मंगलबार, असार १७, २०८२

कुनै बेलाका फिनलैण्डका राष्ट्रपतिको नेपाल शिकार यात्रा

सुनिल उलक २०८१ कार्तिक ४ गते १६:१०

फिनलैण्डमा जन्मेका कार्ल गुस्ताफ एमिल मैनरहाइम कुनै समय फिनलैण्डका सैन्य प्रमुख तथा राष्ट्रपति समेत बनेका थिए । रुसी साम्राज्य भित्र फिनलैण्ड हुने समय उनले रुसी सेनामा लेप्टेनको पदमा भर्ति भएका थिए । उनले सन १९०४ मा भएको रुस जापान युद्ध तथा प्रथम विश्व युद्धमा समेत रुसी सैनिक अफिसरका रुपमा लडेका थिए ।

रसियन अक्टोवर क्रान्तीको समय रसियन सेनामा रहेका गुस्तफा फिनलैण्ड फर्किएर सन १९१९ मा फिनलैण्डको सेनामा फिल्ड मार्सलका रुपमा रसियाको विरुद्धमा खडा रहे । सन १९१९ मा फिनलैण्ड रुसी साम्राज्यबाट स्वतन्त्र भयो । यसपछि भने एक किसिमले फिनलैण्डको कुनै प्रमुख पदमा नरहेर स्वतन्त्र रुपमा देशका लागि सेवा गरिरहे । सन १९३१ मा राष्ट्रिय रक्षा परिषदका अध्यक्ष बने ।

स्वतन्त्र देश फिनलैण्डका एक सैनिक अफिसरका रुपमा रहेको समय उनले दुइ पटक नेपालको शिकार यात्रा गरेका थिए, बि।सं. १९८९ को अन्तमा तथा बि.सं. १९९३ को माघको अन्तमा । बि.सं. १९८९ को शिकार यात्रामा खासै शिकार गर्न पाएनन् । बि.सं. १९९३ को माघमा बेलायती मन्त्री अर्ल अफ एलेसफोर्ड, मेजर जनरल सर रिचार्ड हवार्ड तथा कर्नल स्टिभेन्सन चितवनमा शिकारको लागी आएका थिए ।

शिकारमा रहदै फिनलाण्डका तत्कालिन फिल्ड मार्सल कार्ल गुस्तफा एमिल मेनरहाइम पनि भारत भ्रमणमा आएको समय शिकारको लागी चितवन आमन्त्रण गरिएको थियो । त्यतिबेला फिल्ड मार्सल मेनरहेमले शिकार गरेको बाघ निकै लामो थियो । करिव १० फिट ७ इन्च नापिएको बाघ त्यतिबेलाको चर्चित बाघ थियो । त्यसबेलासम्म उनले मारेको बाघ सबैभन्दा लामो बाघका रुपमा लिइएको थियो । तर पछि जुद्ध शम्शेरले सोही शिकारको क्रममा मारेको १० फिट ९ इन्च लामो बाघ मारेपछि भने उनले मारेको बाघ दोश्रो लामो बाघको रुपमा लिइएको थियो ।

मैनरहाइमको नेपाल शिकार यात्रामा तत्कालिन श्री ३ जुद्धशम्शेर नै सरिक भएका थिए । नेपालमा सबैभन्दा बढि जनावरको हत्या गर्नेमा जुद्धशम्शेर सबैभन्दा अगाडि रहेको छ । उनले आफ्नो शिकारी जीवनकाल बि.सं. १९९०/९७ को शिकार अवधिमा ४३३ बाघ, ३८ गैडा, ९३ चितुवा, २२ भालु, २ सिंह, २० गोहि, १ अर्ना तथा ७० हरिण मारेका थिए ।

यसरी जीवनकालमा सयौ जनावरको शिकार गरेका तथा राणाशासनबाट मुक्त गर्न लागिपरेका चार शहिदलाई मृत्युदण्डको सजाय दिने जुद्धशम्शेरले जीवनको अन्त तिर भने सन्यासी बने । हिन्दीमा एक भनाइ छ नौ सौ चूहे खाकर बिल्ली हज को अर्थात पाप गर्न सम्म गरेर धर्म गरेको नाटक गर्ने ।

कार्ल गुस्तफा मेनरहाइम दोश्रो विश्व युद्धको समय फिनलैण्डका राष्ट्रपति बन्न सफल भए । लामो समय राष्ट्रपति नबने पनि उनको नामको संग्रहालय भने फिनलैण्डको राजधानी हेलसिन्कीमा मेनरहाइम संग्रहालयमा रहेको छ । यहिं संग्रहालयमा उनले मारेको १० फिट ७ इन्च लामो बाघको टाउको सहितको छाला भुइमा सजाएर प्रदर्शनमा राखिएको छ । शुरुमा खुला प्रदर्शनमा राखिएको बाघको जुङ्गा त्यहाँ पनि हरायो । नेपालमा मात्र मरेको बाघको जुङ्गा तान्ने भन्ने कथन छ ।

लाचार वा ह्याउ नभएकाहरुलाई मरेको बाघको जुङ्गा तान्ने भनिन्छ । तर यहाँ बाघको जुङ्गा तान्त्रिकहरुले बिभिन्न साधनाका लागि प्रयोग गरिन्छ भनिन्छ । साथै बाघको जुङ्गा साथमा राख्दा नराम्रो घटनाबाट जोगाउँछ भन्ने विश्वास गर्दछन् । तर फिनलैण्डमा पनि बाघको जुङगा हराए पछि नक्कली नाइलनको जुङ्गा बनाएर त्यस बाघमा राखिएको थियो । फिनलैण्डमा भने बाघको जुङ्गा ह्विस्कीको गिलासमा राखेर पिउँदा यौनशक्ति बढ्छ भन्ने विश्वास रहेको छ ।

त्यसबेला मेनरहाइमले मारेका तीन बाघ मध्य अन्य दुइको छाला भने एक सेन्टहमिनामा र अर्को लेपिनरन्ताको अफिसर्स क्लवमा राखिएको छ ।

प्रतिक्रिया