शान्ति प्रक्रियाको जग : सिक्लेस

गण्डकी । ‘तुल, ब्यानर र झण्डाले गाउँ नै राताम्मे थियो, तत्कालीन जनमुक्ति सेनाले पहरा दिएको थियो’, शिक्षक गेहेन्द्र गुरुङले विगत सम्झँदै भने, ‘सिक्लेस गाउँमा माओवादी शीर्षनेता शिविरमा बसेका थिए । ‘यो विसं २०६३ जेठको अन्तिम साताको कुरा हो । कास्कीको उत्तरपूर्वी गाउँ सिक्लेसमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को केन्द्रीय प्रशिक्षण चलिरहेको थियो ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाबुराम भट्टराईलगायत उच्च तहका नेताहरु प्रशिक्षणमा सहभागी थिए । ‘अध्यक्ष दाहाललगायत नेताहरू अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको भवनमा बस्नुभएको थियो, अन्य नेता, कार्यकतासहित समाजघरमा बाँडिएर बसेका थिए’, शिक्षक गुरुङले भने । माओवादी र तत्कालीन सात राजनीतिक दलबीच विसं २०६२ मङ्सिरमा भएको १२ बुँदे समझदारीपछि शान्ति प्रक्रियाको जग बसेको ठानिए पनि दुईपटकसम्म भएका शान्तिवार्ता असफल भएका थिए ।
तथापि १२ बुँदे समझदारीलाई निष्कर्षमा पुर्याउन माओवादी र सात राजनीतिक दलका नेताहरू प्रतिबद्ध थिए । नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले माओवादीसँगको वार्तालाई सघन रूपमा अगाडि बढाइरहेको थियो । सोही सिलसिलाको एउटा महत्त्वपूर्ण कडीका रूपमा लिने गरिन्छ सिक्लेस वार्तालाई । अध्यक्ष दाहाल भूमिगत जीवनबाट पहिलोपटक सिक्लेसमा सार्वजनिक गरेका थिए ।
हेलिकप्टर लिएर सिक्लेस पुगेका तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलासहितको सरकारी वार्ता टोली र माओवादी अध्यक्ष दाहालसहितका नेताबीच पर्यटकीय गाउँ सिक्लेसमा विसं २०६३ जेठ २८ मा भेटवार्ता भएको थियो । अध्यक्ष दाहाल र नेता भट्टराई त्यसको दुई दिनअघि नै सिक्लेस पुगेका थिए । जेठ २८ को सिक्लेस वार्ता नै दशवर्षे द्वन्द्वको बैठान र शान्तिको प्रस्थानबिन्दुका रूपमा चिनिन पुग्यो । सिक्लेस वार्ताको सफलतापछि माओवादी अध्यक्ष दाहाल र बाबुराम भट्टराई विसं २०६३ असार २ गते बालुवाटारमा सार्वजनिक गरेका थिए ।
प्रतिक्रिया