शुक्रबार, कार्तिक २३, २०८१

जादुटुनाको प्रकोप : अझै जारी छ मानव वली…

नेपालखोज २०८१ असोज १९ गते १४:१३

काठमाडाैं । नौ वर्षको बालक आफ्नो विद्यालयको होस्टेलमा सुतिरहेको थियो । त्यसपछि एक शिक्षकले उनलाई काखमा उठाउन खोजे जसका कारण बालक ब्युँझियो र कराउन थाल्यो । अवस्था बिग्रँदै गएको देखेर बालकको घाँटी थिचेर हत्या गर्ने प्रयास गरियो तर कोलाहलका कारण अन्य बालबालिका ब्युँझिए र त्यो बालकको ज्यान जोगियो । मिडिया रिपोर्ट अनुसार यो घटना सेप्टेम्बर ६ को राति उत्तर प्रदेशको हाथरसस्थित डीएल पब्लिक स्कूलमा भएको थियो।

त्यसको केही दिनपछि सोही विद्यालयका अर्का विद्यार्थीको शङ्कास्पद अवस्थामा मृत्यु भयो । विद्यालय सञ्चालकको गाडीमा ११ वर्षीय बालकको शव फेला परेको थियो । बालकको हत्या गरेको आरोपमा हाथरस प्रहरीले विद्यालयका सञ्चालक दिनेश बघेल तथा उनका बुबा यशोधनसहित ५ जनालाई पक्राउ गरेको छ । प्रहरीलाई उद्धृत गर्दै धेरै मिडियाले आरोपी यशोधनले तान्त्रिक अनुष्ठान गर्ने गरेको बताएकन छन । विद्यालयको प्रगति र ऋणबाट मुक्तिका लागि उनले ती बालकको बली दिएको बताइन्छ ।

एउटा बालक उनीहरुको चंगुलबाट उम्कन सफल भयो तर केही दिनपछि अर्को बालकको बलिदान दिइयो । उनको घाँटी थिचेर हत्या गरिएको थियो ।
विद्यालयको प्रगति र ऋणबाट मुक्तिका लागि निर्दोष बालकको हत्या गरिएको भनिएको त्यो विद्यालयको गेटमा अहिले ताला लगाइएको छ । सबै बालबालिकाले छात्रावास छाडेका छन् । यस विषयमा प्रहरी अनुसन्धान जारी छ । यस्तो अवस्थामा थप नयाँ तथ्य बाहिर आउन सक्छ । तर यो घटनाले भारत सहित दक्षिण एशियाली समाजमा अन्धविश्वासको जरा कति गहिरो छ भन्ने देखाएको छ ।

नौ वर्षमा मानव बलिदानका सयभन्दा बढी घटना

भारतको उत्तर प्रदेशको हाथरस जिल्लामा भएको यो अपराध मानव बलिको पहिलो वा एकमात्र घटना होइन। भारतका विभिन्न भागबाट यस्ता घटना बाहिर आउने क्रम जारी छ । एनसीआरबीको तथ्यांकअनुसार सन् २०२२ मा भारतमा मानव बलिका आठ वटा घटना रिपोर्ट गरिएका थिए । सन् २०१४ देखि २०२२ सम्मको नौ वर्षमा मानव बलिका कारण १११ जनाले ज्यान गुमाएका छन् जसमा बालबालिका र वयस्क दुवै समावेश थिए । मानव बलि चरम अन्धविश्वासको उदाहरण हो ।

प्राध्यापक श्याम मानव विगत ४२ वर्षदेखि अन्धविश्वास विरुद्ध अभियान चलाइरहेका छन् । उनले सन् १९८२ मा अखिल भारतीय अंधश्रद्धा निर्मूलन समितिको स्थापना गरेका थिए । “मानव बलि दिनेहरु चरम अन्धविश्वासी हुन्छन् । तिनीहरू यसका बारेमा तार्किक रूपमा सोच्दैनन्। तिनीहरू केवल मानिसको बलिले आफ्नो इच्छा पूरा हुन्छ भन्ने सोच्छन्, जबकि वास्तविकतामा त्यस्तो हुँदैन,” उनले डिड्ब्ल्यु सँग भनेका छन् ।

