बिहीबार, कार्तिक २९, २०८१

वन जोगाउने संकल्प पूरा भएन…

नेपालखोज २०८१ असोज २८ गते १५:०८

काठमाडाैं । एकातिर जलवायु परिवर्तनको प्रभाव तीव्र गतिमा बढ्दै गएको छ भने अर्कातर्फ विश्वभर तिब्र गतिमा वन विनाश भइरहेको छ । हालै सार्वजनिक भएको ‘स्टेट अफ फरेस्ट’ प्रतिवेदनअनुसार गत वर्ष विश्वभर लाटभिया देश बराबरको वन क्षेत्र नष्ट भएको थियो । यो प्रतिवेदन अनुसन्धान संस्था र नागरिक समूहले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

सबैभन्दा ठूलो वन क्षेत्र गुमाउने देशहरूमा ब्राजिल, इन्डोनेसिया, बोलिभिया तथा प्रजातान्त्रिक गणतन्त्र कंगो छन् । अफ्रिका, एसिया, ल्याटिन अमेरिका र क्यारेबियनमा वन विनाशको प्राथमिक कारणमा खेती, सडक निर्माण, आगलागी र व्यावसायिक वन कटान समावेश छन्।

२०२१ मा ग्लासगोमा आयोजित २६ औं संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलनमा १४० भन्दा बढी देशले वन विनाश रोक्न वाचा गरेका थिए तर, उक्त संकल्प त्यति प्रभावकारी देखिँदैन । पछिल्लो तथ्यांकले गत वर्ष मात्रै ६३.७ लाख हेक्टर वन नष्ट भएको देखाएको छ । ‘फरेष्ट डिक्लेरेशन एसेसमेन्ट’ ले अन्तर्राष्ट्रिय स्तरमा तोकेको लक्ष्य हासिल गर्न सिमित हुनुपर्नेभन्दा ४५ प्रतिशत बढी वन कटान भैरहेको पनि जानकारी दिइएको छ । यसको अर्थ यस दिशामा भैरहेका प्रयासहरू पर्याप्त र प्रभावकारी छैनन्।

वन संरक्षणमा पुनर्विचार जरुरी

‘स्टेट अफ फरेस्ट’ प्रतिवेदनअनुसार २०३० सम्ममा निर्धारित अन्तरिम लक्ष्यअनुसार ‘शून्य वन विनाश’तर्फको प्रगति ट्र्याक गरिएको थियो। जसलाई आजको वन विनाश दरसँग तुलना गरिएको थियो। उष्ण कटिबन्धीय क्षेत्रमा करिब ९६ प्रतिशत वन काटिएको र ती सबै क्षेत्रले आफ्नो वार्षिक लक्ष्य पूरा गर्न असफल भएको पाइएको छ । २०२३ मा ओशिनियाका टापुहरू र अष्ट्रेलियाको उत्तर र पूर्व प्रशान्त क्षेत्रका देशहरूले मात्र यो लक्ष्य पूरा गरे।

“परिवर्तन सम्भव छ, तर औद्योगिक देशहरूले आफ्नो अत्यधिक उपभोग (संसाधन) मा पुनर्विचार गर्नुपर्दछ र वन धनी देशहरूले आफ्नो जंगलको संरक्षण गर्नुपर्दछ,” रिपोर्टका प्रमुख लेखक क्लाइमेट फोकसका इभान पाल्मेजियानीले समाचार एजेन्सी डीपीएलाई भनेका छन् ।

विश्वमा सबैभन्दा बढी वन फँडानीको दर ब्राजिलमा रेकर्ड गरिएको छ । यद्यपि रिपोर्ट अनुसार वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाको सरकारले यस दिशामा अघिल्लो राष्ट्रपति बोल्सोनारोको कार्यकालको तुलनामा राम्रो प्रदर्शन गरिरहेको छ । सिल्भाको कार्यकालमा वन फँडानी कम भएको छ । गत वर्ष, ब्राजिलमा अमेजन वन विनाशको दर २०२२ को तुलनामा ६२ प्रतिशतले घटेको थियो । २०१९ देखि २०२२ सम्मको अवधिमा जब बोल्सोनारो राष्ट्रपति थिए, अघिल्लो दशकको औसतको तुलनामा अमेजन वनको वन विनाश ७५ प्रतिशतले बढेको थिय‍‍ो ।

ब्राजिलक‍ो अमेजन वर्षावनले कार्बन सोषणमा ठूलो भूमिका खेल्छ र यो एक विश्वव्यापी सम्पदा हो । जलवायु परिवर्तन विरुद्ध लड्ने अभियानमा यसले महत्त्वपूर्ण योगदान गर्दछ । यसको संरक्षण पनि अहिले विश्वब्यापि चिन्ताको कारण बनेको छ ।

प्रतिक्रिया