म्ह पूजा

आज यम पञ्चकको चौथो दिन गोवर्धन पूजा गरिन्छ । यसै दिनमा नेवाःहरू म्ह पूजा गर्दछन् भने नेपाल सम्वतको पहिलो दिन पनि यसै दिनबाट शुरूवात हुन्छ । कतिपयले यस दिनमा गोरू तथा गोबरलाई पनि पूजा गर्ने गर्दछन् भने नेवाःहरू यस दिनलाई न्हु दँया भिन्तुना भन्दै नेपाल सम्वतको शूरूवात मान्ने गर्दछन् ।
नेवाःहरुमा न्हु दः संग गाँसिएका किंवदन्ती प्रचलित छ, विष्णुमती र भद्रमतिको संगमको बालुवा सुन हुने भविष्यवाणी र शंखधर साख्वाःले ऋण मुक्त गरिदिएको हुँदा नयाँ सम्वत चलाएको भन्ने प्रचारित गरिएको छ । तर वि.सं. ९३७ जुन बेला नेपाल सम्वतको शुरुवात गणना गरिन्छ, त्यसबेला नेपाल सम्वतको प्रचलन भएकै थिएन ।
सयौं वर्ष पछि मात्र नेपाल सम्वतको अस्तित्व आएको हो । फ्रान्सेली इतिहासकार लेभीको तथ्यको आधारमा पनि तिब्बत अधीनस्थबाट नेपालले मुक्ति पाएर राजा राघवदेवले पशुपतिभट्टारक सम्वत चलाएका थिए । यसैमा विभिन्न किंवदन्ती गाँसिएर नेपाल सम्वतका रुपमा उल्लेख हुन थाल्यो । नेपाल सम्वतको शुरु भएको दिन भएर म्ह पूजा मनाउन थालिएको होइन । म्ह पूजा नेपाल सम्वतको शुरु हुनु भन्दा करिव सय वर्ष अगाडि गुरु पद्मसम्भवको समयमा गुरु लिलाबज्रले शुरुवात गरेको मानिन्छ ।
म्ह पूजाको दिन अर्थात स्वन्तीको दोश्रो दिन म्ह भनेको शरीरलाई पूजा गर्ने दिन । नेवाःहरुको नयाँ साल चन्द्र मासको कछलाथ्वको पारू (परेवा) को दिनबाट शुरू हुने गर्दछ । नयाँ सालको पहिलो दिन शरीर पूजा गरी आन्तरिक ज्योती जगाउने र आत्म शुद्धि गर्ने कार्य हुन्छ । यसरी नयाँ सालमा नयाँ उमंग, जोश र जाँगर जगाउन म्ह पूजा गर्न थालिएको हो ।
यस पूजामा नेवाःहरूले जजंका प्रयोग गर्ने भनेको आत्माको अन्तहिन यात्राको प्रतिक हो । आत्मा कहिल्यै मर्दैन भन्ने पुष्टीको लागी पनि छेउ टुप्पा नभएको अन्तहिन जजंकाको प्रयोग गर्ने गरिन्छ ।
म्हपूजा गर्नका लागि मन्दः बनाइन्छ । मन्दः ब्रम्हाण्डको प्रतिक हो । मन्दः बनाउदा सबैभन्दा माथी इष्ट देवटाको प्रतिकमा एउटा र अन्तमा यमदुत र शिवदुतलाई साक्षी राखेर पूजा गर्नको लागी दुइवटा मन्दः बनाइन्छ ।
म्ह पूजाका लागि बनाइने मन्दःमा सबैभन्दा पहिले लः मन्दः भनेर पानीको प्रयोगबाट शुद्ध गराउछौ । अर्थात म्ह पूजा गरिने स्थान सफा शुद्ध पानीले पखाल्दछौ वा पुछ्दछौ । यसपछि रातो अबिरमा तेल मिसाएर पाँचवटा गोल घेरा बनाउँछौ । यस किसिमको गोल घेरा ठूलो अथवा सानो बनाइन्छ ।तेलको प्रयोगबाट बनाइने हुँदा चिकः मन्दः भनिन्छ । तेल चाडै नसुक्ने हुँदा दिर्घकालिन अस्तित्वको प्रतिकको रूपमा प्रयोग गर्ने गर्दछौ ।