मानव भन्छन्, ‘ पहिले यस्ता कथा धेरै सुनिन्थ्यो। बेलायती शासन ताका भारतीय ठेकेदारहरूले रेलवे लाइन वा पुल बनाउनुअघि मानिसको बलि दिने गर्थे। राजपत्रमा पनि यसका धेरै रिपोर्टहरू पाइन्छन् । तर अहिले त्यसको सङ्ख्या निकै घटेको छ। यस्ता घटना एकदमै कम छन्, यदि एक वर्षमा नरबलिका १० वटा घटना घटे भने जादू-मन्त्रका कारण मृत्यु हुनेहरुको संख्या त्यसको १० गुणा बढी हुने गरेको छ ।

एनसीआरबीको तथ्याङ्कले पनि य‍ो कुरालाइ सही साबित गर्दछ । सन् २०२२ मा बोक्सीविद्याका कारण ८५ जनाको मृत्यु भएको थियो । २०२१ मा यो संख्या ६८ थियो। सन् २०१३ देखि २०२२ सम्मको दश वर्षमा बोक्सीविद्याका कारण १ हजार ६४ जनाले ज्यान गुमाएका थिए । तीमध्ये ठूलो संख्यामा बोक्सी भएको र बोक्सीविद्या अभ्यास गरेको आरोपमा मारिएका महिला थिए । बोक्सीका कारण सबैभन्दा बढी हत्या छत्तीसगढ, ओडिशा, मध्य प्रदेश तथा झारखण्डमा हुने गरेको छ।

भारतमा यस्ता धेरै घटना छन् जसमा मानिसलाई सर्पले डस्दा अस्पताल लानुको सट्टा झारफुक गराउन पट्टी लाग्छन् मानिसहरु । अवस्थामा सुधार नभएपछि मात्र परिवारले पीडितलाई अस्पताल पुर्‍याउँछन् तर त्यतिन्जेल धेरै ढिलो भइसकेको हुन्छ र पीडितले ज्यान गुमाउँछन्। यस्तो अवस्थामा पीडितलाई सिधै अस्पताल लगियो भने बाँच्ने सम्भावना बढी हुन्छ तर धेरै मानिसहरु आफ्नो अभूतपूर्व अन्धविश्वासका कारण त्यसो गर्दैनन् ।

प्राध्यापक श्याम मानव अन्धविश्वासका कारण मृत्यु बाहेक अरु पनि ठूला नोक्सानी हुने गरेको बताउँछन् । उनी भन्छन्, “मानिसलाई हानि नपुर्याउने कुनै अन्धविश्वास छैन। अन्धविश्वासका कारण नक्कली बाबाहरूले ठूलो मात्रामा मानिसको शोषण गर्ने गरेका छन्। उनीहरूकै कारण मानिसमा झगडा पनि बढ्दै गएको छ। धेरै नक्कली बाबाले महिलाहरुको शोषण गरेका छन् जुन एक हद सम्म अकल्पनीय छ।”

प्राध्यापक मानव भन्छन्, “अन्धविश्वासको पछाडि दुईवटा कारण छन्। पहिलो डर र दोस्रो लोभ। यसो गरे फाइदा हुन्छ र गरेनौ भने घाटा हुन्छ। तर वास्तविकता के हो भने य‍ो संसारमा कसैले जादु – टुना गरेर कसैलाई हानी पुर्याउन सक्दैन । यदि मानिसमा यस्तो क्षमता हुन्थ्यो भने, म र मेरा कार्यकर्ताहरू अहिले सम्म मारिइसक्ने थिए किनभने हामीले उनीहरूका विरुद्धमा निरन्तर अभियान चलाइरहेका छौं।

अन्धविश्वास विरुद्धको कानुन कति बलियो ?

