वैदेशिक रोजगारमा जाने श्रमिकहरूले अत्यन्त महँगो दरमा हवाई टिकट खरिद गर्नु परेको छ – कर्णराज कटुवाल

काठमाडाैं । वैदेशिक यात्रामा जाने नेपाली श्रमिकहरूले हवाई टिकट महँगो तिर्नु परेको नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका सचिव कर्णराज कटुवालले बताएका छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका सचिव कटुवालले भनेका छन – नेपालबाट वैदेशिक रोजगारमा जाने श्रमिकहरूले अत्यन्त महँगो दरमा विदेश जाने हवाई टिकट खरिद गर्नु परेको र हवाई कम्पनीहरूले दिनदिनै भाडा वृद्धि गरी रहेकोले यस विषयमा ध्यानाकर्षण गराउँदछु । नेपालबाट वैदेशिक रोजगारीमा युएई लगायत खाडीका राष्ट्रहरूमा जाने श्रमिकहरू न्यून आय भएका श्रमिक रहेको उनले बताएका छन् ।
न्यून आय भएका श्रमिकहरूले महँगो दरमा हवाई टिकट काट्नु पर्दा उनीहरूलाई काममा लिने रोजगारदाताले हवाई टिकट नपठाउने, टिकट काट्न आनाकानी गर्ने जस्ता समस्या देखिएकाले श्रमिकहरूको लागी सुलब दरको टिकटको व्यवस्था गर्न पनि कटुवालको माग छ । सचिव कटुवालका अनुसार युएई बाट नेपाल फर्किनु पर्दा लगभग २०/२२ हजार मा हवाई टिकट पाइन्छ तर नेपाल बाट युएई लगायत अन्य देश जान ५५/६५ हजार तिर्नु परेको छ यस्तो विषय मा सम्बन्धित निकायको ध्यान जानू अत्यन्तै जरुरी छ ।
अति न्यून आय स्तर भएका नेपाली श्रमिकहरू वैदेशिक रोजगारीमा जाने हुँदा अधिकांश हवाई कम्पनीहरूले पानी तथा खाना उपलब्ध नगराउने भएकाले ५ देखि ८ घण्टा सम्म श्रमिकहरूले भोक–भोकै यात्रा गर्नु पर्ने बाध्यता छ । यसरी यात्रा गर्दा श्रमिकको स्वास्थ्यलाई सम्म गम्भीर असर परिरहेको हुँदा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई खाना तथा पानीको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई पहल गर्न कटुवालले बिशेष अनुरोध गरेका छन्। नेपाल बाट दैनिक रूपमा करिब १५०० जना वैदेशिक रोजगारमा जाने गरेका छन् ।
वैदेशिक रोजगारमा जाने कामदारको माग र भिसा आएका आधारमा केही सीमित ट्राभल एजेन्सीको मिलेमतोमा कृत्रिम अभाव खडा गरी अस्वाभाविक ढङ्गबाट टिकटको मूल्य वृद्धि गरेर श्रमिकहरू लाई दुख दिने गरेको सचिव कटुवालको आरोप छ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका सचिव कर्णराज कटुवालले टिकट सिन्डिकेट गर्ने र नियमित रूपमा पाउने टिकटको दोब्बर टिकटमा कामदार जान बाध्य भएकाले उक्त कालो बजारीलाई रोकेर सस्तो र सुलभ एवम् नियमित टिकटको मूल्यमा कामदार जान पाउने व्यवस्था गर्न समेत माग गरेका छन् ।
सचिव कर्णराज कटुवालले अनियन्त्रित रूपमा हवाई भाडा वृद्धि गरिने कार्यलाई नरोके वैदेशिक रोजगारीको अवसर गुम्ने र यसले विदेसी मुद्राको सञ्चिति र राष्ट्रिय अर्थतन्त्रमा समेत नकारात्मक असर पर्ने कुरामा पनि सम्बन्धित निकायहरुलाई सचेत गराएका छन् ।
प्रतिक्रिया