एक अर्ब मानिस अत्यन्त गरिबीमा

विश्वभर एक अर्बभन्दा बढी मानिस चरम गरिबीमा बाँचिरहेका छन् । ती मध्ये आधाभन्दा बढी बालबालिका छन् र करिब ४० प्रतिशत युद्ध वा अन्य प्रकोपसँग लडिरहेका छन् । संयुक्त राष्ट्रसंघले आफ्नो पछिल्लो प्रतिवेदनमा एक अर्बभन्दा बढी मानिस अमानवीय अवस्थामा बाँचिरहेको बताएको छ ।
यो प्रतिवेदन संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) र अक्सफोर्ड विश्वविद्यालयको ‘अक्सफोर्ड पोभर्टी एन्ड ह्युमन डेभलपमेन्ट इनिसिएटिभ’ ले तयार पारेको हो । प्रतिवेदनमा ८३ प्रतिशतभन्दा बढी गरिब जनता ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरेको उल्लेख छ र लगभग यति नै गरिब सब सहारा अफ्रीका तथा दक्षिण एशिया छन् ।
यूएनडीपी र अक्सफोर्डले २०१० देखि बहुआयामिक गरिबी सूचकांक ९एमपीआई० जारी गर्दै आएका छन्, जसले स्वास्थ्य, शिक्षा तथा जीवनस्तर लगायतका १० वटा सूचक प्रयोग गर्दछ । यो वर्षको सूचकांकमा ६.३ अर्ब जनसंख्या भएका १ सय १२ वटा देशको तथ्यांक समेटिएको छ ।
सूचकांक अनुसार १.१ अर्ब मानिस चरम गरिबीमा बाँचिरहेका छन्, जसमध्ये आधाभन्दा बढी पाँच वटा देशमा बस्छन् । भारतमा २३ करोड ४० लाख, पाकिस्तानमा ९ करोड ३० लाख, इथियोपियामा ८ करोड ६० लाख, नाइजेरियामा ७ करोड ४० लाख तथा कंगोमा ६ करोड ६० लाख मानिस चरम गरिबीमा बाँच्न विवश छन् ।
गरिबीमा बाँचिरहेका आधाभन्दा बढी अर्थात लगभग ५८४ मिलियन मानिस १८ वर्ष भन्दा कम उमेरका छन् । त्यसमध्ये ३१ करोड ७० लाख उप-सहारा अफ्रिकामा र १८ करोड ४० लाख दक्षिण एसियामा छन् ।
गरिबी बढ्दै गएको अफगानिस्तानमा गरिब बालबालिकाको संख्या पनि बढी छ । त्यहाँ करिब ५९ प्रतिशत जनता गरिबीमा बाँचिरहेका छन् । गत वर्षको एक प्रतिवेदनमा एसियामा अझै पनि भोकमरी सबैभन्दा ठूलो समस्या रहेको उल्लेख गरिएको थियो ।
युद्ध र गरिबी
यूएनडीपी र अक्सफोर्डले यो वर्षको प्रतिवेदन युद्धको बीचमा रहेका गरिबहरुमा केन्द्रित रहेको बताएका छन किनभने २०२३ मा दोस्रो विश्वयुद्धपछि सबैभन्दा धेरै युद्ध देखिएका छन् । यसक्रममा ११ करोड ७० लाख मानिस युद्ध, प्रकोप र अन्य कारणले घर छोड्न बाध्य भएका छन् । यो संख्या २०२२ भन्दा बढी हो । २०२२ मा १० करोड मानिस विस्थापित भएका थिए । यो प्रतिवेदनले द्वन्द्व र गरिबी दुबैकुराको एकसाथ अनुभव र सामना गर्ने कठोर वास्तविकताहरूलाई उजागर गर्छ ।
शान्त क्षेत्रमा बसोबास गर्ने गरिबको तुलनामा, गरिबीका धेरै सूचकहरूमा मापदण्डभन्दा तल बस्ने वा युद्धग्रस्त क्षेत्रमा बस्ने ४५ करोड ५० लाख मानिसमा पोषण, पानी र सरसफाइ, बिजुलीको पहुँच छैन भने शिक्षाजस्ता आधारभूत आवश्यकताहरूमा उनीहरूले तीनदेखि पाँच गुणा बढी कठिनाइहरूको सामना गर्छन् ।
अक्सफोर्ड इनिसिएटिभकी निर्देशक सबिना अल्किरे भन्छिन -युद्धमुक्त क्षेत्रमा गरिबी घटाउन सजिलो हुन्छ तर यी ४५ करोड ५० लाख मानिसहरूका लागि धेरै गाह्रो छ, जो गरिबीका साथै आफ्नो सुरक्षाका बारेमा पनि चिन्तित छन् । बुर्किना फासो जहाँ सैन्य शासन छ र आतंकवादी हमलाहरू बढिरहेका छन् अनि यसको लगभग दुई तिहाइ जनसंख्या गरिब छ । पश्चिम अफ्रिकी देशका विभिन्न क्षेत्रहरूमा गरिबीको दायरा २१ प्रतिशत देखि ८८ प्रतिशतसम्म रहेको देखाउँछ ।
रोयटर्स र एपी
प्रतिक्रिया