शनिबार, वैशाख १३, २०८२

नेपालमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न देखिएका चुनौतीहरू …  

डा. अम्बिका शर्मा २०८१ असोज ११ गते १३:३१

काठमाडाैं । नेपालमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न देखिएका मुख्य चुनौतीहरू मध्ये ग्रामीण र सहरी विद्यालयहरू बिच रहेको विभिन्न किसिमको असमानता एक हो । सहरी विद्यालयहरूमा राम्रो ल्याब, पुस्तकालय, कम्प्युटर, इन्टरनेट लगायतका पूर्वाधार सुविधाहरू छन् भने ग्रामीण विद्यालयहरूमा प्राय: भरपर्दो बिजुली, कम्प्युटर,  इन्टरनेट, हिउँद बर्खा खप्ने भवन, सफा पानी र सरसफाइजस्ता आधारभूत सुविधाहरू समेत छैनन् । 

यसका साथै सहरी क्षेत्रहरूमा राम्रो तलब, शिक्षक तालिमको सहजै उपलब्धता र शिक्षकहरूको फुर्सदको समयमा कार्य गरी शिक्षकहरूलाई थप अर्थ-उपार्जन गर्न सरल अवसर लगायतका उत्प्रेरणा नभएका कारणले उच्च योग्य र अनुभवी शिक्षकहरू सहर तर्फ नै आकर्षित भैरहेका छन् भने ग्रामीण विद्यालयहरूका शिक्षकहरूमा उच्च प्रतिस्थापन दर र अपर्याप्त तालिम, र फुर्सदको समयमा  अनुत्पादक किसिमले समय व्यतीत गर्नुपर्ने लगायतका समस्याहरूको  सामना गरिरहेका पाइन्छ । ग्रामीण र सहरी क्षेत्रका विद्यालय बिच  सिकाइको परिणाममा पनि व्यापक फरक पाइन्छ विशेष गरेर मुख्य विषयहरु अंग्रेजी, हिसाव र विज्ञानका परीक्षाफलमा  ग्रामीण क्षेत्रका विद्यार्थीहरू र सहरी क्षेत्रका विद्यार्थीहरू बिच मानक परीक्षा परिणाममा धेरै असमानता रहेको, जसले गर्दा शैक्षिक विभाजन अझ बढ्दै गइरहेको देखिन्छ ।

नेपालमा सहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रका विद्यार्थीहरुमा विद्यालय छोड्ने दर अधिक रहेको, धेरै परिवारहरूले आर्थिक कठिनाइको सामना गरिरहेका, सरकारी विद्यालयमा पठन पाठनको लागि  निःशुल्क व्यवस्था भएतापनि स्कूलको खर्च, जस्तै युनिफर्म, किताब, र यातायातको खर्च, धान्न न्यून-आय भएका परिवारहरूका लागि कठिन हुन गई बच्चाको पढाइ भन्दा घरको समस्याले प्राथमिकता पाउने कारण बन्न पुगी बच्चाहरूले माध्यमिक तह सम्म नै नपुग्दै स्कुल छोड्नु पर्ने र घरको जिम्मेवारी वा श्रम गर्न मद्दत पुर्‍याउनु पर्ने अवस्था विद्यमान नै रहेको छ  ।

विशेष गरेर विद्यार्थीको इच्छा /चाहना बमोजिमको व्यावसायिक शिक्षाको सहज उपलब्धतामा कमी, पढेर नोकरीको सुनिश्चितता नदेख्ने वा विद्यमान पाठ्यक्रम विद्यार्थीहरूको जीवनसँग मेल नखाएका कारणले पनि  विद्यार्थीहरूमा पढ्न, सिक्न चासोको कमी हुन गएको पाइन्छ । धेरै विद्यार्थीहरूले शिक्षाले उनीहरूको भविष्यका सम्भावनाहरू सुधार्नमा मद्दत पुर्‍याउने कुरामा विश्वास गरेको पाइँदैन जसले गर्दा विद्यालय छोड्ने विद्यार्थीहरूको दर उच्च हुन गई  समुदायमा गहिरिएर रहेको गरिबीको चक्रले अझ बढी निरन्तरता पाइरहेछ । सस्तो श्रममा बिदेसिएर ग्रामीण क्षेत्र युवा विहीनताको अवस्थामा पुगी भविष्यमा राष्ट्रले मानव संसाधनको ठुलो नोक्सानी व्यहोर्नुपर्ने देखिन्छ ।

