आइतबार, वैशाख २३, २०८१

एकल महिला भन्छन् : रोजगारीका अवसर खै ?

नेपालखोज २०८० फागुन १५ गते ११:०३

टीकापुर(कैलाली) । कैलालीको टीकापुरकी साहुनी बुढाका श्रीमान्को गत वर्ष मृत्यु भयो । कमाइ गर्ने श्रीमान् बितेपछि साहुनीको जीवन दुःखदायी भएको छ । टीकापुरको एकतानगर बस्तीमा बस्ने उहाँको घरमा कमाउने कोही नभएपछि जीवन कष्टकर भएको हो । श्रीमान् बितेपछि साहुनीले बालबच्चाको भोक मेटाउन नसकेर दुई छोराछोरी अनाथाश्रममा राखेका छन् । एक छोरी आफूसँग छिन् । उनलाई खर्च जुटाउन निकै समस्या भएको छ ।

‘मेरो शारीरिक अवस्था कमजोर छ, दिनभरि कडा श्रम गर्नुपर्ने काम गर्न सक्दिनँ, अरु कमाउने कोही छैन’, साहुनीले भने, ‘बच्चा पाल्न सकिनँ, दुई बच्चा अनाथाश्रममा राखेकी छु । एउटा छोरी साथमा छिन्, उनलाई पनि शिक्षादीक्षा दिन समस्या भएको छ । घरमा खानेकुरा छैन ।’

कौशिल्ला कामीका श्रीमान्समेत बितेपछि उनलाई समस्या छ । सत्तरी वर्षकी कौशिल्लाको स्वास्थ्य पनि राम्रो छैन । उनलाई पनि कठिनाइ भएको छ । ‘केही काम गर्न सक्दिनँ, घरमा छोरी छन्, छोरीले पकाएर दिए खान पाउँछु’, उनले भने, ‘रोगले सताएको छ । उपचारमा धेरै रकम खर्च हुन्छ, कुन दिन भोकै मर्नुपर्छ भन्ने पिरले सताउने गरेको छ ।’ एकल महिलामा पनि ज्येष्ठ एकल महिलालाई घरव्यवहार चलाउन, खर्च जोहो गर्न र बालबालिकाका आवश्यकता पूरा गर्न कठिनाइ हुने गरेको छ ।

बाटु कामी पनि शारीरिकरूपमा अशक्त हुँदै गएका छन् । उनलाई पनि सामाजिक सुरक्षा भत्ताले मात्र खर्च धान्न नपुग्दा समस्या भइरहेको छ । उनी सरकारले निःशुल्क उपचार गरिदिएको भए हुन्थ्यो भने । ‘सामाजिक सुरक्षा भत्ता पाउँछु, एक किस्तामा रु आठ हजार पाइन्छ, महिनामा रु दुई हजारसम्मको औषधि खान्छु, त्यो रकमले पुग्दैन’, उनले भने, ‘ममात्र होइन, मजस्ता एकल महिलाका समस्या थुप्रै छन् । श्रीमान्को मृत्युपछि बेरोजगार रहेका सबै महिलालाई घर चलाउन आर्थिक कठिनाइले सताएको छ ।’

छपन्न वर्षीया सरस्वती ओड पनि एकल महिलाका थुप्रै समस्या रहेका बताउनुहुन्छ । सामाजिक सुरक्षा भत्ताको रकमले घर खर्च चलाउन निकै कठिन रहेको, रोजगारी केही नभएकाले समस्या भइरहेको ओड बताए ।

प्रतिक्रिया