गाजाका एक हजार महिला र बालबालिकालाई तत्काल यूरोप स्थानान्तरण गरिने : डब्ल्यूएचओ

कोपेनहेगन । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को युरोप शाखाका प्रमुखले गाजाबाट एक हजार महिला तथा बालबालिकालाई चाँडै नै युरोप ल्याइने बताएका छन् ।
युद्धले तहसनहस भएको प्यालेस्टाइनी भूभागलाई घेरेको इजरायलले आगामी केही महिनाभित्र थप एक हजार चिकित्सकीय उद्धारका लागि युरोपेली सङ्घलाई सहयोग गर्न प्रतिबद्ध रहेको हान्स क्लुजले एएफपीलाई दिएको अन्तर्वार्तामा बताएका छन् ।
उनले संयुक्त राष्ट्रसङ्घको स्वास्थ्य निकाय डब्लुएचओ र यसमा संलग्न युरोपेली मुलुकले उद्धारमा सहजीकरण गर्ने बताए ।बिहीबार संयुक्त राष्ट्रसङ्घका अनुसन्धानकर्ताहरूले इजरायलले गाजाका स्वास्थ्य संस्थाहरूलाई जानाजानी निशाना बनाएको र त्यहाँका स्वास्थ्यकर्मीहरूको हत्या र यातना दिइरहेको आरोप लगाएका थिए।
कब्जा गरिएका प्यालेस्टाइनी क्षेत्रहरूमा डब्ल्यूएचओका प्रतिनिधि रिक पिपरकोर्नले मे महिनामा गाजाबाट लगभग १० हजार मानिसलाई तत्काल चिकित्सा सेवाको लागि बाहिर निकाल्नु आवश्यक रहेको बताएका थिए।
सन् २०२३ को अक्टोबरमा गाजामा युद्ध सुरु भएयता विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) युरोपले गाजाबाट युरोपका सात वटा देशमा ६०० चिकित्सकीय उद्धारको व्यवस्था गरिसकेको छ । क्लुजले भने, ‘यदि हामीले वार्ता (खुला) नराखेको भए यो कहिल्यै हुने थिएन।’ ‘युक्रेनका लागि पनि यही कुरा सत्य हो,’ उनले भने । ‘म सबै साझेदारहरूसँग संवाद (खुला)राखिरहेको छु ।
‘अहिले युक्रेनको कब्जामा रहेको क्षेत्र डोनबासमा १५ हजार एचआइभी एड्सका बिरामीले एचआइभी एड्सको औषधि लिइरहेका छन्,’ स्वास्थ्यलाई राजनीतिकरण नगर्नुको महत्वमा जोड दिँदै ५५ वर्षीय बेल्जियनले भने ।
प्रतिक्रिया