विशेष गरी ग्रामीण दूर दराज जहाँ व्यावसायिक विकासका अवसरहरू सीमित छन् त्यहाँ  प्रशिक्षित शिक्षकहरूको पनि अभाव छ । अति आवश्यक सीपहरूको अभावका कारण शिक्षकहरूमा विद्यार्थीहरूलाई प्रभावकारी रूपमा संलग्न गराई आधुनिक शिक्षण विधिहरू अवलम्बन गर्न/गराउन कठिनाइ परिरहेको छ । कठिन भौगोलिक अवस्था सामना गर्न नसकी  राम्रो अवसरहरूको खोजीमा प्राय: शिक्षकहरू ग्रामीण क्षेत्रका विद्यालयका दरबन्दी छाडी सहरी क्षेत्र तर्फ पलायन भएका छन्, जसले गर्दा स्रोतविहीन ग्रामीण  क्षेत्रहरूमा योग्य शिक्षकहरूको अभावले विद्यार्थीहरूको सिकाइ परिणामहरूमा प्रत्यक्ष असर परिरहेको छ र बच्चाहरूको साक्षरता र सङ्ख्यात्मकतामा कमी ल्याई गुणस्तरीय शिक्षा प्रदान गर्ने राज्यको लक्षमा समेत नकारात्मक प्रभाव परिरहेको छ ।

समाजमा रहेको सांस्कृतिक मान्यता र सामाजिक अपेक्षाहरूले पनि बाल बालिकाहरूको शिक्षामा पहुँचलाई सीमित गरेको देखिन्छ । विशेष गरेर लैङ्गिक विभेदका कारण बाल विवाह र घरेलु जिम्मेवारीहरूले प्रायः बालिकाहरूलाई स्कुल छोड्न बाध्य पार्छ ।यसै गरी उत्पीडित जातका बच्चाहरूले गुणस्तरीय शिक्षामा पहुँच गर्न प्रणालीगत विभेदको सामना गरिरहेका छन् । उनीहरूले सहपाठीहरू र शिक्षकहरूबाट समेत पूर्वाग्रहको सामना गर्न परिरहेको छ । यद्यपि लैङ्गिक समानता प्रवर्द्धन गर्न र थिचो मिचोमा परेका समुदायहरूलाई समर्थन गर्न भिन्न किसिमले पहलहरू भएका छन् तर पनि समाजमा गहिरिएर बसेको  सामाजिक धारणाहरू परिवर्तन गर्न कठिन भएको देखिन्छ ।

राज्यका तर्फ वाट शिक्षामा समान पहुँच र गुणस्तर सुधार गर्ने उद्देश्य राखेका नीतिहरू ल्याइएता पनि  प्रणालीगत सीमाहरू, स्थानीय स्तरमा रहेका असङ्गत नीति कार्यान्वयन जस्ता प्रशासनिक अक्षमताका कारणले यी प्रयासहरूलाई कमजोर बनाइरहेको छ भने शैक्षिक प्रणालीमा रहेका अक्षमताहरूले कोष र स्रोतहरूको वितरणमा समेत ढिलाइ हु नगई गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा नकारात्मक प्रभाव परिरहेको छ । साथै समसामयिक डिजिटल अनुगमन प्रणालीको अभावले शैक्षिक परिणामहरूलाई ठिकसँग मूल्याङ्कन गर्न वा सुधार गर्नका लागि  आवश्यक क्षेत्रहरू पहिचान गर्न समेत कठिन बनाएको देखिन्छ ।

अतः नेपालमा गुणस्तरीय शिक्षाको सुनिश्चित गर्न वा उपर्युक्त चुनौतीहरूको सामना गर्न राज्यको तर्फ वाट पूर्वाधारमा लगानी वृद्धि, प्रभावकारी  शिक्षक तालिम प्रबन्ध, समुदायको संलग्नतामा निरन्तरता,  समावेशिता र समानतालाई प्रवर्द्धन गर्ने नीतिहरूको सफल कार्यान्वयन, सक्षम अनि  चुस्त प्रशासनिक संरचना र  आधुनिक अनुगमन तथा मूल्याङ्कन प्रणाली अपनाउनु आवश्यक छ । सरकारका एजेन्सीहरू, गैर-सरकारी सङ्गठनहरू, स्थानीय समुदायहरू, र अन्तर्राष्ट्रिय साझेदारहरू बिच नेपालमा शिक्षाको क्षेत्रमा थप समान अवसरहरू सिर्जना गर्न तथा गुणस्तरीय शिक्षा को सुनिश्चित गर्न अझ प्रभावकारी सहकार्यको  आवश्यकता देखिन्छ ।

प्रतिक्रिया