शुक्रबार, वैशाख ७, २०८१

कोरोनाको त्राससँग जुझ्न इच्छाशक्तिको आवश्यकता

रुपा देवी थापा २०७८ वैशाख २५ गते २०:११

“एकबारको मनुष्य चोला, घरीघरी कहाँँ पाईन्छ र ! एक दिन मर्नु त छ नै, हरेस खानुहुन्न” भन्ने जस्ता उक्तीहरू हाम्रो नेपाली समाजमा व्याप्त छन् । हुन पनि हो, जीवन यात्रा सँधै सहज र सरल कहाँ हुन्छ र ! जीवन भोगाईका क्रममा अनगिन्ती सहज, असहज परिस्थितीहरू आई नै रहन्छन् । कोही त्यसलाई जीवनमा आइरहने ‘नियमित आकस्मिकता’ को रुपमा लिन्छन् त कोही भाग्यको खेला सम्झन्छन् । जीवनमा यस्ता दुर्घटना कसले चाहन्छ र ! तापनि बेलाबेला आइपर्ने यस्ता अनिच्छित दुर्घटनाहरू जीवनमा हुने वास्तविकताका एक अंश हुन् । कोही यस्ता अनिच्छित घटनाहरूबाट आत्तिन्छन् र भागिरहन्छन् । कोही यसलाई स्विकार गर्छन् र सामना गरेर अगाडि बढ्छन् । यस्ता कयौँ उदाहरणीय ब्यक्तित्वहरू पनि छन्, जसले संसारमा अशक्त भएर होईन सशक्त भएर बाँच्नुपर्छ भन्ने सन्देश दिएका छन् । अहिले कोभिड–१९ को महामारीले पुरै विश्वलाई थिलथिलो पारेको छ । मै हुँ भन्ने महाशक्तिहरूलाई थरथर काँप्ने बनाएको छ । नेपाल पनि यस महामारीबाट अत्यन्तै प्रभावित बनेको छ । यो महामारीबाट भागेर जानसक्ने स्थान कतै छैन । अहिलेको भयावह अवस्थासँग जुझ्न व्यक्तिको इच्छाशक्तिले कसरी सकारात्मक भूमिका खेल्न सक्छ भन्नेबारे सोँच्नु जरुरी छ । यस्ता घटनासँग सामना गर्न इच्छाशक्तिलाई सशक्त ढंगबाट उपयोग भएका केही घटनाहरूबारे प्रकाश पार्नका लागि यस लेख तयार पारिएको हो ।

जटिल परिस्थिति, असामान्य अवस्थाबाट छुटकारा पाउन वा त्यस्तो परिस्थितिलाई जित्नको लागि व्यक्तिको अन्तरहृदयबाट उत्पन्न हुने एक अदम्य साहस नै इच्छाशक्ति हो । इच्छाशक्तिलाई व्यक्तिको अन्तरनिहीत आत्मविश्वाश, दृढविश्वास वा दृढसङ्कल्पको रुपमा लिन सकिन्छ । इच्छाशक्ति धेरथोर सबैमा हुन्छ । कसैले यसलाई कठिनाईका समयमा भरपुर उपयोग गर्दछन् । कसैले यसलाई उजागर गर्न सक्दैनन् । प्रवल इच्छाशक्ति भएका व्यक्तिको समाजमा जीउने तरिका नै अरुकोभन्दा केही अलग हुन्छ । उनीहरूले आपूmलाई सँधै उदाहरणको रुपमा प्रस्तुत गरिरहेका हुन्छन् । उनीहरूको जीवनमा कठिनाई, जटिल परिस्थितिले खासै असर पार्न सक्दैन, किनकी उनीहरूको जीवनप्रतिको दृष्टिकोण नै अरुको भन्दा अलिक भिन्न हुन्छ । यस्ता व्यक्तिहरू साहसी, निडर हुन्छन् र आफ्नो कर्मपथमा धैर्यताका साथ लागिरहन्छन् । जीवनको साक्षात भोगाई र अनुभवले यस्ता व्यक्तिहरूलाई खार्दै लगेको हुन्छ । संसारमा त्यस्ता थुप्रै व्यक्तिहरूले कोभिड–१९ को महात्रासयुक्त सङ्क्रमणलाई सहजै जित्न सफल भएका छन् । विभिन्न संचार माध्यममा उनीहरूको घटनाबारे सुन्दा या पढ्दा यस्तो अवस्थाबाट पार पाउन उनीहरूको आत्मबल र इच्छाशक्तिले महत्वपूर्ण भूमिका खेलेको बुझ्न सकिन्छ ।