भारतको केन्द्रीय तहमा अन्धविश्वासविरुद्ध कुनै कानुन छैन तर धेरै राज्यहरूले आफ्नै स्तरमा यसका विरुद्ध कानून बनाएका छन्। महाराष्ट्र, कर्नाटक र गुजरातमा मानव बलि, काला जादू र अमानवीय कुप्रथाहरु हटाउन कानुन बनाइएको छ। जबकि बिहार, छत्तीसगढ, झारखण्ड, ओडिशा, राजस्थान र असममा बोक्सी प्रथा रोक्ने कानुन छ । तर, यी कानुनहरू भूई तहमा कत्तिको कार्यान्वयनमा आएका छन् र कति प्रभावकारी छन् भन्ने प्रश्न उठनु पनि स्वभाविक छ ।

प्राध्यापक श्याम मानव महाराष्ट्रको उदाहरण दिदै यसको व्याख्या गर्छन्। उनी भन्छन्, “महाराष्ट्रमा २०१३ मा बोक्सीविद्या विरुद्धको कानुन बनेको थियो। त्यसबेला राज्यमा कांग्रेस र एनसीपी सत्तामा थिए। त्यसपछि यो कानून लागू गर्न र प्रचार गर्न समिति गठन भयो। तर राज्यमा उक्त काम २०१९ मा सरकार परिवर्तन हुँदा रोकियो र त्यसपछि २०२२ मा त्यो समितिको काम पूर्णरुपमा बन्द भयो ।

अन्धविश्वासको अन्त्य कसरी हुन्छ ?

सबैभन्दा पहिले यो जान्न महत्त्वपूर्ण छ कि अन्धविश्वास कसरी अस्तित्वमा आयो। श्याम मानव बताउँछन्, “मानव मस्तिष्कको देब्रे भागले तार्किक रूपमा सोच्दछ। यसले चीजहरूको पछाडिको कारणहरू खोज्छ। यसैगरी भावनाले दाहिने भागमा काम गर्दछ। हामीलाई जे भनिन्छ, हामी त्यसलाई स्वीकार गर्छौं। यी दुई भाग मस्तिष्कले सँगै काम गर्छन , तर हामीलाई बाल्यकालदेखि नै धर्मसँग सम्बन्धित कुराहरूमा प्रश्न र बहस नगर्न सिकाइन्छ। हामी बाल्यकालदेखि नै सुनेका कुराहरू स्वीकार गर्न थाल्छौं र यहीँबाट अन्धविश्वास सुरु हुन्छ।”

श्याम मानव भन्छन्, “अन्धविश्वास उन्मूलनको एउटै उपाय हो, हाम्रो सोचाइलाई परिवर्तन गरेर तार्किक सोचको विकास गर्ने। साथै वैज्ञानिक स्वभाव अर्थात् वैज्ञानिक दृष्टिकोणलाई मानिसमा प्रवर्द्धन गर्ने । यो शिक्षा र सञ्चार माध्यमबाट मात्र सम्भव छ । हुनसक्छ यदि तार्किक सोच विद्यालयमा पढाइदिएको भए आजसम्म जनता अन्धविश्वासी हुने थिएनन् ।”

श्याम जनताको सोच परिवर्तन नभएसम्म केही नहुने भएकाले अन्धविश्वासविरुद्ध बनेका कानुनका बारेमा तल्लो तहसम्म जनचेतना फैलाउनुपर्नेमा कुरामा जोड दिन्छन् । उनी भन्छन्, “समाजबाट अन्धविश्वास पूर्ण रूपमा उन्मूलन हुन सक्दैन, तर समाजमा ८० देखि ९० प्रतिशत मानिस वैज्ञानिक सोचका साथ बाँच्ने हो भने त्यसलाई अन्धविश्वासमुक्त समाज भन्न सकिन्छ।”

के हाम्रो नेपाली समाज पनि यस्तै छैन र ?

प्रतिक्रिया