हलिया मुक्तिका सोह्र वर्ष : अवस्था अझै बदलिएन

कञ्चनपुर । हलिया मुक्तिको घोषणा भएको सोह्र वर्ष पुगेको छ । कञ्चनपुरका मुक्त हलिया परिवारको अवस्था बदलिएको छैन । साहुको घरबाट बिदा भएका मुक्त हलिया परिवार ज्याला मजदुरी गरेर जीविका चलाउन बाध्य छन् । पुनःस्थापनको कार्यले पूर्णता नपाउदा मुक्त हलिया परिवार खोला, नदी तटीय क्षेत्रसँगै वन क्षेत्रसँग जोडिएका ठाउँमा असुरक्षित तरिकाले बस्दै आएका छन् ।
पुनःस्थापनमा परेका मुक्त हलिया परिवारले रोजगारी नपाउँदा भारतमा कुल्ली र दरवान भएर काम गर्नुपरेको छ । मुक्त हलियामा ९७ प्रतिशत व्यक्ति दलित परिवारसँग सम्बन्ध राख्छन् । समाजमा छुवाछुतको भावना अझै विद्यमान हुँदा होटल, चिया नास्ता पसल, डेरी लगायतका व्यवसाय सञ्चालन गर्न कठिनाइको सामना गर्दै आएका छन् ।
हलियाबाट मुक्त भएर वैशाखा शिविरमा बस्दै आएका दलबहादुर कामीले आधारभूत सेवा सुविधाबाटै वञ्चित भएको गुनासो गरे । ‘शिविरमा रहेको झोपडीमा राम्ररी निदाउन पनि पाएका छैनौँ’ उनले भने, ‘सर्प, बिच्छीको समस्या छँदैछ, पानी परेका छाना चुहिँदा अनिदोमै रात बित्छ, लामखुट्टेले त्यतिकै सताउ छन्, चिसोका बेला प्रयाप्त ओढ्ने विछ्याउने कपडा नहुँदा आगो बालेर रात बित्छ ।’
बिरामी परे आर्थिक अभावले उपचार गराउन नपाइने गरेको उल्लेख गर्दै उनले मजदुरी गर्न जाँदा बालबालिकालाई पनिसँगै लैजानुपर्ने हुँदा विद्यालय पढाउन नपाइएको बताए । ‘मुक्त हलिया परिवारका युवासँग प्राविधिक सीप र दक्षता छैन’ राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरका अध्यक्ष सिबी लुहारले भने, ‘स्वदेशमा काम नपाउँदा भारतमा सस्तोमै श्रम बेच्न बाध्य छन् ।’ परम्परागत पेसा व्यवसाय आधुनिकिकरण र प्रतिस्पर्धात्मक हुन नसक्दा पुँजीको अभावमा व्यवसाय सञ्चालन गर्नबाट वञ्चित रहदै आएको उनले बताए ।
मुक्त हलिया पुनः स्थापन कार्यक्रम अन्तर्गत जग्गा खरिद, घर निर्माण र मर्मतमा मात्रै सीमित हुँदा शिक्षा, स्वास्थ्य, रोजगारी, जीविकोपार्जन लगायतका कार्य ओझेलमा परेको उनको बुझाइ छ । उनका अनुसार कञ्चनपुरमा लगतमा समावेश गरिएका मुक्त हलियाको सङ्ख्या तीन हजार सात सय ३२ रहेकोमा जसमध्ये एक हजार नौ सय ९१ ले मात्रै परिचयपत्र पाएका छन् ।
‘क’ वर्गको तीन सय ९४, ‘ख’ वर्गको सात सय ९९,‘ग’ वर्गको ६४,‘घ’ वर्गको सात सय ६४ जनाले परिचयपत्र पाएका छन् । परिचयपत्र पाएकामध्ये हालसम्म तीन सय ४७ जनाको जग्गा खरिद, ५६ जनाको घर निर्माण र एक हजार चार सय ३३ जनाको घर मर्मतको कार्य गरिएको छ । पुनः स्थापनमा परेका मुक्त हलियाको सङ्ख्या एक हजार आठ सय ३६ रहेको छ ।
परिचयपत्र पाएर पनि ५५ मुक्त हलिया परिवारले कुनै सुविधा प्राप्त गरेका छैनन् । पुनः स्थापनका लागि स्थानीय तहमा हस्तान्तरण गरिएका मुक्त हलियाका एक सय छ परिवार रहेका छन् । लगतमा समावेश भएका सम्पर्कमा नआउँदा लगत कट्टा गरिएका परिवारको सङ्ख्या पाँच सय २५ रहेको छ ।
पुनः स्थापनको प्याकेजमा समावेश भई जग्गा खरिद भई घर निर्माणको अन्तिम किस्ता पाउनबाट छ सय १७ परिवार वञ्चित रहेका छन् । मुक्त हलिया पुनः स्थापनको कार्य स्थानिय तहलाई हस्तान्तरण गरिएको आधा दशक बित्नै लागे पनि कार्य अगाडि बढ्न सकेको छैन । पुनःस्थापनको कार्यलाई स्थानीय तहले प्राथमिकतमा नराख्दा कार्य ओझेलमा परेको हलिया अगुवा गणेश विश्वकर्मा बताए ।

प्रतिक्रिया