बाढीपहिरोमा परेकाको उद्धार एवं राहत वितरणमा कुनै कमी हुन्न : प्रधानमन्त्री

नेपालखोज २०८१ असोज १४ गते २०:०३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अकल्पनीय बाढीपहिरोमा परेकाको उद्धार एवं राहत वितरणमा सरकारले कुनै कमी हुन नदिने बताएका छन् ।

अमेरिकाको न्यूयोर्कमा ७९औँ महासभामा सहभागी भई आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आज आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले भने, ‘सरकारी एवं जनस्तरबाट विपद्मा परेकाको उद्धार जारी छ । सरकार उनीहरूको साथमा छ । म उनीहरूलाई विश्वास दिलाउँछु कि यस विपद्मा सहयोग गर्न, राहत पर्‍याउन र उद्धार गर्न सरकारबाट कुनै कमी हुने छैन ।’

उद्धार कार्यलाई थप प्रभावकारी बनाउने विश्वास दिलाउँदै प्रधानमन्त्री ओलीले विपद्का समयमा अपनाइएको सुझबुझ र धैर्यताका लागि देशवासीलाई धन्यवाद ज्ञापन व्यक्त गरे । उनले विपद्मा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।

प्रधानमन्त्रीले ओलीले भने, ‘म मुलुक बाहिर रहँदा देशमा अकल्पनीय बाढी पहिरोले ठूलो जनधनमा क्षति पुर्‍यायो । धेरै जनताको मृत्यु भयो । धेरै अझै बेपत्ता हुन् । कयौँ घाइते हुन् । म मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’

‘प्रधानमन्त्री ओलीको न्यूयोर्क भ्रमण फलदायी’

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा प्रधानमन्त्री ओलीबाट भएका कार्यक्रमबारे जानकारी दिँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले भने, ‘प्रधानमन्त्रीको यस भ्रमणका सबै कार्यक्रम फलदायी भएका छन् ।’

महासभाको साइडलाइनमा विभिन्न मित्रराष्ट्रका समकक्षी तथा संयुक्त राष्ट्रसङ्घका उच्च अधिकारीसँग भेटघाट गरी द्विपक्षीय तथा बहुपक्षीय हित र चासोका विषयमा छलफल तथा कुराकानी भएको थियो ।

प्रधानमन्त्रीको भ्रमणबारे जानकारी दिन तयार गरिएको विज्ञप्तिमा वाचन गर्दै प्रवक्ता राईले महासभामा सम्बोधन तथा सो अवसरमा विभिन्न द्विपक्षीय महत्त्वपूर्ण भेटवार्ता भएको जानकारी दिए । प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभा तथा ‘समिट अफ द फ्युचर’मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी यही असोज ४ गते न्यूयोर्क प्रस्थान गरेका थिए ।

असोज ६ र ७ गते संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा ‘समिट अफ द फ्युचर’ सम्पन्न भएको थियो । प्रधानमन्त्री ओलीले अतिकम विकसित राष्ट्रको समूहको अध्यक्षको हैसियतमा त्यस समिटको मुख्य सत्रमा सम्बोधन गरेका थिए ।

‘मैले समिटले पारित गरेको ‘प्याक्ट फर द फ्युचर, ग्लोबल डिजिटल कमप्याक्ट र डिक्लेरेसन्स अन फ्युचर जेनरेसन्स’लाई अतिकम विकसित राष्ट्रहरूका समूहले स्वागत गरेको उल्लेख गरे,’ प्रधानमन्त्री ओलीले विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘सम्बोधनको क्रममा मैले यी सहमतिको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने सुझाव राखेको छु । जसबाट अतिकम विकसित राष्ट्रहरूले भोगी रहेको गरिबी, भोकमरी, असमानता एवं जलवायु परिवर्तनलगायत समस्याको पनि समाधान हुने विश्वास व्यक्त गरेको छु ।’

प्रतिक्रिया