बङ्गलादेशमा पत्रकाहरुमाथि आक्रमण

काठमाडाैं । बङ्गलादेशमा पत्रकाहरुमाथि आक्रमण को समाचार वेबसाइट डेली स्टारका अनुसार अगस्ट १४ मा केही व्यक्तिले चटगाउँ प्रेस क्लबमा आक्रमण गरेका थिए । आक्रमणकारीहरु क्लबको मुख्य ढोकाको ताला तोडेर भित्र पसेका थिए, तोडफोड गरेका थिए भने केही पत्रकारलाई कुटपिट गरेका थिए । उक्त घटनामा कम्तीमा २० जना पत्रकार घाइते भएका थिए । क्लबका अध्यक्ष सलाहुद्दिन रेजाका अनुसार आक्रमणकारीहरुको संख्या ३० देखि ४० जना थियो ।
उनका अनुसार आक्रमणकारीहरूको नेतृत्व बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)सँग सम्बन्धित व्यक्तिहरूले गरेका थिए। पछि सेनाको टोलीले पत्रकारहरुको उद्धार गरेको थियो । बंगलादेशमा जारी हिंसामा यसअघि पनि धेरै पत्रकारलाई निशाना बनाइएको थियो । अन्तर्राष्ट्रिय संस्था रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ)ले अगस्ट ९ मा नै विज्ञप्ति जारी गर्दै पत्रकारहरुको सुरक्षा गर्न बंगलादेशको अन्तरिम सरकारसँग आग्रह गरेको थियो ।
आरएसएफका अनुसार त्यतिन्जेलसम्म पाँच पत्रकारको ज्यान गइसकेको थियो भने २ सय ५० जना पत्रकार घाइते भइसकेका थिए र नौवटा टिभि च्यानलमा आक्रमण भइसकेको थियो। त्यसबेला आरएसएफले प्रहरी र पूर्व प्रधानमन्त्री शेख हसिनाका समर्थकलाई यी आक्रमणका लागि जिम्मेवार ठहर गरेको थियो ।
आरएसएफका अनुसार यी आक्रमणहरु संगै थप कुनै प्रतिशोधात्मक आक्रमण हुनु हुँदैन । हसिना संग सम्बद्ध आरोपको निशाना पत्रकारहरुलाई बनाइनु गलत हो । ‘भेदभाव विरोधी विद्यार्थी आन्दोलन’ को ब्यानरमा देशभरका आन्दोलनरत विद्यार्थीले ५१ पत्रकारको सूची सार्वजनिक गर्दै राष्ट्रिय प्रेस क्लबबाट प्रतिबन्ध लगाउन माग गरेका छन् । विद्यार्थी र जनतामाथि हिंसा भड्काएकाले यी पत्रकारहरुलाई कारबाही गर्नु पर्ने माग उनिहरुको छ । बंगलादेशी वेबसाइट बीडीन्यूज २४ का अनुसार यहि दबाबमा एकत्तोर टिभी नामक मिडिया कम्पनीले दुई वरिष्ठ पत्रकारलाई बर्खास्त गरेको छ । विद्यार्थी आन्दोलनका संयोजक अब्दुल कादिर अब्दुल हनान मसूदले प्रेस क्लबलाई पठाएको पत्रकारको सूचीमा यी दुई पत्रकारको पनि नाम रहेको वेबसाइटले जनाएको छ । विद्यार्थी नेताहरुले यस्ता पत्रकारहरु माथि प्रतिबन्ध लगाउन माग गरेका छन् भने पत्रकारहरुले यसलाई असहिष्णु तथा प्रेस स्वतन्त्रता बिरोधि कदम बताएका छन् ।
बंगलादेशमा पत्रकारहरुमाथि भएको आक्रमणको विरोधमा भारतिय राज्य त्रिपुराको अगरतलामा पनि प्रदर्शन भएको छ । इन्डियन एक्सप्रेसका अनुसार त्यहाँ १० वटा मिडिया कम्पनीका पत्रकारहरुले अगरतला प्रेस क्लब अगाडि काल पट्टि बाँधेर विरोध जनाएका थिए । अगरतला प्रेस क्लबका अध्यक्ष जयन्त भट्टाचार्यले बंगलादेशका धेरै पत्रकारको नाममा पनि पक्राउ पुर्जी जारी भएको बताएका छन् ।
प्रतिक्रिया