क्यानाडाले आप्रवासीलाई भिसा कम गर्ने , नेपालमा पनि असर ?

क्यानाडाले आफ्नो जनसंख्या वृद्धिलाई कम गर्ने प्रयासमा नयाँ आप्रवासीको संख्यामा ठूलो कटौतीको घोषणा गरेको छ। यसले नेपालीहरूलाई पनि प्रत्यक्ष असर गर्नेछ, जो क्यानाडामा ठूलो आप्रवासी समूह भैसकेका छन् ।
क्यानाडाले अर्को वर्ष तुलनात्मक रुपमा कम आप्रवासीलाई भिसा दिनेछ किनभने क्यानाडाले अध्यागमनको लक्ष्यमा ठूलो कटौती गरेको छ । देशमा आप्रवासीहरूप्रतिको मनोवृत्ति परिवर्तन हुँदैछ र हालैका दिनहरूमा अध्यागमनको समर्थनमा कमी आएको छ।
क्यानाडाको यो घोषणा ठूलो परिवर्तनको सङ्केत हो, किनभने क्यानाडा नयाँ आप्रवासीहरूलाई स्वागत गर्ने देश हो। यद्यपि पछिल्ला केही वर्षमा क्यानाडाको जनसंख्या तीव्र गतिमा बढेको छ । क्यानाडाको जनसङ्ख्या २०२३ देखि २०२४ को बिचमा ३ दशमलव २ प्रतिशतले बढ्नेछ जुन सन् १९५७ पछिको सबैभन्दा ठूलो वार्षिक वृद्धि हो। अहिले त्यो बढेर ४.१ करोड पुगेको छ, जसमा नयाँ आप्रवासीको लहरले पनि योगदान गरेको छ । २०२३ को अन्तिम क्वार्टरमा क्यानाडाको जनसंख्या छ दशकमा सबैभन्दा छिटो दरमा बढेको थियो ।
तीमध्ये सबैभन्दा ठूलो वृद्धि अस्थायी नागरिक विशेषगरी विद्यार्थीहरूको थियो, जुन पाँच दशकयताकै उच्च थियो। क्यानाडामा अस्थायी आप्रवासीको संख्या ३ लाख १२ हजार ७५८ ले बढेको छ ।
जनसंख्या नियन्त्रणको आवश्यकता
यो कटौतीको घोषणा गर्दै प्रधानमन्त्री जस्टिन ट्रुडोले भनेका छन् – आप्रवासीहरूको आगमनले कोभिड महामारीले ग्रस्त क्यानाडाली अर्थतन्त्रलाई उकास्न मद्दत गरेको छ, तर अब यसलाई “समायोजित” गर्ने समय आएको छ।
उनले भने, “हामी आगामी तीन वर्षमा आउने आप्रवासीको संख्या घटाउनेछौं। यसले जनसंख्या वृद्धिलाई रोक्नेछ।”
ट्रूडोका अनुसार – क्यानाडाले आफ्नो जनसंख्यालाई स्थिर बनाउनु पर्छ । सबै तहका सरकारहरूलाई भविष्यमा थप मानिसहरूलाई समायोजन गर्न स्वास्थ्य सेवा, आवास र सामाजिक सेवाहरूमा आवश्यक लगानी गर्न समय दिन पनि यो आवश्यक छ ।
अमेरिकी राष्ट्रपति चुनावको अभियानमा आप्रवासनलाई प्रमुख मुद्दा बनाएका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले समेत क्यानाडाको निर्णयप्रति प्रतिक्रिया जनाएका छन् । जस्टिन ट्रुडो पनि क्यानाडाको सीमा बन्द गर्न चाहन्छन् – उनले आफ्नो सोशल मिडिया च्यानल टुथ सोशलमा भनेका छन् ।
क्यानाडाले यसअघि सन् २०२५ र २०२६ मा ५ लाख नयाँ स्थायी बासिन्दालाई देशमा बसाउने योजना बनाएको थियो तर अहिले यो लक्ष्य सन् २०२४ मा ३ लाख ९५ हजार र २०२६ मा ३ लाख ८० हजारमा झरेको छ । २०२७ को लक्ष्य ३,६५,००० तोकिएको छ।
नेपालीहरूमा प्रभाव
