पोखरा औद्योगिक क्षेत्र
२०२८ सालको मङ्सिर २ गते बेलायती साम्राज्यबाट स्वतन्त्र भए पछि सात वटा सहरहरू मिलेर संयुक्त अरब इमिरेट्स नामबाट स्वतन्त्र राज्यको घोषणा गरे । यही सात सहरमा एक सहर दुबई पनि रहेको थियो । यसरी बनेको गठबन्धन राज्यको एक सहर दुबईमा अचानक पेट्रोलको उत्पादन बढ्न थाल्यो । केवल मोतीको व्यापार गर्ने दुबई पेट्रोलको केन्द्र बन्यो । २०३१ सालसम्म पनि मरुभूमिमा रहेको सानो सहर मात्र थियो दुबई । पचास वर्षमा दुबई विश्वको घुम्न योग्य प्रमुख सहरका साथ साथ धनाध्यहरुको एक सहर पनि बन्न पुग्यो ।
पचास वर्ष अगाडि जब राजा महेन्द्रको स्वर्गारोहण पछि नयाँ राजाका रूपमा राजा वीरेन्द्रले राज्यारोहण गरिबक्सियो । त्यसपछि राजनैतिक खिचातानी भन्दा विकास निर्माणका लागि सहरीकरणका कामहरूको सुरुवात भयो । राजा वीरेन्द्रकै आगमन पछि पेरिस सहरको नमुनामा सुर्खेत सहर बनाउन थालिएको थियो । महेन्द्रनगरको स्वरूपमा परिवर्तन भएको थियो । जुम्लालाई सहरीकरण उन्मुख बनाइएको थियो । यसरी नै राजा वीरेन्द्रको मनपर्ने सहर पोखरालाई पनि आधुनिकीकरण तर्फ उन्मुख बनाउनका लागि सुरुवात गर्ने जमर्को स्वरूप अमेरिकामा अध्यापन गरेर फर्किएका शङ्कर राज पाठकलाई पोखरामा गण्डकी अञ्चलको अञ्चलाधीशका रूपमा नियुक्त गरिबक्सेको थियो । पोखरा आइपुगेका शंकरराज पाठकले राजा वीरेन्द्रको सदेक्षा स्वरूप पोखरालाई विकास निर्माणका लागि अगाडि बढाउन थालिएको थियो । दुबई जति कै महत्त्वपूर्ण सहर शायद लाग्यो होला । र यहाँ विकासका पूर्वाधारका लागि आवश्यक केही मुख्य आधारहरूलाई केलाउँदै सुरुवात गर्न थालेका थिए । एउटा राम्रो सहर बन्न अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता रहेको भन्दै पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलका लागि जग्गा अधिग्रहण थाले । तर जुन बेला बनाउन थालिनु पर्ने हो त्यो बेला थालनी हुन नै सकेन । पचास वर्ष पछि जब अन्तर्राष्ट्रिय विमानस्थल बन्यो । यसको चर्को लगानी तथा अन्तर्राष्ट्रिय उडान हुन नसक्दा पोखरेलीहरूका लागि घाँडो जस्तै हुन पुग्यो । हुन त चिनिया सरकारले यसका लागि उपलब्ध गराएको ऋणलाई अनुदानका रूपमा परिवर्तन गर्ने तैयारी गरिसकेको छ । तर भारतीय पक्षले नयाँ हवाई रुट उपलब्ध नगरिदिँदा अन्तर्राष्ट्रिय उडान भने हुन सकेको छैन ।
शंकरराज पाठकले नै पोखराको पर्यटनको प्रमुख आधार फेवाताल तथा बेगनास ताल हुन सक्ने सम्भावना त्यति बेला नै औँल्याएर पृथ्वीराजमार्गसंग बेगनास ताल जोडिने तीन किलोमिटर लामो सडक तथा फेवाताल जोडिने छोटो बाटो पृथ्वीराजमार्गको अन्तिम बिन्दु पृथ्वीचोकबाट सिमलचौर हुँदै फेवाताल पुग्न तीन किलोमिटर लामो सडक बनाउने सुरुवात गरिदिए । फेवातालले त शंकरराजको सपना साकार गर्न सक्षम भयो तर बेगनासले भने खासै सकेन ।
हवाई यातायात र पर्यटनका साथ साथ औद्योगिक विकास पनि आवश्यक पर्ने भन्दै २०३१ सालकै असोज १६ गते पोखरा औद्योगिक क्षेत्रको शिलान्यास पनि गरिदिए । करिब ११० रोपनी जग्गा अधिग्रहण गरेको सूचना सोही वर्ष वैशाख ९ गते प्रकाशित गरिएको थियो । जस अनुसार तत्कालीन पोखरा नगर पञ्चायत वडा नं १० अन्तर्गत पूर्वमा बिरौटाको कुलो, पश्चिममा मियाँहरूको बारी, उत्तरमा कुँडहर जाने ठाडो बाटो र दक्षिणमा पृथ्वीराजमार्गको सडक रहेको थियो । यस भित्र रहेको शेरअली मियाँ, मुसद्धिन मियाँ, हलिमा मियाँ, सखिया मियानी, कुर्वानअली मियाँ, विविरन मियाँ, इलाइदिन मियाँ, दिनबख्स मियाँको गरी मियाँहरूको करिब ३१ रोपनी १० आना । त्यस्तै मङ्गले सार्की, कृष्णबहादुर सार्की, रामबहादुर बराल, चन्द्रकला