प्रतिनिधिसभा : समयमै कानून निर्माण गर्नुपर्नेमा जोड

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्ने सांसदहरु समयमै कानुन निर्माणका साथै समसामयिक विषय उठान गरेका छन् ।
सांसद विमला सुवेदीले राजनीतिक समीकरण परिवर्तन हुँदा सदनको प्राथमिकतामा प्रभाव पार्न नहुने धारणा राखेका छन् । उनले कानुन निर्माणका लागि सदनलाई क्रियाशील बनाउन प्रतिपक्ष सांसदहरुलाई आह्वान गरे । ‘संसद्मा सङ्घीयता कार्यान्वयनका लागि अतिआवश्यक विधेयक प्रवेश गरिसकेका छन् । यस्ता महत्वपूर्ण विधेयक चाँडो टुङ्गोमा पुर्याउनुपर्छ । यस अधिवेशनलाई भरपुररुपमा विधेयक निर्माणमा केन्द्रित गर्नुपर्छ’, उनले भने । सांसद सुवेदीले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन र दीर्घकालीन समाधान गर्न सरकारको ध्यानार्कषण गराए ।
सांसद शिशिर खनालले सडक दुर्घटना नियन्त्रणका लागि सरकारले मौनता साध्न नहुने बताए । उनले पछिल्लो १० वर्षमा १९ हजारभन्दा बढीको मृत्युको कारण सवारी दुर्घटनामा भएको भन्दै यसबाट भएको आर्थिक र मानसिक क्षतितर्फ पनि ध्यान दिनुपर्ने बताए ।
उनले सरकारद्वारा प्रस्तावित राष्ट्रिय सडक सुरक्षासम्बन्धी कार्ययोजना पारित गर्न नसकेको बताए । यस्तै राष्ट्रिय सडक सुरक्षा परिषद्मा आर्थिक अभावका कारण कर्मचारी व्यवस्थापन हुन नसकेकोतर्फ सरकारको ध्यानार्कषण गराए ।
‘पछिल्लो एक दशकमा सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६१ प्रतिशतले बढेको छ । यही अवस्था रहे हरेक वर्ष पाँच हजार जना नेपालीले सडकमा ज्यान गुमाउने छन्’, उनले भने ।
सांसद मेटमणि चौधरीले गुठी विधेयक ल्याउन माग गर्दै स्वर्गद्वारीका किसान केन्द्रसम्म धाउँदा पनि सरकारले गुनासो नसुनेको बताए । उनले झण्डै एक महिनादेखि आन्दोलनरत किसानले सदियौँदेखि भोगचलन गर्दै आए पनि स्वामित्व पाउन नसकेको भन्दै तत्काल गुठी विधेयक ल्याउन माग गरे । यस्तै नेपाल संस्कृत विश्वविद्यालयका नाममा अनियमितता भइरहेकोबारे सरकारको ध्यानाकर्षण गराए ।
सांसद अब्दुल खानले देशभित्रको चरम निराशालाई निराकरण गर्न नसकिरहेको बताए । ‘कतै पहिचानको, कतै सीमाङ्कनको समस्या अझै जरो गाढेर बसिरहेको छ । हामी त्यसतर्फ ध्यान दिइरहेका छैनौँ’, उनले भने, ‘शिक्षा, स्वास्थ्यमा अर्बौं रकम बराबरको पुँजी पलायन भइरहेको छ । यसतर्फ सरकारले अल्पकालीन र दीर्घकालीन योजना देखिएको छैन ।’ उनले देश आयातमुखी बन्दै गएकोप्रति चिन्ता प्रकट गर्दै उद्योग व्यवसायीमा बढ्दो निराशाप्रति सरकारले चासो व्यक्त गर्नुपर्ने बताए ।
सांसद रामप्रकाश चौधरीले ठाउँठाउँमा निषेधित क्षेत्र तोक्नुले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता कुन्ठित भएको बताए । उनले देशभित्र ‘स्पीकर कर्नर’को व्यवस्थापन गर्न माग गरे । सांसद प्रेम सुवालले स्वर्गद्वारी गुठीपीडित किसानको समस्या समाधानतर्फ ध्यानकेन्द्रित गर्न सरकारसँग माग गरे । उनले अन्धविश्वासका कारण हुने अपराध नियन्त्रण गर्न सरकार अझै पनि चुकिरहेको गुनासो गरे ।
प्रतिक्रिया