बुधबार, जेठ ९, २०८१

स्थानीय पाठ्यक्रमको महत्व र लक्ष्य

डा दीपेन्द्र रोकाया २०८१ वैशाख २३ गते १३:२६

काठमाडौं । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा गएसँगै ७५३ स्थानीय तह छन् । उनीहरुले १०० पूर्णाङ्कको एउटा स्थानीय पाठ्यक्रम निर्माण गर्न पाउने संवैधानिक अधिकार पाएका छन् । कक्षा १ देखि ८ कक्षासम्मका लागि पढ्ने पाठ्यक्रम कसरी बनिरहेको छ रु वा के अभ्यास भइरहेको छ रु जान्न आवश्यक छ ।

स्थानीय पाठ्यक्रम आवश्यक छ रु केही समयअघि हुम्लाको सर्केगाड र चैतको पहिलो साता अदानचुली गाउँपालिकामा पुग्ने क्रममा स्थानीय पाठ्यक्रमविज्ञ, स्थानीय पालिकाका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रध्यानाध्यापक र विशेष कक्षा शिक्षकशिक्षिकासँग अन्तरक्रिया गर्ने अवसर मिल्यो ।

अहिलेसम्म हामीले पढ्ने पुस्तक काठमाडौंमा काठमाडौंकै विज्ञद्वारा देखिएको प्राथमिकतामा लेखिएका र प्रकाशन भएका हुन्थे । तिनका बारेमा हामीले प्रश्न गर्ने ठाउँ थिएन । निर्धारित पाठ्यक्रम पढ्नु हाम्रो कर्तव्य थियो । शिक्षकहरुले पढाउनु पर्दथ्यो र पढाउनु हुन्थ्यो । हामीले पढिरहेका विषयवस्तु जस्तै परिवेश, प्रकृति, प्रविधि, चाडवाड, संस्कार, संस्कृति, व्यक्तित्व, उद्यम, उत्पादन आदि यहाँका पनि थिए तर यिनको बारेमा कहिल्यै चर्चा हुँदैनथ्यो ।

यसअघि आमाको काखमा बसेर सिलोक सुन्दै लिएको शिक्षाको गणना भएको थिएन । बुबा तथा दाजुहरुले हाट र भोट तथा खर्क जाँदाका अनुभव सुनाएका ज्ञानलाई पढाइसँग जोडिएकै थिएन । गाउँघरका सीप र संस्कारले प्रचार हुने मौकै पाएनन् । पाठ्यक्रम विकास केन्द्रमा न पहुँच थियो, न यहाँका सिद्धहस्त लेखक थिए । यसैले स्थानीय ज्ञान र सीपबारे प्रकाशनमा आएको थिएन । सङ्घीयताले त्यो अवसर दिएको छ । दिगो विकास लक्ष्यले पनि स्थानीयकरणमा जोड दिदै आएको छ । यसैले स्थानीय सरकार पाठ्यक्रम निर्माणमा लागिरहेको देखियो ।

प्राथमिकता केमा दिने रु खास कुरो यसमा छ । जहाँ आफ्नो आवश्यकता महसुस गर्न सकिदैन, त्यहाँ प्राथमिकता निर्धारण गर्न सकिदैन । समाजमा आवश्यकताहरु अनगिन्ती हुन्छन् । आवश्यकताहरुलाई प्राथमिकीकरण गर्न सके मात्र सही समयमा सम्बोधन गर्न सकिन्छ। सम्बोधनको माने सम्पादन हो । अझ स्पष्ट रुपमा भन्नु पर्दा काम गर्न सकिने हुन्छ । प्राकृतिक स्रोत र सम्पदा हुनुले यहाँ गाउँ बस्ती बसेको हो ।

यसैले तिनको बारेमा खोजीनीति हुनु पर्छ । यहाँ बस्ती हुनुले सामाजिक रहनसहन बनेका छन् । तिनको जानकारी दिनु पर्छ । समाजलाई धर्म, संस्कृति र चाडपर्वले एकतामा ल्याएको छ । त्यसको गहिरो प्रभाव सबैमा परेको हुन्छ । यसले नजिकको अनुभूति दिने गर्छ । बाँच्नका लागि पेशा व्यवसाय गर्नै पर्यो । विभिन्न प्रविधि अपनाउनै पर्छ । तिनको खोजी र लेखाजोखा हुनपर्छ । जसका आधारमा उत्पादन हुन्छ । उपभोग गर्ने पनि विभिन्न तौरतरिका छन् । विशेष पहिरन छन् । तिनको महत्व छ । त्यो पनि खोजीको विषय बनाउनु पर्छ ।

