मंगलबार, मंसिर २५, २०८१

मानव मस्तिष्कमा जरो गाडदैछ माइक्रोप्लास्टिकले

नेपालखोज २०८१ कार्तिक २४ गते २०:१०

के तपाईलाई थाहा छ ? माइक्रोप्लास्टिक हाम्रो सास मार्फत हाम्रो मस्तिष्कमा प्रवेश गर्न सक्छ। यस सम्बन्धमा गरिएको नयाँ अध्ययनमा पहिलो पटक, वैज्ञानिकहरूले मस्तिष्कको त्यो भागमा माइक्रोप्लास्टिकको उपस्थितिको प्रमाण फेला पारेका छन्, जसले गन्धको क्षमतालाई नियन्त्रण गर्दछ। मानव शरीरमा यी माइक्रोप्लास्टिकका कणको मात्रा अनुमान भन्दा धेरै हुन सक्छ ।

जामा नेटवर्क ओपन जर्नलमा प्रकाशित यो अध्ययन अनुसार ब्राजिलको साओ पाउलोमा गरिएका १५ वयस्क पोस्टमार्टम मध्ये ८ जनाको दिमागमा माइक्रोप्लास्टिकको उपस्थिति रहेको फेला पारेको थियो । उल्लेखनीय कुरा के छ भने यी माइक्रोप्लास्टिकका कणहरू मस्तिष्कको त्यो भागमा पाईए जसलाई घ्राण बल्ब भनिन्छ, यसले हाम्रो गन्ध लिनसक्ने क्षमतामा असर गर्छ ।

अध्ययन प्रतिवेदनमा वैज्ञानिकहरूले यी माइक्रोप्लास्टिकका कणहरूले मानव शरीर भित्र कसरी ठाउँ बनाइरहेका छन् भनेर प्रकाश पारेका छन्। अध्ययनमा लिइएका नमूनाहरूले पोलीप्रोपाइलिनका निशानहरू फेला पारे, जुन फाइबर र कण दुवैका रूपमा उपस्थित थिए ।

अध्ययनका अन्वेषकहरूले घ्राण बल्बमा १६ प्रकारका सिन्थेटिक पोलिमर र फाइबरको निशान फेला पारेका छन् । ती कणहरूको आकार ५.५ माइक्रोन देखि २६.४ माइक्रोन सम्म थिए । त्यहाँ पाइने फाइबरको औसत लम्बाइ २१.४ माइक्रोन थियो।

यसअघिका वैज्ञानिकहरूले मानव रगत, नसा, फोक्सो, नाभी, कलेजो, मृगौला, हड्डीको मासि , प्रजनन अंग, घुँडा र कुहिना -जोर्नीलगायत अन्य अंगहरूमा माइक्रोप्लास्टिकको उपस्थिति पुष्टि गरिसकेका छन् । मानव अंगका साथै रगत, दूध, वीर्य र पिसाबमा पनि यसको उपस्थितिको प्रमाण फेला परेको छ।

कुनै समय वरदान भन्दा कम नमानिने प्लाष्टिक आज बढ्दो प्रयोग र उचित व्यवस्थापनको अभावका कारण मानिस र वातावरणका लागि अभिशाप बनेको छ ।

आज संसारमा यी प्लास्टिकका कणहरू नभएको कुनै ठाउँ बाँकी छैन । वैज्ञानिकहरूले हिमालयका उच्च चुचुराहरूबाट समुद्रको गहिराइसम्म, हावा र बादलहरूमा समेत यी प्लास्टिकका कणहरूको उपस्थितिको प्रमाण फेला पारेका छन्।

हाम्रो खाना, पानी र हामीले सास फेर्ने हावामा पनि यी हानिकारक कणहरू उपस्थिति छ जसले हाम्रो शरीरमा बिस्तारै ठाउँ बनाउँदैछ । विज्ञहरूले यो पनि चेतावनी दिएका छन् कि माइक्रोप्लास्टिकले हाम्रो कोशिकाहरूमा पनि घुसपैठ गरिरहेको छ, र तिनमा परिवर्तन ल्याइरहेको छ ।

अर्को यस्तै अध्ययनले देखाए अनुसार हामी मानिसहरूले आफ्नो सासबाट हरेक घण्टा माइक्रोप्लास्टिकका लगभग १६.२ कण निल्न सक्छौं । यसरि एक हप्तामा निलिने प्लास्टिक जम्मा गरियो भने त्यसबाट एउटा क्रेडिट कार्ड बनाउन सकिन्छ।

हालसालै अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले माइक्रोप्लास्टिकमा लगभग १६,३२५ किसिमका रसायनहरूको उपस्थिति पुष्टि गरेका थिए। जसमध्ये २६ प्रतिशत रसायन मानव स्वास्थ्य र वातावरण दुवैका लागि चिन्ताको विषय हुन्।

प्रतिक्रिया