आइतबार, असोज २७, २०८१

जिम्बावे २ सय हात्ती मार्दैछ, किन ? 

नेपालखोज २०८१ असोज २ गते १६:५५

काठमाडाैं । जिम्बावेले २ सय हात्ती मार्ने निर्णय गरेको छ । ती हात्ती सिकार गरेर मारिनेछ। यस्तो सिकार हात्ती र मानिसबिच द्वन्द्वका घटना भइसकेको क्षेत्रमा गरिने छ । यसमा देशको सबैभन्दा ठुलो अभयारण्य, ह्वाङ्गे राष्ट्रिय निकुञ्ज समावेश छ। रिपोर्ट अनुसार छिमेकी देश नामिबिया जस्तै जिम्बाब्वेमा पनि हात्तीको मासु खानाका रुपमा अकाल पीडितहरूलाई वितरण गरिनेछ । 

यसअघि छिमेकी देश नामिबियाले सात सयभन्दा बढी हात्ती, जेब्रा, गैँडा जस्ता जङ्गली जनावर मारेर त्यसको मासु जनतामा बाँड्ने निर्णय गरेको थियो । यसअघि पनि त्यहाँ १५० भन्दा बढी वन्यजन्तुको सिकार भैसकेको छ । सरकारले मुलुकमा २० हजार हात्ती रहेको र केहीलाई मार्दा खडेरी प्रभावित मुलुकका चरन र पानीका स्रोतमा दबाब कम हुने बताएको छ । नामिबिया र जिम्बाब्वे लगायत धेरै अफ्रिकी देश अहिले गम्भीर खडेरीको सामना गरिरहेका छन्। 

जिम्बाब्वे हात्तीको सङ्ख्यामा अफ्रिकामा दोस्रो स्थानमा छ। यो देशमा करिब १ लाख हात्ती छन् । यसभन्दा धेरै हात्ती बोत्सवानामा मात्र छन्, जहाँ तिनको जनसङ्ख्या १ लाख ३० हजार भन्दा बढी छ। जिम्बाब्वेका वातावरण मन्त्री मङ्गालिसो डालोभुले गत हप्ता संसदमा भनेका थिए – अभयारण्य र वन्यजन्तु अधिकारीहरूलाई हात्तीहरू मार्न सुरु गर्न निर्देशन दिइएको छ। उनले भने, हाम्रो देशमा आवश्यकताभन्दा धेरै हात्ती छन् । 

जिम्बाब्वे आफ्नो हात्ती संरक्षण प्रयासको सफलतामा गर्व गर्छ । २०२१ मा जारी जिम्बाब्वे हात्ती व्यवस्थापन योजना अनुसार १९ औँ शताब्दीको अन्त्यसम्म अफ्रिकाका अधिकांश भागमा हात्तीको सङ्ख्या निकै कम थियो। हात्ती त्यसको दाँतका लागि ठुलो मात्रामा सिकार हुन्थ्यो। सन् १८९७ मा अफ्रिकाबाट करिब एक लाख टन हात्तीको दाँत अन्य देशमा बेचिन्थ्यो। 

स्थिति यति गम्भीर थियो कि सन् १९०० सम्ममा जाम्बेजी नदी (जिम्बाब्वे, बोत्सवाना, नामिबिया) को दक्षिणी क्षेत्रबाट हात्ती लोप हुने डर थियो । जाम्बेजी अफ्रिकाको चौथो ठुलो नदी हो। जाम्बेजी नदी क्षेत्र अफ्रिकाको सबैभन्दा महत्त्वपूर्ण वन क्षेत्र मध्ये एक हो। प्रसिद्ध भिक्टोरिया फल्स यही नदीमा भएको एउटा विशाल झरना हो । यद्यपि २० औँ शताब्दीमा सुरु गरिएका संरक्षण प्रयासहरूले हात्तीको जनसङ्ख्यामा वृद्धि भएको थियो। 