मन्दः बनाउँदा मन्दको आकृति अष्टमंगलको प्रतिकका रुपमा अष्टपद्मपात्र आकृति बनाइन्छ । जसमा आठवटा कमलको पात रहेको हुन्छ । हुन त अचेल बजारमा पाइने मन्दःको फ्लेक्समा पनि पूजा गरेको देखिन्छ । तर घरमा जौंको पिठोमा बेसार मिसाएर बनाइएको रेखीले स्वयं कोरेर बनाइएको मन्दः जस्तो सजिवता तथा तान्त्रिक शक्ति बजारमा पाइने तैयारी मन्दःको प्रयोगमा हुँदैन ।
मन्दः तैयार भए पछि सजिवताको लागी पञ्चतत्वका रूपमा पाँच वस्तु छर्ने गर्दछौ । पञ्चतत्व मध्य आकाश तत्वका रुपमा धान भुटेर बनाइएको लावा (ताय्), वायु तत्वका रुपमा भटमास, अग्नि तत्वका रुपमा रातो अबिर, जलतत्वका रुपमा सङ्लो चामल छुट्याइएको आँखे तथा पृथ्वी तत्वका रुपमा चामलको पिठोबाट बनाइएको ल्वहँ चा मरि राख्ने गरिन्छ ।
म्ह पूजा बिधि पनि वास्तवमा तान्त्रिक बिधिबाट नै गरिन्छ । पूजा आरम्भ गर्दा अष्टमंगल बिधिबाट गरिन्छ ।
पूजा गर्ने ब्यक्ति घरको नकीं हुने गर्दछ । अर्थात घरमा उपस्थित महिला मध्य जेष्ठ महिला सदस्य नै हुनुपर्दछ । म्ह पूजा गर्नेहरु सकेसम्म उत्तर तर्फ फर्केर लहरै बस्नु पर्दछ । उत्तर फर्कन असुविधा भएमा पूर्व फर्केर बस्दा पनि हुन्छ । सुकुना पनि पृर्व वा उत्तर फर्काएर बाल्नुपर्दछ ।
१. मन्दः पूजाः सम्पूर्ण ब्रम्हाण्ड तथा श्रृष्टीको पूजा
२. खेलु इता पूजाः आत्म ज्योती पूजा
३. म्ह पूजाः मानविय मूल्य, मान्यता र सम्मानको पूजा
४. धौ स्वगः टीका दहिमा मुछेर दिनेः जीवन प्रकाशमय होस भनेर
५. सी स्वगः फलफूल उत्पादन मूलक हुँदा उत्पादनशिल होस भनेर
६. वसः स्वगः कपडा आधारभूत आवश्यकताबाट बञ्चित नहोस भनेर
७. मरि स्वगः मिठाइले जिवन मिठासपूर्ण रहोस भनेर
८. खेः स्वगः यस भित्र पाँच वस्तु हुन्छ
क. न्याः जलको प्रतिनिधित्व गर्दै जलचर माछा
ख. लाः स्थलको प्रतिनिधित्व गर्दै स्थल जीवको मासु
ग. खेँ आकाशको प्रतिनिधित्व गर्दै पन्छिको रुपमा अण्डा
घ. वः आसन वा स्थिरताको प्रतिनिधित्व गर्दै मास वा मुंगको वारा
ङ. अयलाः उर्जाको प्रतिनिधित्व गर्दै रक्सी
