शुक्रबार, वैशाख २६, २०८२

वन्यजन्तुलाई दैनिक आहाराको समस्या

नेपालखोज २०८१ भदौ २२ गते ७:२८

झापा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सामुदायिक वनमा तीन वर्षअघि स्थापना गरिएको कोशी प्रदेशकै पहिलो प्राणी उद्धार केन्द्रमा रहेका वन्यजन्तुलाई दैनिक आहाराको जोहो गर्न आर्थिक समस्या भएको छ । कोशी प्रदेश सरकार र सामुदायिक वनको करिब रु दुई करोड लगानीमा बनेको उक्त आधुनिक उपचार केन्द्रमा दुई दर्जनभन्दा बढी विभिन्न प्रजातिका पशुपक्षीलाई व्यवस्थित गरेर राखिएको छ । सामुदायिक बनले आम्दानी घटेको उल्लेख गर्दै वन्यजन्तु पाल्न धौ धौ परेको जनाएको छ ।

सामुदायिक वनको ६ सय ४३ हेक्टर जमिनमध्ये १० बिगाहमा बनेको उक्त केन्द्रमा रहेका वन्यजन्तु र कर्मचारीलाई मासिक रु सात लाख खर्च हुँदै आएको वन उपभोक्ता समितिका अध्यक्ष पर्शुराम गिरीले बताए । वन्यजन्यु र वन हेरालुका रुपमा १० कर्मचारी कार्यरत छन् । विसं २०७९ मा नेपाल सरकारले सात प्रदेशमा प्राणी उद्धार केन्द्र बनाउने नीति ल्याएको थियो । सोहीअनुसार नै जामुनखाडीमा उद्धार केन्द्र बनेको हो । जामुनखाडी सामुदायिक वनले विसं २०६५ देखि नै वन्यजन्तु संरक्षण गरेर चिडियाखाना सञ्चालन गर्दै आएको थियो ।

चिडियाखानामा रहेका र विभिन्न स्थानबाट उद्धार गरेर ल्याइएका वन्यजन्तुलाई हाल प्राणी उद्धार केन्द्रमा बलियो घेराबेराभित्र खुल्ला रुपमा राखिएको छ । बाघ, चितुवा, भालु र मृगका विभिन्न प्रजाति राखिएका छन् । चित्तल, रतुवालगायत मृग, ध्वाँसे चितुवा, अजिङ्गर, हिमाली गिद्ध, कछुवा, बाँदरलगायत दुई दर्जनभन्दा बढी प्रजातिका वन्यजन्तु पालिएका छन् । बाघ, भालु, अजिङ्गरलगायत मांसाहारी वन्यजन्तुका लागि नियमित रुपमा मासुजन्य आहारको व्यवस्था वन समितिले गर्दै आएको छ । आहारबाहेक उपचार र रेखदेखमा समेत ठूलो खर्च हुने गरेको छ ।

यसरी उद्धार गरेर ल्याइएका वन्यजन्तुको आफ्नै लगानीमा पशु चिकित्सक ल्याएर उपचार गर्ने गरेको उहाँले बताउनुभयो । चिडियाखाना र सिमसार क्षेत्रको घुमघामका लागि आउने आन्तरिक तथा बाह्य पर्यटक नै सामुदायिक बनको मुख्य आम्दानी हो । पर्यटकले वन्यजन्तु हेर्न र डुङ्गामा शयर गर्नका लागि टिकट लिएर रकम तिर्ने गर्छन् । विगतको तुलनामा पर्यटकसँगै आम्दनी घटेको अध्यक्ष गिरीले बताए ।

उनले यहाँ जनावर अवलोकन गर्न र सिमसार क्षेत्र घुम्न आउने पर्यटकसँग प्रतिव्यक्ति रु एक सय शुल्क लिने गरेको बताउनुभयो । अध्यक्ष गिरीका अनुसार हिउँदको तीन चार महिना आउने पर्यटकबाट उठाइएको शुल्क, रूख बिक्री नै वनको मुख्य आम्दानी रहेको छ ।

प्रतिक्रिया