आफ्नो गाउँ बस्ती कस्तो ठाउँमा छ र सम्भावित विपतको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा पनि सोच्न आवश्यक छ । एवं प्रकारले प्राकृतिक वनस्पति, जडीबुटी र जैविक विविधताको बारेमा जान्न आवश्यक छ । आफ्नो गाउँठाउँको बारेमा यस्ता कुरा जानकारी नभएको व्यक्तिले बाहिर कसरी समृद्ध परिचय दिन सक्छ र रु यसैले आवश्यकताको पहिचान गर्न र प्राथमिकता छनौट गर्न सक्नु पर्छ ।

पढाइ र परिक्षाको प्रभाव कस्तो हुन्छ रु पढे लेखेकालाई थाहा हुन्छ । दुबै पालिकामा भएको छलफलमा आफ्नो आवश्यकता, प्राथमिकता र आफ्नो पहिचानका बारेमा कुराकानी भयो । लफल र अवलोकनबाट के पाइयो भने सबै गाउँ–ठाउँले आफ्नो इतिहासको बोध गराउन चाहेको देखियो । वर्तमानको चाहना प्रस्ट्याउन खोजेको अनुभूति भयो । यसले भविश्यको आँकलन गर्न सहज हुन्छ । अहिले पाठ्यक्रमको विषयसूची खोजीरहेका छन्, भोलि त्यसको लेखन भएर पठनपाठन हुँदा स्थानीय गाउँठाउँ जिउँदो जाग्दो हुनेछ । यस पाठ्यक्रममा उत्तीर्ण भएका विद्यार्थीले दिने परिचय र भास्य पक्कै नयाँ हुनेवाला छ । अक्षरको ताकत कति हुन्छ रु अक्षरसँग खेल्नेहरुलाई थाहा हुन्छ ।

आफ्नो गाउँबस्तीलाई जिउँदोजाग्दो बनाउन हरेक जेष्ठ नागरिकलाई अनुभव बैँकको रुपमा लिएर उनको जीवनी र अनुभव लेख्ने अभियान चलाउन आवश्यक देखिन्छ । यिनै सामग्रीले स्तरीयताको आधारमा भोलि भौगोलिक रुपमा प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पहुँच पाउन सक्छ । अहिले विश्व एक गाउँ बनेको बेला प्रभाव विस्तार गर्न सक्ने हो भने सबै ठाउँ केन्द्र बनाउन सम्भव छ । सर्की देउ र फुचा, रोडिकोट, गोठी हुँदै बगेर आउने खोला ठुलो भएकाले तर्न गाह्रो हुँदा गार भनिने कुरालाई जोडेर पहिले सर्कीगार भनिएको कुरा लेख्नेहरुकै कारण सर्केगाड लेख्ने गरिएको छ । सङ्घीयतापछि सर्केगाड गाउँपालिका नामाकरण गर्नुका साथै पालिका केन्द्र पनि यहीँ राखिएको छ । यो पालिका जिल्लाकै केन्द्र भागमा पर्दछ ।

कैलाश पर्वतमालाको दक्षिणी भाग सर्केगाडको सल्लीसल्लासम्म फैलिएको छ । कर्नाली नदी पनि यहीँसम्म दक्षिण पूर्व भएर बग्दछ । सल्लीसल्लाको माथि जैर गाउँले कैलाशको जरोको रुपमा परिचय दिन खोजेको छ । मेथाले तीर्थस्थलको रुप खोजी रहेछ । दशरा मेलाले रामायणकालीन इतिहास खोज भनीरहेको छ । तुम्चको देवलले मल्ल राजाहरुको कला संस्कृतिको डोब देखाइरहेको छ । रिपले लाखापानी, मालिका तीर्थ र तामा तथा क्वार्जको खानी देखाइरहेको छ । उनापानीले तातोपानी खोला, गुसाल्या बस्ती र सात सर्की उत्पन्न भएको कथा सुनाइरहेको छ । रिप र उनापानीले भूस्वको रमाइलोपन बयान गरिरहेका छन् ।

सायाँले कर्नाली थुनेको ठेली, नाइती सल्ली तथा प्रशासकीय केन्द्र हुनुको जानकारी दिइरहेको छ । गोठीले तल्छरी, पोख्री पाटन तथा शिक्षाको जग हालेको इतिहास खोज्न लगाइरहेको छ । बराइले यहाँको उत्पादनले पाएको महत्व, नाप्ल्या थाप्ल्या र देवाकाँधको महत्व दर्शाइरहेको छ । रोडिकोटले रोजेर बसेको कोट, शेराको जिउलो र भीमसेनले हाम फालेको फटकाल्ना चिनाइरहेको छ । सायाँ, गोठी, रोडिकोट र छ्यागीका ठकुरी बस्तीले गौरा पर्वको जानकारी दिइरहेका छन् ।

