शनिबार, जेठ ४, २०८२

पाँच पैशाको ढ्याक

सुनील उलक २०८१ कार्तिक ९ गते ८:३०

हामी नर्मल स्कुलमा पढ्थ्याै । त्यो बेला बाँध भएको पाँच पैसा देख्दा निकै रमाइलो लागेको थियो । पोखरामा बस्नेहरुका लागि पोखराकै पार्दी बाँधको तस्विर भएको पाँच पैसा पाउनु निकै रमाइलो हुने नै भयो ।

‘विकासको मूल फुटाऔ’ नारासहित निकालिएको यो सिक्का निस्काशन भएको केही समय २०३१ मा नै पार्दी बाँध भत्किएको थियो । गोपाल बहादुर श्रेष्ठको डिजाइनमा तैयार भएको यो सिक्का ४५ लाख ८४ हजार थान निस्काशन भएको थियो । अहिले पनि मेरो संग्रहमा बाँध भएको पाँच पैसा १५० वटा भन्दा बढी संग्रहित छन् ।

वि. सं. २०३० असार २५ गते त्यो भिषण आगलागीको घटना भएको थियो । आगलागीको घटना पछि सरकारले सिंहदरवार मर्मतका लागि जनतासंग आर्थिक सहयोग मागिएको थियो । हामी साना बिद्यार्थीहरुसंग पनि स्कुलमा आर्थिक सहयोग मागियो । मैले पनि त्यसबेला घरबाट रु ५ सहयोग गरेको थिएँ । देशवासीको सहयोगले नेपालको धेरै महत्वपूर्ण दरबार सिंहदरबारको मर्मत भएको थियो ।

यी दुई दुखद घटना पछि तेश्रो सुखद घटना घट्यो, त्यो थियो राजा विरेन्द्रको शुभराज्यभिषेक । बि.सं. २०३१ माघ २२ गतेको यो घटनाले दुबै दुखलाइ बिर्सायो । राजा विरेन्द्रको शुभराज्याभिषेकको अवसरमा श्री ५ को सरकारले सात थरि सिक्का निस्काशन गरेको थियो ।

१ पैसा, ५ पैसा, १० पैसा, २५ पैसा, ५० पैसा, १ रुपैयाँ र २५ रुपैयाँको गरि सात किसिमको सिक्काहरु निस्काशन गरिएको थियो । जसमा १ पैसा, ५ पैसा तथा १० पैसाको सिक्का भने दुइ थरि निकालिएको थियो । तत्कलिन शुभराज्याभिषेकको सिक्काहरुमा १ पैसा, ५ पैसा, २५ पैसा, ५० पैसा, १ रुपैयाँ का सिक्काहरु भने धेरैवटा संग्रहमा छन् ।

नियमित पाँच पैसाको सिक्का सहित २०३१ सालमा पाँच पैसाको तीन थरी सिक्का निस्काशन भएको थियो । त्यतिबेला हाम्रो गोजीमा आउन सक्ने भनेकै पाँच पैसा दश पैसाका सिक्का मात्र हुन्थ्यो । त्यति बेला हाम्रो पकेटको शानका रुपमा रहने यि पाँच पैसका तीनवटा सिक्कालाई यहा देखाउँदै छु ।

प्रतिक्रिया