१० वर्षमा फेरिएको ‘उजाड डाँडो’

गलकोट (बागलुङ)- झाडीले ढाकिन थालेको पाखो, त्यहीबीचमा उजाड डाँडो । १० वर्षअघि यस्तो पहिचान रहेको तारजालकोट क्षेत्र अचेल भव्य संरचनासहित गुल्जार बनेको छ । त्यो हो, पञ्चकोट । १० वर्षअघि कसैले पनि सोचेका थिएनन्, त्यो उजाड डाँडो धार्मिक पर्यटकीय क्षेत्र र तपोभूमि बन्ला भनेर । त्यही डाँडो हाल आकर्षक पर्यटकीय संरचनाले भरिएको छ, ती संरचना आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने आधार बनेका छन् ।
यो क्षेत्र बाइसेचौबिसे राजाका पालमा यस्तै आकर्षक थियो भनिन्छ तर लामो समयसम्म संरक्षणको अभावमा वन्जर बन्यो । पछिल्लो समय यही तारजालकोटसहित पाँचकोटलाई एकीकृत रूपमा पञ्चकोट बनाउने सङ्कल्प गरेका पञ्चकोटका संस्थापक एवं परिकल्पनाकार मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको पहलमा यो धार्मिक पर्यटकीय क्षेत्र बन्न सफल भएको हो ।
तारजालकोट भनिने उजाड डाँडा अहिले पञ्चकोटको रूपमा विश्वचर्चित बनेको बागलुङ नगरपालिका–६ सिमका स्थानीय गोविन्द आचार्यले बताए । पञ्चकोटलाई नेपाल सरकारले एक सय पर्यटकीय गन्तव्यमा समेत सूचीकृत गरेपछि पञ्चकोटको महिमा झनै बढेर गएको उनको भनाइ छ ।
‘सानातिना पाँचवटा कोट थिए, स्वामी कमलनयनाचार्यको गृह गाउँ भएकाले २०७० सालमा स्वामी यहाँ भएको एक यज्ञमा आउनुभयो, त्यसक्रममा उहाँले अहिले पञ्चकोट भएको स्थानमा ध्यान र तपश्या गर्ने क्रममा पाँचकोटको सङ्गमस्थल बनाउने परिकल्पना गर्नुभएको थियो’, आचार्यले भने, ‘स्वामीज्यूको परिकल्पनालाई स्थानीयले साथ दिएका कारण अहिले त्यो उजाड डाँडा धार्मिक पर्यटकीयस्थल बनेको छ ।’
आचार्यका अनुसार स्वामी कमलनयनाचार्य भान्सास्थित सदाशिव आधारभूत विद्यालयमा आयोजना गरिएको महायज्ञमा आएपछि उनले पञ्चकोटको विकास गर्ने परिकल्पना गरेका थिए । त्यसपछि अहिले पञ्चकोटमा रहेको गरुडशिलाभित्र रहेको गुफामा कुटी बनाएर ध्यान तपश्या गर्दै आएको र २०७१ साल फागुन ९ गते पञ्चकोटमा १०८ फिट अग्लो विश्वशान्ति कलशसहित अन्य संरचना बनाउन थालिएको थियो । करिब ९० रोपनी जग्गामा अहिले दर्जनौ धार्मिक संरचना निर्माण भइसक्दा पञ्चकोटको महत्व बढेको मात्रै छैन विश्वव्यापीसमेत भइसकेको धेरैको भनाइ छ ।
प्राकृतिक छटाले भरिपूर्ण पञ्चकोट क्षेत्रको ताराजालकोट, कारिकोट, माझकोट, राङराङकोट र संसारकोट गरी पाँच कोटको संयुक्त रूपलाई नै पञ्चकोटका रूपमा विकास गरिएको छ , पछिल्लो समय पञ्चकोटमा स्थानीय, प्रदेश र सङ्घीय सरकारको समेत लगानी बढ्न थालेको छ ।
बागलुङ नगरपालिका–६ का वडा अध्यक्ष रुद्र केसीले तारजालकोटमा पञ्चकोटको संरचना बनेको र भने अन्य कोटलाईसमेत पुनःनिर्माण गरी नित्य पूजाआजा गर्न थालिएको जानकारी दिए । ‘अहिले पञ्चकोट भनिएको ठाउँ तारजालकोट हो, त्यसमाथिका चार वटा डाँडाँमा अरु कोट रहेका छन् कारिकोट, माझकोट, राङराङ्कोट र त्यो क्षेत्रकै सबैभन्दा अग्लो डाँडामा संसारकोट रहेको छ’, केसीले भने, ‘पञ्चकोटका कारण अन्य कोटहरूमा समेत सामान्य पूर्वाधार निर्माण भइरहेका छन्, अन्य कोटमा जाने पदमार्ग, सत्तललगायत संरचना निर्माण भइरहेका छन् ।’
पञ्चकोटमा १० वर्षको अवधिमा रु ५० करोडभन्दा बढी लगानीमा विभिन्न भौतिक संरचनाहरू निर्माण भइरहेका छन् । पञ्चकोटका संस्थापक स्वामी कमलनयनाचार्यले यस भूमिलाई धार्मिक क्षेत्र बनाउन लागि १० वर्ष लागेको र अझै अन्य योजनाहरू कार्यान्वयनको चरणमा रहेको बताए ।
पञ्चकोटमा अहिलेसम्म सिसमहल, गरुड शिला, गण्डकीमाताको मन्दिर, पञ्चयज्ञशाला, हनुमानको विशाल मूर्तिलगायत दर्जनौँ धार्मिक संरचना बनिसकेका छन् । विभिन्न दाताको सहयोग, महायज्ञबाट सङ्कलन भएको रकम र सरकारबाट भएको करोडौँको लगानीले यी संरचना बनेका हुन् ।
समुन्द्री सतहदेखि एक हजार सात सय ५० मिटरको उचाइमा रहेको पञ्चकोटमा धार्मिक संरचना निर्माणका लागि विसं २०७१ फागुन ९ गते तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले शिलान्यास गरेका थिए ।
यहाँ करिब एक सय रोपनी क्षेत्रफलमा तीन तलाको अतिथि आवास तथा कन्या गुरुकुल, रेलिङसहितको पदमार्ग निर्माण भइसकेको छ । यस्तै, गण्डकी माताको मन्दिर र गरुणशिला, सिसमहल, सत्संग भवन, गणेश मन्दिर, हनुमानको मूर्ति, पाहुनाघर बनिसकेको छ । रासस
प्रतिक्रिया