रादेउले महादेउ, रादेउ, झादेउ, झ्यारानी झ्या गवाला र हिल्साको इतिहास सुनाइरहेको छ । दुधेदह, भीउदूलो, छिन्ट्या ढुङ्गो, न्यारी चौर, हलाजु–डब्टीको हल गोरुको कथा भनिरहेको छ । भोराबाडा उत्तनुको नालीबेली सुनाइरहेको छ । बाइथला, दानीखोला र फुचिलो धनको कथा फुचाले सुनाइरहेको छ । थपाल्या ब्यासी समुदायले नयाँ वर्षको रुपमा मान्ने गरेको भूवो, नयाँ वार्षिक कार्यक्रम सार्वजनिक गर्ने दिनको रुपमा रहेको हरेलो र साउनपुनी पर्वको जानकारी दिइरहेको छ ।

तीनखुट्टे ओदान जस्तै चुलीलाई ओदानचुली भन्ने गरिन्थ्यो । लेख्नेहरुले अदानचुली लेखेका कारण सङ्घीयतापछि अदानचुली गाउँपालिका नामाकरण भएको छ । यहाँ छ वटा वडा रहेका छन् । कल्ख्याले कपिलदेव ऋषिले तपस्या गरेको धनगुफा, भाँड कुक्का र मुन्ट्याचौरको महिमा सुनाएको छ । श्रीनगरले यहाँको पोखरी बगेर गल्वा भएपनि राई ढुङ्गो हुनुले प्रशासकीय केन्द्र भएको र केही पुरातात्विक सामग्री पाइने जानकारी दिएको छ ।

रोकायाबाडाले अधिकांश सङ्घ–संस्थाको केन्द्र र काल्या देउको प्रभाव सुनाएको छ । लौठीले जोतिषी कार्य, विगोठीको हिल्सा र महादेवले तातो तेल पिएको कथा सुनाइरहेको छ । बारीगाउँले प्राकृतिक सम्पदाको रुपमा रहेको जल, जमीन, जङ्गल र जडीबुटीको स्रोत, यस क्षेत्रका धामीहरुले छापविदो लिने कालिका थान, नौमुली झरनाको व्यवहार, खौला लेकमा कङ्कसुर दानवको क्षतविक्षत् शरिरको जानकारी दिइरहेको छ । पाल्सले जहाँबाट आएपनि पालिन बस्ने ठाउँको परिचय, मुन्या लेकको कहानी, कहीँ नभएको होचो वनस्पति बाउवीर्या रुख र चोख्या पर्वको महिमा सुनाइरहेको छ ।

यस्तै विभिन्न पैकेलाहरुको कथा सुन्न बाँकी छ । सर्केगाडमा देवपुरी हुम्ला र अदानचुलीमा गल्बा दरा लेख्नपर्ने देखियो । खोजबिन गर्ने हो भने नलेखिएका इतिहास पाइने देखियो । के यस बारेमा लेख्न र अनुसन्धान गर्न तयार हुनुहुन्छ रु ‘कपी एण्ड पेस्ट’ गरेर लेख्ने र शोध गर्ने परम्परा अन्त्य गर्न विश्वविद्यालय र शोधकर्ताको ध्यान यतातिर तान्न ढिलो भइरहेको छ । विश्वको गन्तव्य नेपाल र नेपालको गन्तव्य कर्नाली बनाउँदै गर्दा कर्नालीको गन्तव्य सबैले आ–आफ्नो गाउँपालिका र गाउँ बनाउन लगाउनु पर्छ ।

यो धुवाँ नआउने पर्यटन उद्योगबाट फाइदा लिन सबैले आफ्नो गाउँठाउँको सही, सत्य जानकारी दिन सक्नुपर्छ । त्यसलाई स्थानीय पाठ्य सामग्रीमा समेट्न आवश्यक छ । यसले आधारभूत रुपमा नैतिकता, मानवीयता, भाषा, कला, संस्कृति र कानुनको समेत आधारभूत ज्ञान दिन सक्नुपर्छ । कक्षा ८ पढ्दासम्म कम्तीमा १०८ वटा विषय क्षेत्रका बारेमा ज्ञान र सीप पाएको हुनुपर्छ । कक्षा तीनसम्म आमा कक्षा, पाँचसम्म समाज कक्षा र आठसम्म आधार कक्षा बनाउन सके असमान पढाइ समान प्रतिस्पर्धामा उत्रनपर्ने अवस्थालाई सहज बनाउन सकिन्छ । सबैलाई चेतना भया । (लेखक नेपाल विकास अनुसन्धान प्रतिष्ठानका सदस्य हुन्)

प्रतिक्रिया