युरोपेली देशहरुमा इच्छामृत्युको चलन बढ्दो

काठमाडाैं । युरोपका कतिपय देशमा गम्भीर बिरामीहरूको इच्छामृत्युलाई कानुनी अनुमति दिइएको छ। नेदरल्याण्डमा सन् २०२२ मा ८,७२० जनाको यसरी नै मृत्यु भएको थियो । यद्यपि अहिले इच्छामृत्युको बिषय र नैतिकताको बहस अझ चर्किएको छ।
इच्छामृत्युलाई संसारका धेरै कुनामा कुनै न कुनै रूपमा कानुनी मान्यता दिइएको छ। निको हुन नसक्ने र राम्रो जीवन बिताउन नसक्ने रोगबाट पीडित व्यक्तिहरूका लागि अन्तिम उपायको रूपमा यस्तो अनुमति प्रदान गरिएको हो । त्यस्ता बिरामीलाई टर्मिनली रोग भनिन्छ।
नेदरल्याण्ड पहिलो
अप्रिल २००२ मा नेदरल्याण्ड्स ‘सक्रिय इच्छामृत्यु’ लाई कानुनी मान्यता दिने पहिलो देश बनेको हो । यहाँ डाक्टरहरूले गम्भीर बिरामीहरूलाई विशेष औषधिको घातक खुराक दिन्छन्। त्यहाँ अप्रिल २०२३ मा नाबालिगहरूलाई पनि यस प्रकारको मृत्युको दायरामा ल्याइयो। एएफपीका अनुसार २०२२ मा नेदरल्याण्डमा यसरी ८,७२० जनाको मृत्यु भएको थियो जुन देशमा हुने कुल मृत्युको पाँच प्रतिशत हो।
बेल्जियम
मे २००२ मा बेल्जियम इच्छामृत्युलाई अनुमति दिने र आत्महत्या गर्न सहयोग गर्ने दोस्रो देश बन्यो । २०१४ मा बेल्जियम नेदरल्याण्ड भन्दा अगाडि पुग्यो किनभने सबै उमेरका बालबालिकालाई पनि यस्तो मृत्युको अनुमति प्रदान गरियो । यद्यपि यसका लागि अभिभावकको अनुमति अनिवार्य छ ।
लक्जमबर्ग तथा स्पेन
सन् २००९ मा लक्जमबर्गमा इच्छामृत्यु र सहयोगी मृत्यु ( यूथनेशिया र असिस्टेन्ट डाईंङ ) लाई अपराधको श्रेणीबाट हटाइएको थियो भने स्पेनले जुन २०२१ मा ती दुवै प्रकारका मृत्युलाई कानुनी मान्यता दियो ।
पोर्चुगल
मे २०२३ मा पोर्चुगलमा इच्छामृत्युलाई अपराधरहित बनाउने विधेयक पारित भएको थियो । देशका राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाको कडा विरोधका बाबजुद त्यो कानुनलाई संसदले अनुमोदन गर्यो । राष्ट्रपति डे सुसा धार्मिक प्रवृत्तिको र नियमित रूपमा चर्च जाने भएकाले यस्तो कानुनको बिरोधमा थिए ।
स्विट्जरल्याण्ड
स्विट्जरल्याण्डमा इच्छामृत्युलाई अनुमति छैन, तर धेरै दशकदेखि असिस्टेन्ट आत्महत्यालाई अनुमति दिइएको छ। जसका कारण युरोपभरका मानिस आफ्नो समस्याबाट छुटकारा पाउन त्यहाँ पुग्छन् । स्विट्जरल्याण्डको एक सहरमा यस्तो सहयोगी आत्महत्याका लागि संस्था नै कार्यरत छ ।
अस्ट्रिया
२०२२ मा अस्ट्रियाले असिस्ट सुसाइटलाई कानुनी मान्यता दिएको थियो । अस्ट्रियाको संवैधानिक अदालतले इच्छामृत्युलाई अनुमति नदिनु देशका नागरिकको मौलिक अधिकारको हनन बताउँदै त्यस्तो बन्देजलाई गैरकानूनी ठहर्याएको थियो ।
इटाली
फेब्रुअरी २०२२ मा इटालीको संवैधानिक अदालतले असिस्टेन्ट डाईङलाई अपराधको श्रेणी बाट हटाउन जनमत संग्रहमा जान अनुमति दिएन । यद्यपि अदालतले असहनीय पीडाबाट गुज्रिरहेको व्यक्तिलाई आत्महत्या गर्न सघाउनेहरुलाई सधैँ सजाय दिन नहुने पनि बताएको छ ।
बेलायत
यस विषयमा बेलायतमा निकै बहस चलिरहेको छ । २०१५ मा सांसदहरूले सहयोगी मृत्यु ( असिस्टेन्ट डाईङ ) लाई अनुमति नदिने पक्षमा बहुमतका साथ मतदान गरे । तर फेरि पनि यो बिषयमा बहस र मतदानको माग रोकिएको छैन ।
फ्रान्स अनुमतिको बाटोमा
अब फ्रान्समा पनि गम्भीर बिरामीहरूले चाँडै नै असिस्टेन्ट डाईङका लागि कानुनी अनुमति प्राप्त गर्न सक्छन्। राष्ट्रपति इमानुएल म्याक्रोनले हालै यस बिषयमा गरिएको प्रस्तावलाई आफ्नो समर्थन दिएका छन्।
प्रतिक्रिया