घिमिरे, नगेन्द्रराज घिमिरे, पद्मराज घिमिरेको गरी करिब १८ रोपनी ३ आना जति र सार्वजनिक बाटो तथा कुलो गरी करिब ५९ रोपनी १० आना गरी जम्मा १०९ रोपनी ७ आना २ दाम जग्गा अधिग्रहण गरिएको थियो । यस बाहेक सूर्यलाल घिमिरेको खोर, माधव बराल क्षेत्रीको खोर, नरबहादुर र शुकदेव सार्कीको खोर, कुलबहादुर सार्कीको खोर, वैद्य खगराजको खेत, बमबहादुरको खोर, भृकुटीको छोरा माहिलोको खोर, रामबहादुरको खोर, पहले सार्कीको खोर तथा मियाँहरूको खोर र बाँसगाछीहरु समेत गरी जम्मा २३४ रोपनी ५ आना २ पैसा जग्गा अधिग्रहण गरिएको थियो । यस जग्गाहरूको मुआब्जा बुझ्नका लागि २०३० असार २५ मा नै सूचना प्रकाशित गरिएको थियो ।
तत्कालीन उद्योग वाणिज्य राज्य मन्त्री भुवन मान सिंहको अध्यक्षतामा गठन भएको औद्योगिक विकास समितिले नै पोखरा औद्योगिक क्षेत्र सम्बन्धी कार्य गर्ने निर्णय गराइएको थियो । यस अगाडि २०३० साउन १ गते पोखरा नगर पञ्चायत क्षेत्र भित्रलाई पोखरा सहरी क्षेत्र कायम गरिएको थियो ।
शिवशंकर बिस्कुट फैक्ट्री, गण्डकी नुडल्स (सिन्के चाउचाउ) , फेवा पाउरोटी, जयमाँ लक्ष्मी कन्फेक्शनरी, सिंह खनिज उद्योग जस्ता उद्योगहरूको सुरुवात भएको थियो । सुरुमा केही उद्योगबाट सुरु गरेकोमा हाल ७६ उद्योगहरू सञ्चालित छन् । केही लाख रुपैयाँको लगानीमा सुरु भएको औद्योगिक क्षेत्र आज अरबौँ लगानी र हजारौँको मजदुरको कर्म क्षेत्र बनेको छ । देशको लागि पनि अरबौँको आर्थिक योगदान गर्न सक्षम भइसकेको छ ।
नेपालमा औद्योगिक क्षेत्रको अवधारणा अमेरिकी सहयोग नियोग यूएसएडबाट भएको हो । यूएसएडकै सहयोगमा २०१६ साल फागुन ५ गते बालाजु औद्योगिक क्षेत्रको शिलान्यास भएको थियो । तर उद्योगको उद्घाटन भने २०२० जेठ १९ गते मात्र हुन पुग्यो । यसपछि दोस्रो औद्योगिक क्षेत्रका रूपमा २०२० मंसिर १२ गते पाटन औद्योगिक क्षेत्रको उद्घाटन भयो । यसै वर्षको मंसिर २० गते हेटौडा औद्योगिक क्षेत्रको सुरुवात भयो । ९ वर्ष पछि २०२९ सालमा धरान औद्योगिक क्षेत्रको शुभारम्भ भयो । २०३० सालमा पहिलो पटक सुदूर पश्चिमाञ्चलमा नेपालगन्ज औद्योगिक क्षेत्रको सुरुवात भयो । यसपछि बल्ल २०३१ सालमा पोखरा औद्योगिक क्षेत्रको सुरुवात भएको हो । सुरुमा करिब ११० रोपनी क्षेत्रफलमा सुरुवात गरिएको पोखरा औद्योगिक क्षेत्र पछि ४७२ रोपनीमा फैलियो । पोखरा पछि बुटवल, भक्तपुर, वीरेन्द्रनगर र सप्तरीमा गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको सुरुवात भएको थियो । २०४४ सालमा सप्तरीमा औद्योगिक क्षेत्रको स्थापना भए पछि २०४५ साउन १ गतेबाट औद्योगिक क्षेत्रहरूको व्यवस्थापन तथा एकीकृत समन्वय गर्नका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको गठन भएको थियो । यसै मितिदेखि पोखरा औद्योगिक क्षेत्र पनि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड अन्तर्गत रहने निर्णय भयो ।
नेपालमा व्यापार तथा उद्योगका कुरा नै गर्ने हो भने इसा पूर्व ३०० भन्दा अगाडि नै नेपालमा उत्पादन हुने पानी पनि रोक्न सक्ने वर्षावरणम् नामको ऊनको कम्बलहरु भारतमा निकासी हुने गर्दथ्यो । यसका साथै भिम्मिसी तथा अपसरका नाम गरेको कम्बलहरु पनि भारतमा बिक्री गरिन्थे । यसरी किराँतकालमा सुरु भएको यो व्यापार लिच्छवी कालसम्म पनि रहेको थियो । लिच्छवीकालमा नेपालको व्यापार तिब्बतसंग निकै बढेको थियो । यसरी मल्लकाल हुँदै शाहकालसम्म पनि नेपाल आयात भन्दा बढी निर्यात गर्ने मुलुकमा पर्दथ्यो ।
(केही दिन अगाडि असोज १६ गते पोखरा औद्योगिक क्षेत्रको पचास वर्ष पुरा गरेको अवसरमा ।)
फोटो श्रोत – सुनिल श्रेष्ठ, लक्ष्मी हाउस ।
प्रतिक्रिया