शनिबार, असार १४, २०८२

जर्जियाले विवादित मतहरूको आंशिक पुनःगणना गर्ने

नेपालखोज २०८१ कार्तिक १३ गते १६:३७

टिबिलिसी । विपक्षी दलहरूले शनिबारको संसदीय चुनावलाई धाँधली भएको आरोप लगाएपछि जर्जियाको केन्द्रीय निर्वाचन आयोगले मङ्गलबार करिब १४ प्रतिशत मतदान केन्द्रहरूमा मतपत्रको पुनःगणना गर्ने जनाएको छ।

पश्चिम–समर्थक विपक्षी दलहरूले शनिबारको मतदानको नतिजालाई अस्वीकार गरेका छन् । नतिजालाई उनीहरूले सत्तारूढ जर्जियन ड्रिम पार्टीको पक्षमा मिलाइएको दाबी गरेका छन् । सोमबार टिबिलिसीमा दशौँ हजार मानिसहरूले विरोध ¥यालीमा भाग लिएका थिए ।

‘जिल्ला निर्वाचन आयोगहरू (डिइसी) ले प्रत्येक निर्वाचन जिल्लाबाट अनियमित रूपमा छानिएका पाँच मतदान केन्द्रको मतपत्रको पुनःगणना गर्नेछन्’, आयोगले एक विज्ञप्तिमा भनेको छ।

आयोगले घोषणा गरेको लगभग पूर्ण नतिजाअनुसार सत्तारूढ जर्जियन ड्रिम पार्टीले ५३ दशमलव नौ प्रतिशत मत प्राप्त गरेको छ भने विपक्षी गठबन्धनले ३७ दशमलव सात प्रतिशत मत पाएको छ।

राष्ट्रपति सालोम जुराबिश्विलीले ‘रसियन विशेष अपरेशन’ द्वारा निर्वाचनमा हस्तक्षेप भएको आरोप लगाउँदै चुनावी नतिजालाई ‘अवैध’ घोषणा गको छ । उक्त दाबीलाई क्रेमलिनले अस्वीकार गरेको छ।

विपक्षी दलहरूले नयाँ ‘अवैध’ संसद्मा प्रवेश नगर्ने र ‘अन्तर्राष्ट्रिय निर्वाचन प्रशासन’ द्वारा ‘नयाँ’ चुनाव गराउन माग गरेका छन्। संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घ (इयु) ले निर्वाचन ‘अनियमितताहरू’ को निन्दा गरेका छन्।

जर्जियाका प्रमुख निर्वाचन अनुगमनकर्ताहरूको एक समूहले सोमबार जटिल र ठूलो मात्रामा धाँधलीको प्रमाण फेला परेको बताएका छन् र कम्तीमा १५ प्रतिशत खसेको मत रद्द गर्न माग गरेका छन्।

प्रतिक्रिया