देश खत्तम भयो !
धेरैले नेपाल भत्कियो, खत्तम भयो, पहिले भन्दा झन् झन् बिग्रदैछ, आज भन्दा त हिजो नै राम्रो थियो भनेर आत्मनिन्दा गरेको सुनिन्छ। तर देश तपाई हामीले सोचे भन्दा प्रगति गर्दैछ। पहिले भन्दा राम्रो छ, बिग्रेको छैन है। कुनै देश बिग्रियो कि सप्रियो भनेर हेर्न साधरणतया तलका प्रमुख सूचकहरू हेर्ने गरिन्छ :
बाल मृत्युदर : सन् २००१ मा प्रति एक हजार जन्ममा (live births) ५९.५६४ जनाको मृत्यु भएकोमा सन् २०२२ मा प्रति एक हजार जन्ममा २४.२८७ जनाको मात्र मृत्यु भएकोछ।
औसत आयु : सन् २००१ मा करिब ६२.५२ वर्ष रहेको नेपालको औसत आयु सन् २०२२ मा करिब ७१.४५ वर्ष पुगेको छ ।
प्रतिव्यक्ति आय : नेपालको प्रतिव्यक्ति आय सन् २००१मा युएस डलर २४१ भएकोमा सन् २०२१ मा १२०८ छ।
शिक्षा : हाम्रो साक्षरता दर सन् २००१ मा ४८.६१ प्रतिशतको हाराहारीमा रहेकोमा सन् २०२१ मा बढेर ७१.१५% प्रतिशत पुगेको छ ।
बिद्युतको पहुँच : सन् २००१ मा करिब २४.६ प्रतिशत जनसङ्ख्या रहेकोमा सन् २०२० मा करिब ८९.९ प्रतिशत जनसङ्ख्यामा विद्युत्को पहुँच पुगेको छ ।
खोप : सन् २०००मा ६६% बालबालिकाले सामान्य रोगविरुद्ध आधारभूत खोप प्राप्त गरेका थिए भने २०२२ मा ९५ प्रतिशतभन्दा बढीले प्राप्त गरेका छन् ।
भोकमरी : सन् २००१ मा कुपोषणको दर २३.५ प्रतिशत रहेकोमा सन् २०२० मा ५.५ प्रतिशतमा झरेकोछ।
मातृ मृत्युदर : नेपालले सन् २००० मा प्रति एक लाख जन्ममा (live births) ५५३ जनाको मृत्यु भएकोमा सन् २०१७ मा प्रति एक लाख जन्ममा १८६ जनाको मृत्यु भएको छ।
प्रजातन्त्र : इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (ईआईयू)ले प्रत्येक वर्ष विभिन्न देशहरूमा लोकतन्त्रको स्थिति मापन गर्दछ, यसको लागि उसले “डेमोक्रेसी इन्डेक्स”को प्रयोग गर्छ । सो अनुसार सन् २००७ मा नेपालको स्कोर ५.८२ थियो भने २०२० मा यो ६.३१ पुगेको छ, प्रगति गरेको छ ।
भ्रष्टाचार नियन्त्रण : नेपालको सन् २००१ मा Corruption Perceptions Index (CPI) २.४ थियो भने २०२१ मा यो ३.१ छ । भ्रष्टाचार नियन्त्रणमा नेपालले पछिल्लो दशक केही प्रगति गरेकोछ।
सूचकहरूले देशले स्वास्थ्य, शिक्षा, अर्थ, राजनीति सबै तिर प्रगति गर्दैछ भनेर देखाइ रहेका छन् । तर पनि हामी भन्छौं – देस खत्तम भयो , बर्बाद भयो , देस डुब्दैछ ।
अब पत्रकार केदार शर्माको तपाईँ र म बाहेक सबै . . .! शिर्षकको यो टिप्पणी पढौं :
“देश खत्तम !
देश खत्तम !
खत्तम देश ! ” – उहाँले भन्नुभयो।
मैले भनेँ, “तथ्याङ्कहरूले त राम्रै देखाइरहेका छन् त!”
उहाँलाई मन परेन। भन्नुभयो, “तथ्याङ्क कसरी बनाइन्छन्, हाम्लाई थाहा छ।”
.
म फेरि प्रयत्न गर्छु, “गएको ४४ वर्षदेखि देश घुमिरहेको छु, समाज त उँभो लागेको छ त हौ!”
उहाँ भन्नुहुन्छ, “४४ वर्षमा सिङ्गापुर कहाँबाट कहाँ पुग्यो थाहा छ?”
अनि मुर्मुरिनु हुन्छ, “यो सब ढल्छ, तासको घर जसरी ढल्छ।”
“यहाँ केही हुँदैन / यो देश बन्दैन / उथलपुथल हुन्छ,” उहाँले भविष्यवाणी गर्नुभयो र निहुँपिहुँले भन्नु भयो, – “यो भन्दा त ‘उही’ राम्रो!”
याद गर्नु भएको छ, यसो भन्ने को छन्?
यसोभन्ने अधिकांश आम नेपालीको भन्दा सयौँ गुना सम्पन्न जीवन बाँचिरहेका र हजारौँ गुना सम्पत्ति कमाएकाहरू छन्।
सायद त्यति क्षमता नभएकालाई कामको चाप छ, त्यति धेरै मुर्मुरिएको देख्दिनँ।
कमाएका उनैले हो, बदमासी पनि गरेनन् होला, तर त्यो कमाउने परिवेश दिएको भने यही व्यवस्थाले हो।
तर उनीहरूलाई “यो झोलेहरूको व्यवस्था” को प्रशंसा गर्न मन लाग्दैन। उनीहरू आफू जनता भए पनि आफूमाथि शासन सम्भ्रान्तहरूले नै गरेको मन पराउँछन्।
(तपाईँलाई भनेको होइन, पटक्कै होइन। तपाईं एक जना बाहेक सबै त्यस्तै छन्।)
उनीहरूलाई भन्न मन लाग्छ, “तपाईं चाहिँ सधैँ उँभो लागिरहने र देश ओरालो गइरहने हुन्छ? हुन्छ भने कुनै न कुनै प्रकारले ढुकुटीमा तपाईंको पनि हात परेको छ।”
तर भन्दिनँ!
तपाईँले अर्को कुरा पनि याद गर्नुभएको होला, यसरी मुर्मुरिनेमा अधिकांश कुनै न कुनै रूपमा राज्यकोषबाट सुविधा पाएकाहरू छन् (त्यो पनि तपाईँ बाहेक है!)
वा, ‘नारान समुदायका देशभक्तहरू’ छन् (त्यो पनि तपाईँ बाहेक)।
आफ्ना सन्तानलाई देशमा टिकाउन नसक्नेहरूलाई देशका युवा बाहिर गएको पीर छ।
जुगौँदेखि कोदालो नसमातेका हरूलाई अरूले खेती नगरेको पीर छ।
आफैँले खेत- बारी मासेर घर बनाएकाहरूलाई “खेती योग्य जमीन सबै कंक्रिटका जंगलले ढाकिसके”, भन्ने चिन्ता छ।
अनि म हिन्दीमा छक्क पर्छु, “आखिर क्यों?”
तपाईँ र मबाहेक सबैको अवस्था यस्तै छ।
सामाजिक संजाल बाट
प्रतिक्रिया