सत्यपथका यात्री, नैतिकताका प्रवल पक्षधर अनि मानवताका पुजारी महात्मा गान्धी भन्छन्, ‘व्यक्तिको शक्ति शारीरिक क्षमताबाट आउने कुरा होईन, त्यो त उसको अदम्य इच्छाशक्तिबाट पैदा हुन्छ’ । त्यस्तै, विश्वप्रसिद्ध मुक्केबाज मोहमद अलिले आफ्नो अन्तरवार्तामा ‘जित्नु भनेको आफ्नो सीप र कौशलको कुरा मात्र होईन, यसमा इच्छाशक्तिको ठुलो हात हुन्छ’ भनेर भनेका छन् । अमेरिकी सामाजिक मनोवैज्ञानिक रोय बउमेईष्टर र न्यूयोर्क टाईम्सका पत्रकार जोहन् टिएर्नीले उनीहरूको प्रख्यात पुस्तक Willpower: Rediscovering the Greatest Human Strength मार्फत् ‘इच्छाशक्तिले नै व्यक्ति स्वयं अनि उसको समाजलाई परिवर्तन गराउँछ’ भन्ने अवधारणाको वकालत गरेका छन् । इच्छाशक्तिलाई साँच्चै नै मानिसले उर्जाशक्तिमा बदल्न सक्यो भने जीवन उपयोगी बन्नसक्ने केही उदाहरण हाम्रो मुलुकमा पनि प्रसस्तै छन् । तीमध्ये केही ज्वलन्त उदाहरण प्रस्तुत गर्न चाहन्छु ।

उदाहरण १ :
गठ्ठाघर, भक्तपुरमा २०४७ सालमा जन्मेकी सृस्टि केसी सोह्र वर्षको उमेरमा विद्यालय पढ्दैगर्दा उनको दुवै आँखामा सुरु भएको सामान्य एलर्जीले समस्या पैदा भयो । पछि गएर जलबिन्दुको कारणले पूर्ण दृष्टिविहिन भएकी उनको प्रवल इच्छाशक्तिका कारण हासिल गर्न सकेको प्रगति अहिलेका युवा पिडीका लागि अनुकरणीय उदाहरण बन्न सकेको छ । दृष्टिविहिन उनले त्रिभुवन विश्वविद्यालयबाट प्रवीणता प्रमाणपत्र तह र स्नातक तहको शिक्षामा सर्वोत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण गरीन् । उनले थुप्रै सामाजिक परियोजनाहरूमा पनि काम गरीन् । आफ्नो कार्यकौशल क्षमता देखाईन् र अन्तरराष्ट्रिय स्तरमा चिनिन सफल भइन् । अझै पनि उनको प्रगति अभियान जारी नै छ । उनलाई एक सामाजिक प्रेरक वक्ताको रुपमा पनि लिने गरिन्छ । उनले आपूmले भोगेका दृष्टिविहिनताको पीडालाई कसरी इच्छाशक्तिमा परिणत गरिन् भन्ने कुरा उनका धेरै अन्तरवार्ताहरूमा सुन्न सकिन्छ । उनले ‘दृष्टिविहिन पनि नाच्न सक्छन’ भन्ने सन्देश बोकेर Blind Rocks नामक संस्था स्थापना गरेकी छिन् । आर्थिक रुपमा आत्मनिर्भर भई, स्वस्थ्य, सुखी र सफल जीवन व्यतित गरिरहेकी छिन् । उनले जीवनमा ढृढ इच्छाशक्ति भएमा के गर्न सकिदैन भन्ने कुरालाई सत्य सावित गरेर देखाएकी छिन् ।

