धेरै पछिको भेटमा

एकछिन बोलेनन् उनीहरू
चुपचाप हेराहेर गरिरहे मात्रै
परिचयको असमञ्जसमा डुविरहे
मुन्टो निहुराएर
खुट्टाको बुढी औंलोले भूँई कोतरिरहे
बोल्नु पनि कसरी र १
नदेखेको नै निक्कै भैसकेको थियो
मनको दूरी नजिक भएपनि
सम्बन्ध निकै टाढा पुगिसकेको थियो
यो भेट अप्रत्याशित भएपनि
मनमा अनुराग छल्किन थाल्यो
उनिहरू,
विगत प्रेमको दहमा चुर्लुम्म डुवे ।
दुवैका अनुहारमा मुजाहरू
देखिन थालेको थियो
गालामा चाया पोतिन थालेको बेला थियो
शीरमा तुषारो टल्किरहेको थियो
पाईलाहरू सम्यमित बन्न थालेका थिए
आँखामा झुन्डिएको बाईफोकल चश्माको
तल्लो घेराबाट
दुवैले नियालि रहे एकअर्कालाई
घोत्लिरहे निक्कै बेर
र पुगे सुदूर समयमा
जुन समयमा
एकअर्काले हेर्ने मन एउटै थियो
पुग्ने लक्ष्य एकै थियो
प्रेमको निलो गहिराईमा।
जब भेटिए उनीहरू अचानक
साँझमा टहलिने कुनै बगैंचामा
अथवा,
हिड्दा र हिड्दै थाकेर
सुस्ताईरहेका बेला सडक, पेटीमा
मान्छेहरूका भीड र कोलाहलमा
उहीँ परिचित अनुहार ठम्याउन कठिन थियो
गुडिरहेको मोटरको ध्वनिबीच
हिजोको उस्तै उनको सुमधुर आवाज
हराइरहेको थियोे यतै कतै
भूई कुहिरोको पर्दा पखालेर आँखामा
उनीहरू परिचयको नयाँ अनुबन्धमा थिए
हाँस्न सकेनन्
चिच्याएर कराउन सकेनन्
स्पर्शको अनुभुतीबाट
निक्कै टाढा थिए उनीहरू यसबेला
हृदय स्पन्दनको अनुभूतिमा डुविरहे मात्रै,
दुवैले एकै साथ सम्झिए
नाशामा दौडिरहने एउटै धडकन्
र सम्झिए दुवैले एकै पटक,
उसको आकाश खोखिदिने
एउटै अपराधी म मात्रै हु
कुन आकाशमा मुनि ओतिरहेका होलान्
उ यतिखेर
प्रतिक्रिया