सबैभन्दा पहिले नकींले शुद्ध जलले आचमन लिएपछि हातमा जल, फूल र अक्षता लिएर संकल्प गर्नु पर्दछ । संकल्प गरिएको जल, फूल, अक्षता सुकुनाको तल राखि पूजा आरम्भ गरिन्छ । सबै भन्दा पहिले सुकुनामा रहेको गणेशको पूजा गरि
शुभम् भवतु कल्याणम्
आरोग्य पुष्टी वर्धनम्।
आत्मतत्व प्रवोधाय्
दीपज्योति नमस्तुते ।।
भन्दै सुकुनामा बलेको दीपलाई पनि पूजा गरिन्छ । साथमा जजंका तथा दूबो गणेशलाई चढाइन्छ । साथै धुपबत्ती बालेर नैबेद्य पनि चढाइन्छ । यसपछि नकींले जलपात्रमा रहेको जलले आफ्नो शिरमा छर्केर आफैले टीका लगाउने र फूल शिरमा लगाउने । यसपछि बल्ल म्हपूजाको बिधि शुरु हुन्छ ।
सबैभन्दा पहिले सबैले जेष्ठता क्रममा जल आचमन गर्ने । त्यसपछि जल, अक्षता र कुचा यागु स्वां ९टुक्रा टुक्रा पारिएको फूल० ले प्रत्येक मन्दः पूजा गर्दै म्हपूजा गर्नेहरुको हातमा मुछेको टीका दिने । पहिलो टीका तथा फूल
श्री स्वेष्टदेवताये नमः
श्री कुलदेवताये नमः
श्री पाञ्चायनेभ्यो नमः
मन्त्र गुनगुनाउँदै सबैभन्दा माथि राखिएको नाङ्लो, कुचो तथा सिलौटालाई पूजा गर्ने । त्यसपछि गृहलक्ष्मी इष्टदेवताये नमः भन्दै दलिनमा पूजा गर्ने र अन्तमा जजंका, फूलको माला, फलफूल, खेलुइता, धुप, आदि राखिएको भाग नकींको हातबाट स्विकार गरेर त्यसमा रहेको जजंका तथा माला लगाउने, धुप, खेलुइता मन्दःमा आफू तर्फ फर्काएर राख्ने ।
यसपछि नकींले पालैसंग जेष्ठता क्रममा पूजाको थाली, तथा खेँ स्वगँ का रुपमा रहेको पञ्चतत्व माछा, मासु, अण्डा, बारा तथा रक्सी राखेको भाँडा ढोगाउने गरिन्छ । ढोगाउने कार्य समाप्त भएपछि सबैलाई खेँ स्वगँ दिइन्छ । यसपछि नकींले प्रत्येकको खेलुइता बाल्दै माना वा पाथीमा कुचा गरेको फूल, कुचा गरेको तसी, ल्हँ चा मरि सहितले शिर, कुम र घुँडामा छुवाउँदै तीनपटक अभिषेक गरिन्छ । अभिषेकको समय हातमा लिएको खेँ स्वगँ भुइमा राख्न पाइँदैन । अन्तमा नकींले बलिरहेको खेलुइता जम्मा गरेर देवताको प्रतिक बनाइएको पहिलो मन्दःमा राखिन्छ र अन्तबाट शुरुमा कुचोले बरालेर सोहोर्ने कार्य हुन्छ । यसपछि म्ह पूजा पुरा हुन्छ ।
म्ह पूजा गर्नुको मुख्य उद्देश्य भन्नु नै नयाँ नेपाल सम्वतमा सुस्वास्थ्य तथा दिर्घायुको कामना गर्नु नै हो । साथमा नयाँ उर्जा थप्न पनि म्ह पूजा गर्न थालिएको हो । तस्विरमा हाम्रो परिवारको तीस वर्ष भन्दा पहिलेको म्ह पूजा हो । यो समय आमा तथा बुबा दुबै जीवित नै हुनुहुन्थ्यो ।
प्रतिक्रिया