बिहीबार, जेठ २, २०८२

कथा बन्दै ढिकी–जाँतो प्रचलन

नेपालखोज २०८१ भदौ १५ गते १०:०८

लमजुङ । लमजुङको दोर्दी गाउँपालिका–३ श्रीमञ्जाङका ९४ वर्षीय चिजकुमारी श्रेष्ठले आफ्नो जीवनका धेरै वर्ष ढिकी कुटेर र जाँतो पिँधेरै जीवन बिताइन् । ढिकीमा कुटेको धानको चामल, काउनो, साबा साथै जाँतोमा पिसिएको मकै, कोदोको ढिँडो, फाँपरको रोटी तथा ढिँडोलगायत खानेकुरा ढिकी–जाँतोमा कुट्ने र पिस्ने गरेर परिवारलाई खुवाएर जीवन धान्दै आइन् ।  

उनलाई नै यतिबेला विगतमा ढिकी जाँतोमा संघर्ष गरिएका ती दिन कथाजस्तै लाग्ने गरेको छ । ऊ बेला गाउँमा ढिकीजाँतो नभएको कुनै घर हुँदैन थियो । तर, त्यस बेला ठूलो महत्त्व रहेको ढिकीजाँतो केही वर्षदेखि हराउन थालेपछि गाउँघरका वृद्धवृद्धालाई ढिकीजाँतो कुनै बेलाको कथाजस्तै हुने थालेको छ । 

सोही वडामा पर्ने श्रीमञ्जाङका ९४ वर्षीय श्रेष्ठले आफ्नो जीवनको धेरै वर्ष ढिकी कुटेर र जाँतो पिसेर जीवन बिताइन् । उनलाई नै यतिबेला विगतमा ढिकीजाँतोमा संघर्ष गरिएका ती दिन कथाजस्तै लाग्न थालेको छ । अहिले वडास्थित नेवारगाउँ, गैरीगाउँ, लामागाउँ, डाँडागाउँ, दासडाँडा, बाहुनगाउँलगायत गाउँमा ढिकी जाँतो देख्नै नपाइने अवस्था आएको छ । सबै गाउँमा एक हजारभन्दा बढी घरपरिवार रहेकोमा अहिले पाँच–दशवटा भन्दा धेरै घरमा ढिकीजाँतो छैन ।

ढिकीजाँतो भएका घरमा पनि कमै प्रयोग गर्ने गरेका छन् । त्यस्तै, मर्स्याङ्दी गाउँपालिका–५, घेर्मुमा विगतमा घरैपिच्छे ढिकीजाँतो राखेर प्रयोग गर्दै आए पनि ३५ घरपरिवार रहेको यस गाउँमा अहिले एउटा मात्र ढिकी रहेको स्थानीय कामसार्की गुरुङले बताइन् । करिब १०–१२ वर्ष गाउँमा बिजुलीबाट चल्ने मिल आएसँगै ढिकीजाँतो हराउँदै गएको उनको भनाइ छ । यसरी परम्परागत ढिकीजाँतो लोप भए पनि यसको संरक्षण गर्न नसकिने अवस्थामा रहेको गुरुङले बताइन् । 

सोही गाउँपालिका वडा नम्बर ३ ढगैँका स्थानीय पूर्णबहादुर गुरुङले १० वर्षअघिसम्म गाउँका प्रायः सबै घरमा ढिकी जातो राखेर प्रयोग गर्दै आए पनि अहिले एक–दुई जनाको घरमा मात्र रहेको बताए । त्यस्तै, बेँसीशहर नगरपालिका–२ नरुवाल गाउँमा करिब १४ वर्षअघिसम्म प्रत्येक घरमा ढिकी र जाँतो थियो । विद्युतीय मेसिन आएसँगै विस्तारै घट्दै जाने क्रममा छ वर्षअघिबाट गाउँमा दुईजनाको घरमा मात्रै ढिकी–जाँतो रहेको स्थानीय सावित्री रानामगरले बताइन् ।

प्रतिक्रिया