उदाहरण २ :
अर्का प्रतिभावान नेपाली महिला स्रष्टा, मदन पुरस्कार विजेता साथै प्रबल गोरखा दक्षिणबाहु चौथोद्वारा विभूषित २०३७ सालमा कचिडे, धनकुटामा जन्मिएकी झमक कुमारी घिमिरेको जीवनीलाई पनि लिन सकिन्छ । औपचारिक शिक्षाबाट वञ्चित उनले आफ्ना भाई बहिनीले पढे, लेखेको देखेको र सुनेको भरमा नेपाली लेखन सिकेकी हुन् । मष्तिस्क रोग (Cerebral Palsy) बाट पीडित भएर पनि उनले विभिन्न साहित्य कृतिहरू सृजना गरेर सपाङ्ग व्यक्तिभन्दा सबल जीवन ब्यतित गरेको प्रमाणित हुन्छ । उनको बारेमा सिनेमा बनाइएको छ र उक्त सिनेमाले सवत्र चर्चा कमाएको छ । यदि उनको इच्छाशक्ति नहुँदो हो त उनले प्राप्त गरेको सफलता सम्भव थिएन । झमकले पनि जीवनमा ढृढ इच्छाशक्ति भएमा एक शारिरीक रुपले सबल व्यक्तिभन्दा अझ फरक ढंगले जीउन सकिन्छ भन्ने कुरालाई प्रमाणित गरेर देखाएकी छिन् ।

यस पंक्तिकारलाई माथि उल्लेखित विशिष्ट व्यक्तित्वहरूको जीवनदर्शन अध्ययन गरी इच्छाशक्तिको महत्वबारे महसुस गर्ने अवसर मिलेको थियो । त्यस्ता व्यक्तित्वहरूबारेको अध्ययन अद्यापि जारी छ । उनीहरूको उदाहरणीय जीवनशैलीका कारण जीवनमा घटेको एक दर्दनाक र्दुघटनाको पीडाबाट मुक्ति पाउन सहयोग मिलेको थियो । वि.सं. २०७२ साल चैत्र महिनाको अन्त्यतिर म चितवन मेडिकल कलेजमा नर्सिङ्ग विषयमा स्नातकोत्तर तहको अध्ययनका लागि भर्ना हुन जाने क्रममा मोटरसाइकल दुर्घटनामा परेँ । दुर्घटनाका कारण दाहिने खुट्टा तिन ठाउँमा भाँचिएर सात पटकसम्म शल्यक्रिया गर्नुप¥यो । शारीरिक पीडा त थियो नै, यसले अबको जीवन कसरी अगाडि बढाउने होला भन्ने चिन्ताले पिरोल्थ्यो । परिवारको जिम्मेवारी एकातिर थियो भने अध्ययन पुरा गर्ने उत्कट चाहना पनि पुरा नहुने होकि भन्ने चिन्ता पनि थपिएको थियो । तर, दुःखको घडिमा ‘मैले आपूmलाई सम्हाल्नु पर्छ’ भन्ने सोँचलाई बलियो बनाएँ । ह्वीलचियर वा बैसाखीको भरमा नै बाँकि जीवन बिताउनु पर्ने भए तापनि जसरी पनि नर्सिङ्ग विषयको अध्ययन पुरा गरेरै छाड्छु भन्ने ढृढसङ्कल्प गरेँ । आफ्ना दुई छोराहरूको लागि मैले बाँच्नैपर्छ र प्रगति पनि गर्नैपर्छ भनी मनमा उर्जा भर्थें । अस्पतालको बेडमा बसेरै रोय बउमेईष्टर जोहन् टिएर्नीका पुस्तक पढेँ । यसले मलाई थप इच्छाशक्ति पैदा गरिदियो ।