२०२१ को जनगणना अनुसार क्यानाडाको जनसंख्याको २३ प्रतिशत विदेशमा जन्मिएका थिए। क्यानाडाले सन् २०२१ सम्ममा अधिकांश आप्रवासी एसिया र मध्यपूर्वबाट आएको दाबि गरे पनि तथ्याङ्कले अफ्रिकाबाट आउने आप्रवासीको संख्या बढिरहेको देखाउँछ । यसैगरी हालसालै गरिएको एक सर्वेक्षणले नयाँ आप्रवासीहरूको लगभग एक चौथाइ भारतमा जन्मिएको देखाएको छ।
हालैका वर्षहरूमा, देशमा अध्यागमन नीतिको समर्थनमा कमि आएको छ।
इन्भाइरोनिक्स इन्स्टिच्युटले सेप्टेम्बरको एक सर्वेक्षणमा भनेको छ – २५ वर्षमा पहिलो पटक स्पष्ट बहुमत क्यानाडालीहरूले उनिहरुको देसमा अध्यागमन धेरै भएको बताएका छन्। सर्वेक्षणले ५८ प्रतिशत क्यानाडालीहरूले देशमा धेरै आप्रवासीहरू भएको बताएका छन् । गत हप्ता जारी गरिएको तथ्याङ्क अनुसार दुई मध्ये एक क्यानेडियनले आप्रवासले देशलाई हानि पुर्याइरहेको पनि उल्लेख गरेका छन ।
अबाकस डाटाले अध्यागमनको प्रभावका बारेमा क्यानाडालीहरूको चिन्ता आवासको उपलब्धतासँग जोडिएको देखाएको छ। अध्यागमनमा कटौतीले आवास आपूर्ति अन्तरलाई सच्याउन सक्छ । अहिले क्यानाडाले २०२७ सम्म ६७०,००० घर निर्माण गर्न आवश्यक छ ।
२०२३ मा करिब नौ लाख अन्तर्राष्ट्रिय विद्यार्थीहरू क्यानाडामा अध्ययन गरिरहेका थिए जसमध्ये लगभग ४० प्रतिशत भारतीय थिए।
गत वर्ष समग्रमा भारतीय विद्यार्थीको संख्या चार प्रतिशतले घटे पनि एउटै देशबाट बाहिरिने विद्यार्थीको सङ्ख्यामा भारतियहरू शीर्ष स्थानमा रहे।
तर क्यानाडाले गत वर्ष भारतीयहरूलाई कम अध्ययन भिसा जारी गरेको छ । सन् २०२२ को तुलनामा गत वर्षको चौथो त्रैमासिकमा ८६ प्रतिशत कम विद्यार्थीलाइ भिसा जारी भएको थियो । सन् २०२२ को चौथो त्रैमासिकमा १,०८,९४० भिसा जारी भए पनि २०२३ को सोही अवधिमा १४,९१० भिसा मात्र जारी भएका थिए।
कामदारहरु कहाँबाट आउँछन ?
क्यानाडाको चेम्बर अफ कमर्सको चेतावनी छ – क्यानाडाको जनसंख्याको उमेर तथा प्रजनन दर कम छ भने ६० र ७० को दशकमा जन्मिएका बेबी-बुमर जेनरेसन सेवानिवृत्त भएका कारण आप्रवासीहरु नै क्यानाडाको “कार्यबल वृद्धिको एकमात्र स्रोत” हुन । हाम्रो श्रमक स्रोतलाई यती महत्त्वपूर्ण संख्यामा घटाउँदा क्यानाडाभरका हजारौं रोजगारदातालाई प्रभाव पर्छ जसलाई काम गर्ने मानिस फेलापार्न गाह्रो हुन सक्छ – चेम्बरले एक विज्ञप्तिमा भनेको छ ।
यो मुद्दाको एउटा पक्ष राजनीतिक पनि छ ।
क्यानाडामा अर्को वर्ष चुनाव हुन लागेको छ र जस्टिन ट्रुडोको पार्टीको लोकप्रियता घट्दै गएको छ । विपक्षी नेता पियरे पोइलिभ्रेको कन्जरभेटिभ पार्टीले हालसालै भएको मतदानमा ट्रुडोको लिबरल पार्टीलाई पराजित गरेको छ।
पोइलिभ्रेले प्रधानमन्त्री आफ्नो पार्टीभित्रै विद्रोहको सामना गरिरहेको र आफ्नो लोकप्रियता बढाउन लागिपरेको बताएका छन् । उनले भनेका छन् – हामी जस्टिन ट्रुडोले अन्तिम मिनेटमा गरेका यी वाचाहरू पूरा हुने आशा गर्न सक्दैनौं।
रोयटर्स / एएफपी
प्रतिक्रिया