भत्किएको कल्भर्ट नबन्दा आवातजावतमा सास्ती

वेदकोट (कञ्चनपुर) । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको वेदकोट नगरपालिका–७ सुडाचोकमा भत्किएको कल्भर्ट अझै पुनःनिर्माण हुनसकेको छैन ।
व्यस्त राजमार्गमा पर्ने कल्भर्ट भत्किएको दुई महिना बित्दा पनि नयाँ निर्माण हुन नसक्दा स्थानीय सास्ती भोग्न बाध्य छन् । बाढीले भत्किएको कल्भर्ट भासिएर राजमार्गमै अलपत्र छ । कल्भर्ट भत्किएको ठाउँबाट ‘डाइभर्सन’ निर्माण गरेर यातायात सञ्चालन गरिएको छ ।
‘ह्युम पाइपमाथि ग्राभेल राखेर कच्ची वैकल्पिक बाटो बनाइएको छ । लगातार गाडी चलिरहने हुनाले कच्ची बाटोमा धुलो उडेर आवातजावत गर्न समस्या हुन्छ’, स्थानीय डम्बर कार्कीले भने, ‘कल्भर्ट चाँडै बनाइदिए सजिलो हुुन्थ्यो ।’
गत असार २३ गते राति अविरल वर्षासँगै आएको बाढीले राजमार्गको कल्भर्ट भत्काएको थियो । त्यसपछि सुडाचोकमा राजमार्ग भएर हुने आवातजावत नै ठप्प भएको थियो । कल्भर्ट भत्किएपछि राजमार्ग नजिकैको गाउँको वैकल्पिक बाटोबाट सवारीसाधन चलेका थिए । एक लेनको गाउँको सडकमा सवारीसाधन अत्यधिक चाप हुन थालेपछि दुर्घटनाको जोखिमले स्थानीयले गाउँको वैकल्पिक बाटोबाट गाडी चल्न दिएनन् ।
त्यसपछि कल्भर्ट भत्किएको नजिकै राजमार्गमै ह्युप पाइपमाथि ग्राभेलिङ भरान गरेर वैकल्पिक बाटो तयार पारिएपछि हाल सोही बाटो भएर यातायातका साधन सञ्चालन भइरहेका छन् । सवारीको चाप अत्यधिक हुनाले वैकल्पिक कच्ची बाटो धुलाम्मे हुने गरेको छ । सदरमुकाम महेन्द्रनगर आवतजावत गर्ने यात्रु र नजिकै बसोबास गर्ने स्थानीय तथा व्यापारी सडक धुलाम्मे हुँदा सास्ती भोगिरहेका छन् ।
प्रतिक्रिया