२० वर्षका सबैभन्दा ठूला मौसमी प्रकोप
काठमाडाैं । विगत २० वर्षमा भएका १० ठूला मौसमी प्रकोपले झण्डै आधा लाख मानिसको ज्यान लिइसकेको छ । यी गएको दुई दसकका दश सबैभन्दा घातक प्रकोप हुन् ।
सोमालियाको खडेरी – २०११
२०११ मा सोमालियामा परेको गम्भीर खडेरीले खाना र पानीको ठुलो संकट निम्त्यायो । यसमा कुपोषण र रोगले २५ लाखभन्दा बढी मानिसको ज्यान गयो जसमा अधिकांश साना बालबालिका थिए ।
२००८ को चक्रवात नरगिस, दक्षिणी म्यानमार
चक्रवात नरगिसले म्यानमारको इरावदी डेल्टा क्षेत्रमा विनाश लिला देखायो । यो आँधीले गाउँहरू ध्वस्त पार्नुका साथै १.३८ लाख भन्दा बढी मानिसको ज्यान लियो भने लाखौंलाई घरबारविहीन बनायो ।
गर्मीको लहर, पश्चिमी रूस
रूसमा २०१० मा अत्यधिक गर्मी र जंगलमा लागेको आगोले ५५,००० भन्दा बढीको ज्यान गयो। यसका कारण नै वायु प्रदूषण बढ्यो र कृषि प्रभावित भयो, जसले खाद्य संकट समेत सिर्जना गर्यो ।
२०२२ मा युरोपमा गर्मीको लहर
२०२२ मा इटाली, स्पेन, जर्मनी, फ्रान्स, ग्रीस, रोमानिया, पोर्चुगल र बेलायतमा फैलिएको गर्मीको लहरले ५३,००० भन्दा बढीको ज्यान लियो। अत्यधिक तापक्रमले स्वास्थ्य सेवालाई चुनौती दियो भने गर्मीसँग सम्बन्धित रोगहरू पनि बढे ।
२०२३ को युरोपेली गर्मी
२०२३ मा पनि युरोपमा अर्को चरम गर्मीको लहर चल्यो जसमा ३७ हजार भन्दा बढीले ज्यान गुमाए । इटाली, स्पेन, जर्मनी, ग्रीस र फ्रान्स जस्ता देशमा कीर्तिमानी तापक्रमले मानिसहरुको जीवन अस्तब्यस्त बनायो ।
२०२३ को तूफान ड्यानियल, लिबिया
लिबियामा तूफान ड्यानियल सँगै भारी वर्षा हुनुका साथै बाढी पनि आयो । यसले बाँधहरू भत्काउँदै शहरहरूलाई डुबानमा पार्यो । यसमा १२ हजार भन्दा बढी मानिस मारिए । यसलाई हालैका वर्षहरूमा उत्तर अफ्रिकाको सबैभन्दा घातक तूफान मानिएको छ ।
२०१३ को टाइफुन हैयान, फिलिपिन्स
टाइफुन हैयान (योलान्डा) फिलिपिन्सको भुमिमा प्रवेश गर्यो र ७,३०० भन्दा बढीको ज्यान लियो । यो शक्तिशाली आँधीले तटीय क्षेत्रहरूलाई छियाछिया तुल्याउनुका साथै लाखौंलाई घरबारविहीन बनायो ।
२०१३ को बाढी, उत्तराखण्ड, भारत
मनसुनी बाढी र पहिरोले उत्तराखण्डमा ६,००० भन्दा बढीको ज्यान लियो । यो बाढीलाई “हिमालयको सुनामी” पनि भनिन्छ जसले तीर्थस्थल र मानव बस्तीहरूमा विनाशको ताण्डब देखायो ।
२००७ को चक्रवात सिद्र , बंगलादेश
बंगलादेशमा चक्रवात सिद्रमा परेर ४,२०० भन्दा बढीको मृत्यु भयो । तटीय क्षेत्रका कतिपय मानिस यो आँधीबाट बच्न सकेनन् । यसमा ठुलो परिमाणमा जन-धनको क्षति पनि भयो ।
युरोपेली गर्मी, फ्रान्स
युरोपमा २०१५ मा फैलिएको गर्मीको लहरमा फ्रान्सले सबैभन्दा बढी पीडा भोग्यो । यो घटनाले ३,२७५ जनाको ज्यान लिनुका साथै जलवायु परिवर्तनको जोखिमलाई समेत उजागर गर्यो।
स्रोत : डीपीए
प्रतिक्रिया