आध्यात्मिक आँखाबाट ‘हेर्ने कथा’ हेर्दा
प्रकाशलाई करिब ३५ वर्षपछि उनको परिवारसँग भेट गराइन्छ–बडा बम्बईया फिल्मी फर्मुला लगाएर । अब फिल्मी शैली अपनाएपछि त बेला बेलामा दर्शक हाँस्छन्, रुन्छन्, स्वाभाविक हो । हाम्रा रियालिटी सोहरूमा पनि स्क्रीप्टेड संवेदनाको वर्षा देख्न पाइन्छ, जहाँ स्टेजमा रुवाबासी नै चल्छ ।
परिवार भुलिसकेको, विवाह नगरेको, नपढेको, आफ्नो उमेरसमेत थाहा नपाएको प्रकाश करिब करिब सांसारिक मोहबाट मुक्त भइसकेका थिए । यो मानिसलाई फकाई फुल्याई फेरी उही पारिवारिक अट्याचमेन्टको दलदलमा किन होमेको ? एक्लै हिमालको काखमा स्वाभाविक गतिमा जीवन चलाई रहेको प्रकाशको मनको शान्त तलाउमा पारिवारिक मोहको पीडामय ढुङ्गा किन फालेको ? उसलाई किन रुवाएको ?
यो मेरो निजी धारणा हो, जुन स्वयं प्रकाशको भावनासँग मेल नखान पनि सक्छ । मेरो आध्यात्मिक चेतले के भन्छ भने–
गोरखाको उच्च हिमाली काखमा एक्लै बिन्दास बिताई रहेका थिए, प्रकाश । काठमाडौँबाट मित्रहरूले मोबाइल फोनदेखि पोसाकसम्म ल्याईदिदा रहेछन् । क्यारेम खेलेर बसिबियाँलो गर्ने मजाका मित्रहरू पनि रहेछन् । उनले बाबु–आमा र अन्य आफन्त सबै भुली सकेका रहेछन् । खानपिनको पक्कै दुःख थिएन नै भन्ने उनको शरीर हेरेरै बुझिन्छ । कर्म त सबैले गर्नपर्छ, एक्लो होस् या परिवारसँग ।
एउटा मानिसको जीवनमा मुक्तिको उच्चतम अवस्था भनेको पारिवारिक मोह र सम्बन्धका जन्जालहरूबाट मुक्त हुन सक्नु हो । मेरो बा, मेरी आमा, मेरो भाइ, मेरो दाइ, मेरी बहिनी, मेरी स्वास्नी आदि आशक्तिमा रहुन्जेल मोहको यो क्षणिक आनन्दले अन्ततः दुःखमै होम्ने हो ।
‘यह दुनिया अगर मिल भी जाए त्यो क्या है ?’ –चलचित्र ‘प्यासा’को गीत
प्रकाशले परिवारलाई भेटे, अदभूत मिलनको क्षणले सबैलाई भावुक बनायो । हुनसक्छ, बा–आमा, दिदी, भाइहरूको आग्रहमा अब उनले बिहे गर्लान् । बालबच्चा पाउलान् । अनेक आयामी सांसारिक झमेला त त्यसपछि पो सुरु हुनेछ ।
श्रीमती र सन्तान भएपछि के कति झमेला भोग्नुपर्छ, भोग्नेलाई थाहा छ । एक्लो जिउनुको महत्वबोध नहुनेहरू नै पारिवारिक मोहमा फस्छन् र जीवनभर रुन्छन् । प्रकाशलाई फेरी उही सांसारिक उहापोहमा होम्ने गरी रुन किन बाध्य पारियो ? भन्ने मेरो आध्यात्मिक कोणबाट ओतप्रोत प्रश्न । अन्यथा नठानियोस् ।
प्रकाशको भलो होस्, झापातिर गएको बेला विद्या चापागाईँजीको ध्यान यसो गिरीबन्धु टिस्टेटतिर पनि सोझियोस् । धन्यवाद ।
प्रतिक्रिया