जिम्बावेले आफ्नो हात्ती मारेको यो पहिलो पटक होइन। जिम्बाब्वे अभयारण्य तथा वन्यजन्तु व्यवस्थापन प्राधिकरणको प्रतिवेदन अनुसार सन् १९६० देखि १९८९ बिच त्यहाँ करिब ४५ हजार हात्ती मारिएका थिए । प्रतिवेदनमा दिइएको त्यसको कारण “हात्तीको जनसङ्ख्या वृद्धिलाई सीमित गर्न” थियो । 

प्रतिवेदन अनुसार संरक्षित क्षेत्रहरूमा हात्तीको जनसङ्ख्या वृद्धिलाई सीमित गर्ने आधारभूत तर्क “वन क्षेत्रहरूमा उनीहरूको दबाब कम गर्ने” र “हात्तीले गर्दा हुने वासस्थान परिवर्तनका कारण वनस्पति र जीवजन्तुको हानि कम गर्ने” थियो। प्रतिवेदन भन्छ-“जङ्गल र सम्बन्धित जैविक विविधतामा हात्तीको प्रभाव चिन्ताको विषय बनेको छ।”जिम्बाब्वेले १९८० मा सम्पूर्ण देशमा कुल हात्ती जनसङ्ख्या ४१ हजारमा सीमित गर्ने निर्णय गरेको थियो । 

त्यसपछि सन् १९९० देखि २००६ सम्म हात्तीको जनसङ्ख्या तीव्र गतिमा बढ्दै गयो र अहिले त्यहाँ हात्तीको सङ्ख्या १ लाखको हाराहारीमा पुगेको अनुमान छ भने अहिले चर्को खडेरीका बिच सरकारले हात्ती मार्नु आवश्यक मानिरहेको छ । 

जिम्बाब्वेको यो कदमको अन्तर्राष्ट्रिय स्तरमा चर्को आलोचना भइरहेको छ । फराई मगुवु प्राकृतिक स्रोत सुशासन नामक एनजीओका निर्देशक हुन्। समाचार एजेन्सी एएफपीसँग कुरा गर्दै उनले भने, सुख्खाको सामना गर्न सरकारले थप दिगो र पर्यावरणमैत्री विधिहरू अपनाउनुपर्छ, जसले पर्यटनलाई असर गर्दैन। 

जिम्बाब्वे घुम्न आउने पर्यटकहरूका लागि हात्तीहरू ठुलो आकर्षण हुन्। धेरै विज्ञहरूले हात्ती मारिएपछि जिम्बाब्वे आउने पर्यटकको सङ्ख्या घट्न सक्ने कुरा पनि बताएका छन् । फराई मागुभुले एएफपीलाई भने, “जिउँदो हात्ती बढी लाभदायक हुन्छन्।” मागुभुले हात्ती मार्ने निर्णयलाई “अनैतिक” भनेका छन् । 

केही वातावरणीय कार्यकर्ताहरू पनि त्यहाँ हात्ती मार्ने पक्षमा छन्। क्रिस ब्राउन ‘नामिबियन चेम्बर अफ इन्भायरमेन्ट’ नामक संस्थामा सीईओ र वातावरणीय कार्यकर्ता हुन । “यदि हात्तीलाई अनियन्त्रित रूपमा बढ्न दिइयो भने, तिनले प्राकृतिक वातावरणमा गम्भीर प्रभाव पार्छन्। तिनले वास्तवमै इकोसिस्टमलाई हानि पुर्‍याउँछन् र अन्य प्रजातिहरूमा गम्भीर दुष्परिणाम निकाल्छन् ,” उनले एएफपीलाई भनेका छन् । 

संयुक्त राष्ट्र सङ्घका अनुसार जिम्बाब्वेको ४२ प्रतिशत जनसङ्ख्या गरिबीमा बाँचिरहेको छ । लामो खडेरीका कारण त्यहाँ खानेपानी र खाद्यान्नको गम्भीर सङ्कट छ । युनिसेफका अनुसार जलवायुसम्बन्धी ‘एल–निनो’ ढाँचाका कारण जिम्बाब्वेलगायत धेरै अफ्रिकी मुलुकमा खडेरीको सङ्कट तीव्र भएको छ । जसका कारण बालीमा ठुलो क्षति पुगेको छ, पानीका मुहान नष्ट भएका छन् भने चरन क्षेत्रहरू मासिएका छन् ।

प्रतिक्रिया