य र घर कसरी उठाउने भन्ने चिन्ताले भूकम्प गएको एक महिना नबित्दै जीवनको सहरा श्रीमान् बिते । न जीवनको सहारा रह्यो, न बास । नेपाल रेडक्रसका स्वयंसेवकले त्रिपाल र कम्बल दिए । यसले केही सहयोग पुग्यो । तत्कालै १५ हजार नगद पाएँ । छोरीहरुलाई चिसो छल्न न्यायो लुगा किन्न र खानामा खर्च गरेँ । रेडक्रसले टहरो हाल्न (अस्थायी आवास निर्माण) शौचालय र खानेपानी ट्याङ्की बनाउन सहयोग गर्यो । ।’

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)ले विपद्पछि सङ्कटासन्न समुदायको तत्काल उत्थानका लागि उपलब्ध गराउने नगद सहयोगले समुदायमा सकारात्मक प्रभाव पारेको छ । पछिल्लो समय परोपकारी सस्था आइएफआरसी विपद्पछि सङ्कटासन्न समुदायलाई उत्थान गर्न तत्काल नगद सहयोग गर्ने नीति अवलम्बन गरेको छ । सोही नीतिअनुसार उसले गत वर्षको सुदूरपश्चिम र यस वर्षको कर्णाली भूकम्प पीडितलाई पहिलो चरणमा नगद सहयोग नै उपलब्ध गराएको थियो ।

डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँ केन्द्रविन्दु बनाएर विसं २०७९ कात्तिक २३ गते बिहान ६ दशमलव ६ म्याग्नेच्युड, बझाङको चैनपुरलाई केन्द्रविन्दु बनाएर विसं २०८० असोज १६ गते अपराह्न ६ दशमलव ३ म्याग्नेच्युड तथा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर विसं २०८० कात्तिक १७ गते राति ६ दशमलव ४ म्याग्निच्युड भूकम्प गएको थियो । ती भूकम्पले अकल्पनीय मानवीय एवं भौतिक क्षति पुर्याएको छ ।

नेपाल सरकारको नीति अनुसार आइएफआरसीले नेपाल रेडक्रस सोसाइटी मार्फत डोटी, बझाङ, बाजुरा, रुकुम पश्चिम, जाजरकोट र सल्यान जिल्लाका भूकम्प अतिप्रभावित प्रतिपरिवार अस्थायी आवास निर्माण गर्न ५० हजार, अत्यावश्यक वस्तु खरिद गर्न १५ हजार र शौचालय निर्माण गर्न १५ हजार, पानी ट्याङ्की रु सात हजार गरी जम्मा ८७ हजार प्रदान गरिरहेको छ ।

प्रतिक्रिया