पटक पटकको शल्यक्रियाको क्रमसँगै मैले दुई वर्षको अध्ययन पुरा गरिछाडेँ । यो सफलता प्राप्त गर्न मेरो दृढअठोट र प्रवल इच्छाशक्तिले सहयोग गरेको छ । आज म पूर्ण सन्तुष्ट र स्वस्थ जीवन व्यतित गर्दैछु । म आफुलाई दुर्घटना अघिभन्दा दुर्घटनापछि अझ साहसी उर्जा थपिएको महसुस गरेकी छु । जीवनको सामान्यभन्दा कठिन समयमा केही गर्नैपर्छ भन्ने दृढ इच्छाशक्ति भएन भने मानिस सही तवरले अगाडि बढ्न सक्दैन भन्ने कुरा आफैले भोगेँ । त्यो अनुभवले गर्दा अहिलेको कोरोनाले पैदा गरेको त्रासलाई सहजै जित्नसक्छु भन्ने लागेको छ ।

अहिले नेपाली समाज कोरोना महामारीको महात्रासबाट गुज्रिरहेको छ । दैनिक रुपमा समाचार माध्यमबाट प्रस्तुत हुने कोरोना सङ्क्रमित र यसबाट ज्यान गुमाउनेको सङ्ख्याले सामान्यजनको मनमा डरलाग्दो मनोविज्ञान सृजना गरेको छ । त्यसमाथि, अस्पताल भरिभराउ भएको छ, कोरोना सङ्क्रमितको लागि अत्यावश्यक पर्ने अक्सिजन सकिन थालेको छ, कोरोना भ्याक्सिन ल्याउन सकिएको छैन भन्ने जस्ता समाचारले त्रासमाथि त्रास थप्ने कार्य गरेको छ । त्रासको यो वातावरणबाट मुक्ती पाउनको लागि पनि हामी सबैमा समस्यासँग जुझ्ने दृढइच्छाशक्ति हुनु नित्तान्त आवश्यक छ । ‘इच्छाशक्ति मात्र भएर समस्याको समाधान हुन्छ त’ भन्ने प्रश्न पनि उठ्ने गर्दछ । तर, इच्छाशक्तिले नै समस्यासँग जुझ्नै रणनीति निर्माण गर्ने उर्जा मिल्दछ ।

निशन्देहः कोरोनाको सङ्क्रमणबाट जोगिन र त्रासको वातावरणबाट छुट्कारा पाउन तिन कुराहरूको समायोजनको आवश्यकता पर्ने देखिन्छ : पहिलो, समस्यासँग जुझ्ने दृढ इच्छाशक्ति, पौष्टिक खानपान, र तिन नियमको पालना । तिन नियममा भौतिक दुरी कायम गर्ने, सँधै मास्क लगाउने र सरसफाईमा ध्यान दिने कुरा पर्दछ । तथापि, मानिसले हरेस खाएको अवस्थामा पौष्टिक खानपान र तिन नियमको पालनाले मात्र समस्याको समाधान गर्दैन । सबै नागरिकमा हामी समस्यासँग जुझ्न तयार छौँ, हामी सबै मिलेर यो अवस्थाबाट मुक्त हुन सक्छौँ र यसको लागि हामी सबै साथसाथ हुनेछौँ भन्ने इच्छाशक्ति भएमा अन्य दुई कुराहरू गर्न उर्जा पैदा हुन्छ ।

यसको लागि हामीले आर्जन गरेका ज्ञान, र सीपलाई इच्छाशक्तिले परिचालन गर्न सक्नुपर्छ । आफ्नो बौद्धिकता, नैतिक दर्शन, भावनात्मक र तर्कसंगत मूल्य र मान्यतालाई यतिबेला सदुपयोग गर्नैपर्छ । यसले व्यक्तिमा भएको इच्छाशक्तिलाई थप उजागर गर्दछ । अहिलेको अवस्थासँग जुझ्न सारा विश्व एक भएको अवस्था छ । विद्यमान कमीकमजोरीलाई सुधार्दै सबै एक भएर लागौँ, हाम्रो इच्छाशक्तिलाई अझै मजबुत बनाएर उपयोग गरौँ र कोरोनाको महात्रासबाट मुक्त होऔँ र सबैलाई मुक्त हुन सहयोग गरौँ । यी कुराहरु गर्न सकिएमा समस्याबाट मुक्त हुन सकिने कुरामा अवश्यम्भावी छ ।

लेखक रुपा देवी थापा यति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्यापन गर्नुहुन्छ

रुपा देवी थापा

लेखक यति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्यापन गर्नुहुन्छ ।

प्रतिक्रिया