नेपाली र भारतीय कलाकारहरूको अभिनयमा ‘ह्रस्व दीर्घ’

काठमाडौं । निर्देशक चन्द्र पन्तले नेपाली र भारतीय कलाकारहरूले अभिनय रहेको चलचित्र ‘ह्रस्व दीर्घ’ ले कला, संस्कृतिसँगै एक आपसमा सामीप्यता बढाउने बताएका छन् । चलचित्रको निर्माण प्रारम्भ गर्दा नेपाली कलाकार नै रहे पनि पछि भारतीय कलाकारहरूलाई प्रस्ताव गरिएको उनले जानकारी दिए ।
‘हामीले नेपाली धेरै कलाकारलाई प्रस्ताव गरेका थियौँ । यहाँ सहकार्य नजुटेपछि चलचित्रको बजार विस्तार गर्न भारतीय कलाकारलाई प्रस्ताव गर्यौँ । उनीहरूले स्वीकार गरेपछि अहिलेको सहकार्य सम्भव भएको हो’, निर्देशक पन्तले भने ।
उनले अहिलेसम्म चलचित्र नदेखाइएको विषयमा आफ्नो समूहले कथा तयार गरेर ‘ह्रस्व दीर्घ’ तयार गरेको दावीसमेत गरे । उनले दुई देशका प्रसिद्ध कलाकारको सहकार्यले नेपाली चलचित्रको बजारलाई दक्षिण भारतमा विस्तार गर्न टेवा पुग्ने विश्वाश व्यक्त गरे ।
‘हामीले दक्षिण भारतका प्रसिद्ध कलाकारसँग काम गरेका कारण त्यहाँ चलचित्रको चर्चा छ । हामीले छिटै त्यहाँ प्रदर्शनको बारेमा जानकारी दिने छौँ । त्यो चलचित्र उद्योगमा नेपाली चलचित्रको चर्चा भएको सुन्दा खुसी लाग्छ’, निर्देशक पन्तले भने ।
अभिनेत्री विपना थापाले पनि निर्देशक पन्तकै कुरामा सहमति जनाउँदै भारतीय पत्रपत्रिकामा नेपाली चलचित्र चर्चाले आफूलाई हर्षित बनाएको बताए । उनले भने, ‘मेरो एउटा सपना नै थियो, कि हाम्रो चलचित्रको विषयमा भारतमा चर्चा होस्, हाम्रो काम र मेहनत त्यहाँका कलाकारले देखुन् र बुझुन्, त्यो यसपटक पूरा भयो । यो चलचित्र ‘ह्रस्व दीर्घ’ मार्फत भएको नेपाली चलचित्रको प्रवर्द्धन आउँदो समयमा सबैले महसुश गर्नुहुने छ ।’
एउटै नक्षत्र, ग्रह र भाग्य भएका जोडीको सम्बन्ध र उनीहरूका जीवनमा आउने आरोह–अवरोहको कथामा आधारित चलचित्रलाई ज्योतिष हरिहर अधिकारीले लेखेका हुन् । उनले यो विषय दर्शकलाई रोचक लाग्ने भएकाले आफूले चलचित्रमा ल्याउने आट गरेको बताए ।
प्रतिक्रिया